पोखरा: पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण रोकिएको छ । पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिलातर्फको खेलमा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण निकै ढिला गरि सुरु भएको थियो । दुइ खेलबाट डायमण्डको स्पष्ट ६ अंक छ । डायमण्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५–१३ ले हराउँन सफल भएको हो । यो संगै एपिएफको पनि स्पष्ट ६ अंक छ । गण्डकी र एभरेष्ट भने अंक विहिन रहेका छन् । चार टिम सहभागि प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको छ । लिगका अनितम खेलहरु भोलि हुनेछन् । एपिएफ र डायमण्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् । उता पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अंक छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पार्धा गर्दैगर्दा दोस्रो सेट सकिदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १÷१ सेट जितेका थिए । गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो । विहान वर्षा भएपछि खेल ढिला गरि सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शंकर केसीले जानकारी दिए । राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल समेत भोलि नै हुने केसीले जानकारी दिए । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार(चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् । मंगलबारदेखी प्रतियोगिता सुरुभएपनि औपचारि उद्घाटन भने आज (बुधबार) भएको थियो । गण्डकी प्रदेशका डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्तै रेफ्री संयोजक टहलसिंह थापा, नेपाल पुलिसकी खेलाडी विनिता बुढाथोकीले सपथ ग्रहण गरेकी थिइन् । भोलीको खेलः महिलातर्फः एभरेष्ट विरुद्ध गण्डकी, न्यु डायमण्ड विरुद्ध एपिएफ त्यस्तै पुरुषतर्फः गण्डकी विरुद्ध गलकोट र पुलिस विरुद्ध एपिएफको बिच रहने छ ।
काठमाडौं: पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् । चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, “दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।” सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन् । काठमाडौँंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन । पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन् । त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन् । सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन् । त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन् । तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् । सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए । उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे । प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्यले खेलाडीलाई खाने, बस्ने व्यवस्था मिलाएर तालिमको वातावरण बनाइदिए ‘पारा’ बाट धेरै खेलाडीले पदक जित्ने सम्भावना रहेको उनले बताए । पारा तेक्वान्दोका प्रशिक्षक नेगीले सन् २०१५ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । पेरिस पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५७ किलोमुनि तौल समूहमा नेपालकी पलेशाले कांस्य पदक जितेकी हुन् । नेपालले यसअघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन रहेको थियो । नेपालले सन् २००४ को ग्रीसको एथेन्स पारा ओलम्पिकदेखि ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो । त्यसैगरी पलेशालाई आज काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई नगद पुरस्कारसहित सम्मान गरे । महानगरले सम्मानबापत पेलेशालाई रु पाँच लाख लाख तथा प्रशिक्षक नेगीलाई रु तीन लाख प्रदान गरेको छ । आज नै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रमि लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए । पलेशाको सम्मानमा त्रिभुवन विमानस्थलबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर ¥याली टुङ्गिएको थियो । पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित हुन पुगिन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्यपदक नजिक पुगेकी हुन् । गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि सराई र दमकडा एफसी भिड्ने भएका छन् । