काठमाडौं: आइसिसी टी-२० विश्वकप २०२४ मा अमेरिकाले विजयी सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो । एरन जोन्स र एनड्रीस गुसको १३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा लगिदियो । जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ९४ रन बनाउँदै अविजित रहे । गुस भने ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए । ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दवावमा आएको थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२(२ रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रन बनाएर अविजित रहे । क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १/१ विकेट लिएका थिए । त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोडेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए । यस्तै निकोलस किर्तनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरे । एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए । अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए । अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् । विश्वकपको दोस्रो खेलमा आईतवार नै नेपाली समय अनुसार बेलुका ७:१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी भिड्ने छन् ।
पोखरा: गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न फाइनल स्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं च्याम्पियन भएको हो । शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अंक प्राप्त गर्दै च्याम्पियन भयो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अंक बटुल्यो । च्याम्पियन भएको म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद रु ५ हजार विशिस्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद रु ३ हजार प्राप्त गरे । प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषदका लेखा प्रमुख निलकण्ठ ढकाललगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका सदस्य योगेन्द्र शेरचनले प्रतियोगिता सफल बनाउन भूमिका खेल्नेहरु प्रति आभार व्यक्त गर्दै चौथो सस्करणका लागि जुट्न सबैलाई आग्रह गरे । प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ६ जिल्लाका ४२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
पोखरा: तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा १४.३१ मिटरको दुरी फाल्दै उनी च्याम्पियन बनेका हुन् । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४।२६ मिटरको दुरी फाले भने पर्वतका राजेन्द्र हमालले १३।०० मिटरको दुरी फाल्दै तेस्रो बने । च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे । गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषदले विगत तीन वर्ष देखि लगातार यस प्रकारका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बेनी नगर पालिकाका प्रमुख सुरत बहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण बेनी नगरपालिका भित्रका धेरै खेल पूर्वाधारहरु निर्माण कार्य अधुरो रहेको गुनासो पोखे । परिषदका सदस्य एवं परम्परागत तारा खेलका संयोजक योगेन्द्र शेरचनको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसीलगायतले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
पोखरा: स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ वर्ष माथी) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो । उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद रु ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा टेन टु इलाभेनका चौ गुरुङ ट्रफि र नगद राशीसहित पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आयोजकका मुन गुरुङ पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजेश गुरुङ, क्लबका अध्यक्ष गोमेश गुरुङ, तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा आज (शनिबार) भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । सो प्रतियोगिताबाट करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । उनका अनुसार उपाधिसँगै विन्ध्यश्वरीले नगद रु १२ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद रु १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । उनका अनुसार आइतबार विहान समापन समारोहकाबीच पुरस्कार वितरण गरिनेछ । यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो । पुरुषतर्फको फाइनल आइतबार हुने प्रतिकुल मौसमका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । अब उक्त खेल आइतबार विहान ८ बजे हुने संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । फाइनल खेलका लागि करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) र स्पाइरल ग्यालेक्सी मावि भिड्ने छन् । यसअघि सेमिफाइनलमा केफले राष्ट्रिय मावि र स्पाइरल ले पोखरा आदर्शलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा राष्ट्रिय मावि पोखरा आदर्शलाई पराजित गर्दै तृतीय बनेको छ । विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
पोखरा: युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शनिबार) भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे । सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट स्पाइकरबाट टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना ट्रफि र नगद राशीबाट पुरस्कृत भए । कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुअ अतिथिसमेत रहेका गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष धिरज गुरुङ, प्रायोजकले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । युनाइटेड किङ्स क्लबका अध्यक्ष धिरज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अशोक थापाले गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ । कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अवेर सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजि तौल समुहमा बाग्मती प्रदेशका लाल प्रसद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित च्याम्पियन बनेका हुन् । महिलातर्फको ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् । यस्तै पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बाग्मतीकी रमिसा श्रेष्ठले त्रिभूवन आर्मी क्लवकी लालुमाया खत्रीलाई पराजित गरिन् । पुरुष ६० केजीतर्फ सुदुरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव सिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपीएपm क्लवकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भईन् । पुरुषतर्फको ६३ केजी समुहमा गण्डकीका निश्चल गुरुङले सुदुरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् । त्यस्तै, पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपीएपm क्लवकी बिनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् । ७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समुहमा बाग्मतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए । यस्तै पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई र ८६ केजीमा गण्डकीका किरन वि.