पोखरा: १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो । बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत गरेको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो भने विभिन्न सहयोगिदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको छ । यस्तै १९ औं संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । आगामी फागुनमा हुने म्याराथनमा थप एक विधा समेत थपिने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्षले जानकारी दिए ।
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका आज (मंगलबार) ९ खेल सम्पन्न भएका छन् । सेडुअल अनुसार १२ खेल हुने भनिएपनि प्रतिकुल मौसमका कारण ९ खेलमात्रै सम्पन्न भएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए । उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा आज भएको पहिलो खेलमा क्याफे क्यामेलिया टिम एले छोरेपाटनलाई ३–० गोल अन्तरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा क्याफे क्यामेलिया टिम बिले नयाँगल्लीलाई २–१ गोल अन्तरले हरायो । तेस्रो खेलमा कस्केरी टोलले पोखरा म्युजिकल हाउसलाई ३–० गोल अन्तरले पराजित गर्यो भुजुङ युथ क्लब र मार्सल युथ क्लबबीच भएको चौंथो खेल गोलरहित भएपछि टाइब्र्रेकरमा मार्सलले २–० गोल अन्तरले जित हाँसिल गर्याे । यस्तै कमल पोखरी र मिक्की एफसीबीच भएको पाँचौ खेलपनि १–१ को बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा कमलपोखरीले ३–२ गोल अन्तरले जित निकाल्दै कमलपोखरी अघिल्लो चरणमा प्रवेश गर्याे । छैटौं खेलमा गेमशालाले माछापुच्छ्रेलाई १–० हरायो । सातौं खेलमा ब्याम्बो एफसीलाई क्रस एफसीले ५–० को फराकिलो गोल अन्तरले पाखा लगायो । आठौ खेलमा केआइइसी बुनले वल्ड हाउसलाई २–० गोलले पराजित गर्दै बुन अघिल्लो चरणमा प्रवेश गर्याे । आज भएको अन्तिम खेलमा मिलन टोलले अम्र्या कन्स्ट्रक्सनलाई २–० गोल अन्तरले हरायो । अब बुधबार पनि ११ वटा खेलहरु सञ्चालन गरिने थपलियाले बताए । उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए । उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् । यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् । प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गर्नुभएको छ । अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उहाँहरूको सफलताको कामना गर्नुभयो । कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी हुनुहुन्थ्यो । यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।
काठमाडौं: साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।
पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ । हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । उक्त प्रतियोगिताबाट आयोजक टिमका सञ्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडीका रुपमा जर्सीसहित पुरस्कृत भए । यस्तै उत्कृष्ट सर्भरमा सोही टिमकै देवेन्द्र परियार र उत्कृष्ट ब्लकरका रुपमा सञ्जोग परियार पुरस्कृत भए । यस्तै उत्कृष्ट सेटरमा युके लण्डनका विवश आलेमगर र सोही टिमकै रुपमा किसान गुरुङ उत्कृष्ट स्पाइकरका रुपमा पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, आयोजक संस्थाका अध्यक्ष सुजन गुरुङ, आर्थिक सहयोगीदाता लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको प्रथम पुरस्कार हङकङ निवासी सिर थापा सारुमगर र द्वित्तीय पुरस्कार एवान गाउँशहर दोहोरी साँझले प्रायोजन गरेको थियो । हल्लनचोक स्पोर्टस् क्लबले गत १ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालक क्लबका सचिव अशोक थापामगरले गरेका थिए ।
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन (सोमबार) पनि १२ वटा खेलहरु हुने भएको छ । आयोजकका प्रतिनिधि आकाश थपलियाका अनुसार आगामी ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगितामा पहिलो चरणकै खेल जारी रहेको छ । सोमबार पहिलो खेल लेकसिटी र अर्चलबोटबीच हुनेछ । यस्तै दोस्रो खेल कोमागाने र बिवाइवाईसीबीच हुनेछ । तेस्रो खेलमा पसगाउँ र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । चौंथो खेल मिक्की एफसी र सन्तोष मेमोरियल, पाँचौ खेलमा अनिश एफसी र भण्डारढिक, छैटौं खेल युनाइटेड बगर र ट्रिपल ए बीच हुनेछ । सातौ खेलमा नदीपुर र एम ३२ मजुवाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै आठौं खेल रामघाट र सनराइज, नवौं खेलमा क्याफे क्यामेलिया र छोरेपाटन, दशौं खेलमा वल्ड हाउस र केआइइसी, एघारौं खेलमा आम्र्या कन्सट्रक्सन र मिलनटोल र अन्तिम खेलमा कसेरी १ र आर १० रामबजारबीच प्रतिस्पर्धा हुने थापलियाले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए । उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् । यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् । आज पनि पहिलो चरणकै १२ वटा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
