पोखरा:   तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ ।   दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पर...

पोखराः    पोखरामा सम्पन्न दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ ।   पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारीस्थित ग्रीन गार्डन स्पोर्टस् हबमा भएको फाइनल खेलमा बाराही दोहोरी साँझलाई हराउदै निरमायाले उपाधि जितेको हो ।   उपाधिसँगै निरमायाले पुरस्कार स्वरुप खसी प्राप्त गर्याे । सो प्रतियोगितामा आयोजक संस्था तेस्रो बन्यो ।  प्रतियोगिताबाट निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कारसहित भलिबल हात पारिन् ।   भलिबलसँगै रस्साकस्सी र म्युजिकल चियर (निरुता थापामगर) प्रतियोगितामासमेत निरमाया साँझले नै  जितेको थियो ।   विजेता बनेको निरमायाको भलिबल टिममा सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ थिए ।    उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।   प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष तथा निरमाया दोहोरी साँझका संचालकसमेत रहेका जीवन गुरुङले सो प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए ।   उनले आगामी दिनमासमेत विभिन्न खालका खेलकुद तथा रचनात्मक प्रतियोगिताहरु निरन्तर हुनुपर्ने धारणा राखेका थिए । यस्तै निरमाया दोहोरी साँझका अर्का संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमासमेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे ।   उनले निरमाया दोहोरी साँझ पारिवारिकमैत्री दोहोरी साँझ भएकाले लोक संस्कृतिको जगेर्ना गर्र्दै आएको बताएका थिए ।   विगत २१ वर्षदेखि पारिवारिकमैत्री वातावारणमा लोक संस्कृतिको क्षेत्रमा योगदान र सेवा दिदैं आएको निरमाया दोहोरी साँझ रुपाहिल दोहोरी साँझले बिफिट फुटसल जोनमा आयोजना गरेको फुटसल प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।  

काठमाडौं:    टी– विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टी– विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे) खेल सुरु हुनेछ । विश्व कपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका आएको थियो । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसबीचमा नेपालले वेस्ट इन्डिजामा पनि ३ अभ्यास खेल खेलेको थियो । वेस्ट इन्डिजामा विनवार्डस् भोल्क्यानोजसँगको ३ खेल नेपालले २–१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग दुवै खेल जितेको थियो । चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीनै खेल गुमाएका थिए भने क्यानाडासँगको खेल पनि गुमाउने सम्भावना रहेको छ । दोस्रो वार्म अप खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ । जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

काठमाडौं:   नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।   संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो ।   पुरुष भलिबल लिग यही वर्ष माघ–फागुन भित्रमा गर्ने तयारी रहेको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।   पहिलो संस्करण काठमाडौंमा आयोजना गरिने र त्यसपछि होम एण्ड अवेका आधारमा देशका विभिन्न शहरमा आयोजना हुने संघले जनाएको छ ।   लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालिबीच आइतबारै सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   सम्झौता ७ वर्षको रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसार पुरुष भलिबल फ्रेन्चाइज लिगको सम्पन्न गर्न लाग्ने खर्च केडिया ग्रुपले व्यहोर्ने छ । यस्तै केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्नेछ ।   नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।

पोखरा:   गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह विजयी बनेको छ ।   पोखरा २६ स्थित ब्ल्याक होल (द्यबिअप ज्यभि) फुटसलमा भएको फाइनल खेलमा दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूहलाई हराउदै चौथो सेमेस्टर प्रथम बनेको हो ।   प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको समूहलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिए ।    उनका अनुसार शिक्षालयले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष फुटसल प्रतियोगितासँगै हाजिरी जवाफ प्रतियोगिता र वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आएको छ । शिक्षालयले विद्यार्थीको शैक्षिक स्तरमा सघाउ पुग्ने बताउदै विभिन्न प्रतियोगिता गर्दै आएको छ ।   हाल शिक्षालयमा डिप्लोमा तहका सिभिल, अटोमोवाइल इन्जिनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्यतर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ  ।   

काठमाडौं:   अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।    बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।    भिषा नपाएसँगै लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन् ।    लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।  

पोखरा:   टिम विन्ध्यवासिनी र बाराहीले यू–१९ वाइवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजयी सुरुवात गरेका छन् ।   कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो ।   निर्धारित २५ ओभरको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।    १ सय १६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बिन्ध्यवासिनीले १५.४ ओभर खेल्दै एक विकेट गुमाएर १सय १६ रन बनाएर लक्ष्य पुरा गरेको थियो ।    विन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठ नट आउट रहदै अर्धशतक पुरा गर्ने क्रममा ५१ बलमा नौ चौका र पाँच छक्का सहित टोलीका लागि ७६ रनको योगदान गरेका थिए । उनी खेलका म्यान आफदी म्याच समेत घोषित भएका थिए ।   टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नट आउट रहदै एक रन जोडेका थिए ।                                                                                  भद्रकालीका लागि सलभ सुबेदी नट आउट रहदै ५० बलमा दुई चौका प्रहार गदै टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए । टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।   दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बाराही ८.४ ओभर खेल्दै तीन विकेट गुमाएर ६१ रन बनाउदै लक्ष्य पुरा गरेको थियो ।   बाराहीको जितमा ओपनर रोहित चन्द्र नट आउट रहदै २३ बलमा चार चौका सहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।   उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न असफल रहदा अनिश पटेलले टोलीका लागि सर्वाधिक सात रन जोडेका थिए ।   चार टोली सहभागि रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पाएर द्धय भोजराज बराल र दिलिप अग्रहरीलाई बल हस्तान्तरण गदै गरेका थिए । उद्घाटन पछि मेयर अर्चायले महानगरपालिकाले खेलकुद र पर्यटनलाई जोड्ने गरि विभिन्न कार्यक्रम संचालन र सहयोग गदै आएको बताएका थिए ।   क्रिकेट सम्भावना बेकेको खेल रहेको भन्दै खेल क्षेत्रको लागि आउदो आर्थिक वर्ष महानगरले बजेट बृद्धी गर्ने बताएका थिए ।   आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागि ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार  टिम बनाईएको जानकारी दिए । जिल्लाको प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने जानकारी दिए । ११ गतेसम्म जारी रहेन प्रतियोगितामा बिहीबार र शुक्रबार दुई÷दुई खेलहरु हुने उनले जानकारी दिए ।                  