क.ले लुम्बिनीका प्रसन थापालाई पराजित गरे । प्रतियोगितामा विजेता बक्सरलाई नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदकद्वारा पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकरी दिए । उत्कृष्ठ बक्सर गण्डकीका निश्चल गुरुङ र महिला तर्फ एपीएफकी विनिता थापामगर घोषित भए । विजेता र उपविजेता खेलाडीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, नेपाल बक्सिङ संघका केन्द्रिय अध्यक्ष राम अवाले, केन्द्रिय उपाध्यक्ष किरण श्रेष्ठ, रामबहादुर गिरी, गणेशबहादुर भट्टराई, महासचिव मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघ गण्डकी प्रदेश अध्यक्ष विद्या प्रसाद मर्सानी, जिल्ला अध्यक्ष सुमनकुमार श्रेष्ठ, महानगर बक्सिङ संघका सचिव बुद्ध गुभाजु लगायतले पुरस्कार वितरण गरेका थिए । बक्सिङ च्याम्पियनसिपमा महिला तर्फ १२ र पुरुष तर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा भिडेका थिए । यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना भएको हो । यसअघि २०६४ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो । खेलकुदको माध्यममार्फत पोखरालाई प्रर्वद्धन गर्न सकिन्छ: मेयर आचार्य खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताएका छन् । शुक्रबार पोखरामा भएको पोखरा राष्ट्रिय बक्सिङ च्याम्पियनसिप–२०८१ को उद्घाटन गर्दै उनले पोखरालाई खेलका माध्यम मार्फत अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका हुन् । पर्यटन राजधानी पोखरालाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्न यहाँ आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिताहरु महत्वपूर्ण रहने उनले बताए । उनले भने, ‘नेपाललाई अन्तराष्ट्रिय प्रतिस्पर्धा, ओलम्पिकमा पु¥याउने भनेको अहिलेका विद्यालय तहका बालबालिकाले हो । त्यसैले उनीहरुको ‘ग्रुमिङ’का लागि महानगरले थुप्रै खेल गतिविधी सञ्चालन गरिरहेको छ । यस्लाई अझ व्यस्थित र भब्यरुपमा हामीले आगामी दिन सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ उनले पोखरामा राष्ट्रिय स्तरको प्रतियोगिताले खेलसंगसंगै यहाँको पर्यटन प्रर्वद्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बक्सिङ महासंघका केन्द्रिय उपाध्यक्ष तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधीले स्तरिय खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा बक्सिङ खेलको विकासमा योगदान गरेको भन्दै ओलम्पियन रामसिंह थापा, सुवेदार मेजर क्या. लोकबहादुर गुरुङ, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलाई सम्मानपत्र, दोसल्ला र मालाद्वारा सम्मान गरिएको थियो ।
पोखरा: पोखराको अमरसिंह स्पोर्टस् सेन्टरमा पहिलो संस्करणको भेट्रान्स (३५ प्लस) फुटसल प्रतियोगिता सुरु भएको छ । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा आज (शुक्रबार ) सेमिफाइनलको समिकरण पूरा भएको क्लबका सचिव अनुपम गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो क्वाटरफाइनल खेलमा एट टु नाइनले आयोजक स्वर्णिम एफसी हरियोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एट टु नाइन सेमिफाइनलमा प्रवेश गर्याे । दोस्रो खेलमा गार्डेन एफसीले भाइब्रेन एफसीलाई ३–१ गोल अन्तरले हरायो । तेस्रो खेलमा नाफालाई टेन टु इलाभेनले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्याे । अन्तिम क्वाटरफाइनल खेलमा स्वर्णिम एफसी रेडले दिपेन्द्र एफसीलाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा स्थान बनायो । अब सेमिफाइनल र फाइनल खेल शनिबार हुने क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमिफाइनल गार्डेन एफसी र (स्वर्णिम एफसी रेड) आयोजकबीच हुनेछ भने दोस्रो सेमिफाइनल एट टु नाइन र टेन टु इलाभेनबीच हुनेछ । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शुक्रबार) देखि प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता सुरु भएको छ । पूर्व खेलाडीहरुबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित खेलकुदको क्षेत्रमा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको हो । समाजसेवी गंगा बहादुर खड्काको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा पहिलो चरणका खेल सकिएको कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार एपिएफको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै विश्वकर्मा समाजलाई २–० को सोझो सेटमा हराउँदै जिएम ब्रदर्श क्वाटरफाइनलमा प्रवेश गर्याे । अर्काे खेलमा छन्त्याल भेट्रान्सलाई २–० को सोझो सेटमा हरिनास भेट्रान्सले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । आँधीखोला हङकङले आयोजक बिलाई २–० को सोझो सेटमा पराजित गर्दै आँधीखोला क्वाटरफाइनमा प्रवेश गरेको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार अर्काे खेलमा पोखरा २० मोहरियाको अनुपस्थितिमा पोखरा भेट्रान्स वाकओभरमार्फत विजयी बन्यो । यस्तै व्यास तनहुँको अनुपस्थितिमा गलकोट र धवलागिरी टिमको अनुसस्थितिमा आयोजक बिजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । अब शनिबार पोखरा भेट्रान्स र गलकोट, जिएम ब्रदर्श र आयोजक क्वाटरफाइनलमा भिड्नेछन् । यस्तै आँधीखोला र हरिनास भेट्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । कुल १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।