मुस्ताङ: विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन् । समुद्री सतहबाट चार हजार छ सय ४५ मिटर उचाइमा अवस्थित लेवथाङमा आयोजना गरिएको यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरे । गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य विजयी विष्टले नौ होलको खेलमा तीन अण्डर हान्दै २१ स्कोर बटुले । तीनवटा होलमा पार, एउटामा त्रिपल बुगी र पाँचवटा होलमा बुगी खेलेका थिए । पाँचवटा होलमा पार, एउटामा डबल बुगी र बाँकी तीनवटा होलमा बुगी हिर्काउँदै दुई अण्डर २० स्कोर प्राप्त गरेका नेपाल गल्फ एशोसिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा द्वितीय भए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले १४ स्कोरसहित पुरुषतर्फको ग्रस उपाधि जितेका प्रतियोगिताका चिफ मार्सल भुवन गुरुङले बताए । यसअघिका दुई वर्ष लगातार उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङको ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन । महिलातर्फको उपाधि जितेकी बालकाशी गुरुङले पाँच अण्डर २३ स्कोरको नतिजा निकालेका थिए । चार अण्डर २२ स्कोर प्राप्त गरेकी धरानकी झुना राई दोस्रो भईन् । संयोग शाहीले ‘लङगेष्ट ड्राइभ’ हिर्काए भने महिला गल्फर मेदाङ लामाले ‘क्लोजेष्ट टु दी पिन’को ट्रफी गरिन् । याक पुरस्कार राखिएको ‘होल इन वान’ कसैले जितेनन् । प्रतियोगितामा सहभागी हुनका लागि काठमाडौँ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए । विजयी खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले ट्रफी वितरण गरेका थिए । सो अवसरमा लेवथाङ गल्फ कोर्सको स्तरोन्नतिका लागि हिमागरलयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले एक हजार डलर आर्थिक सहयोग गरे । तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान)मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फकोर्ष मान्ने गरिएको थियो । लोवथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारबाट पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहाँसम्म पुग्न सडक विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ । गल्फका लागि टिबक्स, फेयरवे र ग्रीन, फ्रन्टलाइन र ब्याकलाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडकयात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।
पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलमा खेल पत्रकारको समूह विजयी बनेको छ । पोखरा रंगशालामा आज (शनिबार) भएको खेलमा खेल पत्रकारको समूहले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टोलीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ गोलको अन्तरले सहज जीत निकाल्यो । खेल पत्रकार समूहको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १/१ गोलको योगदान दिए । मञ्चका लागि भने विरेन पुलामी मगर र अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १/१ गोल गरे । उक्त खेलको सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित भए । उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगरले हात पारे । उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले हात पारे । उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र सवाधिक गालकर्ताको ट्रफि खेल पत्रकारकै निकोलस गुरुङले प्राप्त गरे । गतवर्ष भएको खेलमा भने खेलकुद मञ्च विजयी बनेको थियो । खेलकुद विकास मञ्च खेलकुद विकासको क्षेत्रमा क्रियाशिल छ ।
काठमाडौं: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ । नेपाली टोलिका यसपटक तयारीका लागि पर्याप्त समय पाएकाले जित हासिल गर्ने बताउनुभयो । उहाँले तयारी पनि सातदोबाटो खेल मैदान गरेको भन्दै खेल पनि यही मैदानमा हुने भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । “तयारीका लागि करिब ४५ दिन समय पाएका थियौँ । गत वर्ष यु–१९ खेलेका, ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्म खेलेका अनुभवी र केही नयाँ खेलाडी पनि आएका छन् । सन्तुलित समूह बनेको छ । हाम्रो लक्ष्य उपाधि जित्नु हो”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो । कप्तान कुशल देउवाले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरु मानसिक रुपमा पनि तयार रहेको बताउनुभयो । सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो । त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ । श्रीलङ्काका प्रशिक्षक देभ्साग्याम राजमनीले उक्त प्रतियोगिताको लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य राखिएको बताउनुभयो । साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो । बङ्गलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरु भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताउनुभयो । बङ्लादेश गत संस्करणको उपविजेता बनेको थियो । भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताउनुभयो । नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।