पोखरा:   ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तीव्र पारिएको छ ।  अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन–२०८१ आगामी जेठ २१ गते सोमवार हुनेछ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका लागि सुरू गरिएको म्याराथनलाई निरन्तरता दिइएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताए । विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङको भनाई छ । समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आईरहेको छ ।  २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन बीचका दुई संस्करण कोभिड(१९ का कारण हुन नसकेको थिएन, गत बर्षदेखि यसलाई निरन्तरता दिएएको अध्यक्ष गुरूङले बताए । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको समितिका महासचिव दिलीप गुरूङले बताए । अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाट, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए । महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश नगद १ लाख५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्कारको ब्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ । म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ । कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन, अन्नपूर्ण समाज काठमाडौंको सहकार्यमा सम्पन्न हुन गईरहेको म्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)रराष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यू–पार्क व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, भूपू खेलाडी मञ्च, नेपाल एड्भेन्चर रनिङ महासंघ, सिआइडब्लुईसी क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् । महोत्सव सम्पन्न गर्न ४२ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमितिसहित सल्लाहकार समिति गठन गरिएको समितिका महासचिव दिलिप गुरुङले बताए ।  

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् ।  पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् ।  दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।  प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए । अच्युतकृष्ण खरेल चौँथो र लक्ष्मण मल्ल पाँचौ भएको आयोजकले जनाएको छ । खरेलले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र मल्लले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए ।  महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए । सोफिया विक चौँथो र प्रेमा परियार पाँचौ भए । सोफियाले दुई घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दौड सकेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।  प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ३०/३० र २०/२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । चौँथो र पाँचौ हुनेले क्रमश ः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।  पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले १०/१० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । दौडमा सहभागी हुनेमध्ये पोखराभित्रका खेलाडी जो सुरुमा फिनिसिङ लाइन पुग्छ उसले पोखरा च्याम्पियनको उपाधि पाउँछ । सोफियाले महिलातर्फ चौँथो भएकोमा १० हजार  र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरेर २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार हात पारिन् ।  पोखरा महानगरपालिका १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र प्रदान गरियो ।  पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो । कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो ।  विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ कि वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पोखरा–१७ का वडा सदस्यहरुले पुरस्कार हस्तान्तरण गरे ।  प्रदेश सांसद कार्कीले विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र नभएको र खेलाडी उत्पादन पनि राष्ट्रका लागि उपलब्धी भएको बताए । ञविकास भनेको बाटो बन्ने मात्र हो । खेलकुदमा राज्यको ध्यान जति पुग्नुपर्ने हो पुगेको छैन । मेरो ठाउँबाट जे गर्न सक्छु मैले गर्छु’ उनले भने । कार्कीले विश्वभर नै बिरामी हुनै नदिन खेलतर्फ अग्रसर गराउन अस्पताल छोडेर खेल मैदान बनाउने अवधारणा आइरहेको र नेपालमा पनि त्यसको खाँचो रहेको बताए ।  पोखरा १७ कि वडाअध्यक्ष राधिका शाही योगीले पोखरा पर्यटकीय राजधानी घोषणा भएकाले पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आवश्यक भएको बताइन् । उनले रानीवनभित्रको रुट धेरै साइकलिष्टको रोजाइँमा पर्ने गरेको र नयाँ रुट थपिनु सकारात्मक भएको बताइन् ।  

पोखरा:    नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११ लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।  जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो ।  उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै  प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घ तृतीय भएको छ ।  शनिबार भएको तेर्सो स्थानको खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले माछापुच्छ्रे गुराँसे भुमेलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।   माछापुच्छ्रे गाउँपालिकाले गुराँसे भुमेलाई २५–२३,२५–२०,२१–२५ र २५–१६ ले जितेको हो ।  तेर्सो भएको माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घले ४० हजार रुपैयाँ सहित ट्र्फि मेडल र प्रमाणपत्र, सान्त्वना भएको माछापुच्छ्रे गुराँसे भुमेले २० हजार रुपैयाँ प्राप्त गर्‍यो । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा उदियमान खेलाडी जनकल्याणका सन्तोष श्रेष्ठ, उत्कृष्ट ब्लकर जिभिपिका चिरण खड्का, उत्कृष्ट सर्भर जनकल्याणका भुपेन गुरुङ, उत्कृष्ट सेटर जिभिपिका देवेन्द्र परियार, उत्कृष्ट लिब्रो जिभिपिका राजन दलार्मी मगर, उत्कृष्ट स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट कोच जिभिपिका अशोक मल्ल र  सर्वोत्कृट खेलाडी जिभिपिका उमेश सेन्चुरी चुनिए ।