पोखरा: घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । कास्कीको पारीको सुरुवात खासै जम्न सकेन । कास्कीका भरपर्दाे मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे । मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए । बागलुङका लागि ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए । जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्यो । स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए । स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिसेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, क्यानका केन्द्रिय सदस्य सुदिप पौडेल, यू–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, परिषदका सदस्य केशव पाठकलगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।
पोखरा: हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका वडा नम्बर १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो खेलमा पोखरा १० ले आयोजक वडा २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १० ले ५–३ गोल अन्तरले पराजित गर्दे विजयी भयो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ धोषित भए । त्यस्तै दोस्रो खेलमा पोखरा १७ ले वडा १ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे । सो खेलमा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ दि म्याच घोषित भए । फाईनल यात्राका लागि भोलि वडा १० र १२ साथै वडा १३ र १७ भिडने छन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाएका हुन् । प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविनको आधारमा सञ्चालन हुने छ । पहिलो दिन कास्की र पर्वत तथा स्याङजा र नवलपुरका बीच हुनेछ भने दोस्रो दिन असार ८ गते स्याङजा र पर्वत तथा दोस्रो खेलमा कास्कीले नवलपुरको सामना गर्नेछ । त्यसै गरी असार ९ गते पर्वत र नवलपुर तथा दोस्रो खेल कास्की र स्याङजाका बीच हुनेछ ।
कास्की: पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल मैदानमा गत १८ र १९ गते सञ्चालन भएको सो प्रतियोगिताबाट कुल ३ लाख ८९ लाख ३० रुपैयाँ बचत भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि कुल ६ लाख ८ हजार २ सय ५१ रुपैयाँ आम्दानी भएको थियो भने २ लाख १९ हजार २ सय २१ रुपैयाँ खर्च भएको थियो । उनले आम्दानीतर्फ टिम दर्ताबाट रु ५५ हजार, संस्थागत सहयोगत पुरस्कारका लागि रु ६० हजार र विदेशबाट रु ४ लाख ९३ हजार २ सय ५१ रुपैयाँ संकलन भएको बताए । यस्तै खर्चतर्फ पुरस्कारका लागि रु ६५ हजार, कलाकारका लागि रु ५ हजार, सम्मानपत्रका लागि १२ हजार १ सय ६५ रुपैयाँ, खेलकुद समाग्री, ट्रफि, तथा ग्राउण्ड व्यवस्थापनका लागि १५ हजार, अफिसियलका लागि १९ हजार, खाना तथा खाजातर्फ २९ हजार, प्रिन्टिङका लागि ३२ हजार, जर्सी प्रिन्ट ६ हजार ५ सय र विविधतर्फ रु ३४ हजार ५ सय ५६ रुपैयाँ खर्च भएको सचिव थापाले जानकारी दिए । यो पनि पढ्नुहोस पोखराको नदीपुरमा किङ्स कप भेट्रान्स भलिबल सुरु किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन, सर्वाेत्कृष्ट बने कृष्ण गाहामगर दुइदिनसम्म सञ्चालन भएको भेट्रान्स (३५ प्लस) प्रतियोगितामा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको थियो । उपाधिसँगै एफिएफले नगद रु ४० हजार, र उपविजेता बनेको गलकोटले नगद रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजाले स्थान पक्का गरेको छ । स्याङजा समुह बीको खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो । भोली (बिहीबार) हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ । यस अघि नै कास्कीले समुह ‘ए’बाट फाइनलमा स्थान बनाएको थियो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सिमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो । खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके त्यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो । यो पनि पढ्नुहोस प्रदेशस्तरीय टि–२०: कास्की र तनहुँको लगातार जित प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्कीको अपराजित फाइनल यात्रा गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट: नवलपुर र स्याङजाको जित गण्डकी प्रदेशस्तरीय टि–२०: उपाधिका लागि स्याङजा र कास्की भिड्ने स्याङजाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे । यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो । स्याङजाले १६.२ ओभरमा ८ विकेटको क्षतीमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डेले नट आउट रहँदै ११ रन बनाए । नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिंदा दिपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यसैगरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । प्रतियोगिताको विजेताले २० हजार, उप विजेताले १५ हजार र सह विजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट टोली आउने क्रम जारी रहेको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिए । आवश्यक न्युनतम भौतिक पुर्वाधार विना नै परिषदले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान शुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए । पहिलो सँस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए ।