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक नव जागृति युवा क्लब (कालो) लाई ४–३ गोल अन्तरले पेनाल्टी सुटअउटमा पराजित गर्दै दमकडा फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटअउटमा धकेलिएको थियो । यसअघि सराई एफसीले मणिमुकुन्दलाई २–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो । अब दमकडा र सराईबीच फाइनल खेल हरितालिका तीज (२१ गते) को दिन कोठीचौर खेल मैदानमा हुने क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियनल लिग खेल्ने भएकी छिन् । गोलकिपर एञ्जिलाले ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्ने भएकी हुन् । २९ सेप्टेम्बरबाट लिग सुरु हुँदै छ । एञ्जिलाले १ वर्षका लागि सम्झौता गरेकी छन् । यससँगै उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने दोस्रो खेलाडी बनेकी छन् । यसअघि साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन क्लब ग्वेङगाम्फबाट दोस्रो सिजन खेल्दै छिन् । एञ्जिलाले यसअघि भारत र पाकिस्तानबाट पनि व्यावसायिक खेल खेलिसकेकी छन् । एञ्जिला एपीएफमा आबद्ध भएर फुटबल खेल्दै आएकी छन् ।
काठमाडौं: अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भने ‘हामीले यस प्रतियोगिताको हिस्सा हुन पाएकोमा सम्मानित महसुस गरिरहेका छौं, जसले हाम्रो राष्ट्रिय खेलको विकासका लागि सशक्त मञ्च प्रदान गर्दछ र खेलकुदको दुनियाँमा महिलाहरू पनि समान रूपमा सक्षम र मनमोहक छन् भन्ने कुरालाई प्रमाणित गर्दछ ।’ प्रमुख प्रायोजकका रुपमा वात्सल्यलाई स्वागत गर्न पाउँदा खुसी ड्रिम्सकी सिइओ चौलागाईले बताइन् ।’ लिगको पहिलो संस्करणको लागि शीर्ष प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले महिलाहरूको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिने समाज निर्माण गर्ने हाम्रो दृष्टिकोणलाई उजागर गर्दछ,’चौलागाईंले अगाडि भनिन् । कार्यक्रममा लिगमा सहभागी ६ टोलीका मार्की खेलाडीहरुको उपस्थिती रहेको थियो । आयोजकका अनुसार लिगमा सहभागी ६ मध्ये ५ टोलीको नाम टुंगो लागि सकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म सन्चालन हुनेछ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सराई एफसी उपाधि नजिक पुगेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा मणिमुकुन्द क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए । उनका अनुसार सराइको जीतमा म्यान अफ द म्याच घोषित भएका सुजन रानाले १ गोल गरे । भने, दिलु थापाले १ गोलको योगदान दिए । यता हार ब्यहोरेको मणिमुकुन्दको तर्फबाट रामकृष्ण पौडलले सान्त्वना १ गोल फर्काए । अब सराइले भोलि (मंगलबार) हुने आयोजक नव जागृति युवा क्लब र दमकडाबीचको विजेता टोलीलाई फाइनलका लागि स्वागत गर्नेछ । प्रतियोगिताको फाइनल यही २१ गते हुनेछ । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गर्यो । त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो । अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभयो । प्रतियोगिताका विभिन्न विधाका उपविजेता टिमहरुले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् । युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा आयोजक कालोले मणिमुकुन्द टिम बिलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइलनमा पुगेको हो । आयोजकको जीतमा म्यान अफ द म्याच भएका निश्चल थापाले २ गोलको योगदान दिए । भने, निर बहादुर सोमै र मनिक गाहाले समान १ गोल गरे । यता हार व्यहोरेको मणिमुकुन्दको तर्फबाट नर बहादुर रावलले सान्त्वना १ गोल फर्काए । अब आयोजकले १८ गते दमकडा एफसीको सामना गर्नेछ । भने, भोलि (सोमबार) पहिलो सेमफाइनल खेल अन्तर्गत सराई एफसी र मणिमुकुन्द टिम ए बीच प्रतिस्पर्धा गर्नेछ । यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पाल्पा: बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा दमकडा ब्रदर्श सेमिफइनलमा प्रवेश गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शनिबार भएको खेलमा युनाइटेड युथ एफसीलाई ४–० गोल अन्तरले सहजै हराउँदै दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश गरको हो । दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका आवेश शाहीले र आशिष रानाले समान २/२ गोलको योगदान दिए । अब दमकडा एफसीले सेमिफाइनलमा आज हुने मणिमुकुन्द बि र आयोजक नव जागृति युवा क्लब (ब्ल्याक) बीचको विजेता टोलीसँग १८ गते प्रतिस्पर्धा गर्नेछ । भने, प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुनेछ । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।