कास्की: हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १२ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा पोखरा १२ ले वडा ६ लाई पेनाल्टी सुटआउटमार्फत पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का विष्णु बहादुर लामिछाने भए । त्यस्तै दोस्रो खेलमा पोखरा १३ ले वडा ५ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनल प्रवेश गर्याे । खेलको ३२ औं मिनेटमा राजकुमार गुुरुङले पहिलो गोल गरे । साथै देभभक्त गुरुङले ४९ औं मिनेटमा दोस्रो गोल गरे त्यस्तै नरेन्द्रजंग गुरुङले ५३ औं मिनेटमा थप १ गोल गर्दै वडा १३ लाई ३ गोलको अग्रता दिलाए । वडा न ५ का अनिल राज कोइरालाले ५६ औ मिनेटमा १ गोल गरेका थिए । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भएका थिए । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पोखरा: हेमजामा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । सोमबार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी बन्यो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले समान १ गोल गरे । त्यस्तै अर्को खेलमा पोखरा १३ ले वडा ४ लाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा प्रवेश गर्याे । खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोल गरे । यस्तै टीमका राज कुमार गुरुङले २, राजेश गुरुङ, विजय कुमार श्रेष्ठ, धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बर बहादुर गुरुङले पनि समान १ गोल गरे । यता पोखरा ४ का द्रव्यजंग राणाले सान्त्वना १ गोल फर्काएका थिए । हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले नगद रु १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले नगद रु ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र अन्य विधागततर्फ पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट अन्तर्गत नवलपुर र स्याङजाले जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी समुह ‘बी’ को खेलमा उनीहरुले जित निकालेका हुन् । नवलपुरले पर्वत विरुद्धको खेलमा ६ विकेटले जित हात पारेको छ । वर्षाका कारण ५ ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुवात गरेको पर्वतले ७ विकेटको क्षतीमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए भने अमृत गुरुङले १५ बलमा २ चौका र एक छक्काको मद्धतले २३ रन जोडे । पर्वतका दिपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे । नवलपुरका लागि बलर ऋषी गोविन्द श्रेष्ठले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने कमल परियारले २, सुदिप अर्याल र स्विकार श्रेष्ठले समान १–१ विकेट लिए । ९४ रन पछ्याएको नवलपुरले १३।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । खेलको म्यान अफ दि म्याच समेत रहेका नवलपुरका प्रमिश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे । तर अर्का ओपनर गोविन्द विक भने सून्य रनमा पेभिलिएन फर्किए । उनी रन आउट भएका थिए । रिजन काफ्लेले १६ बलमा २ चौकासहित २७ रनमा नटआउट रहे भने दिपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले २ विकेट लिए भने विकाश क्षेत्रीले १ विकेट आफ्नो नाममा लेखाए । स्याङजाका किरणले लिए ५ विकेट गोरखा विरुद्धको खेलमा स्याङजाका बलर किरण भट्टराईले ५ विकेट लिंदा स्याङजाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८।१ ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । अतिरिक्त १३ रन समेत पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । स्याङजाका किरणले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा दुई मेडनका साथ ७ रन दिएर ५जनालाई आउट गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै विपिन राज न्यौपानेले ३.१ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने अंकित न्यौपाने र तुल्सी भण्डारीले समान १–१ विकेट लिए । यता जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै ८.४ ओभरमा कुनै पनि विकेट नगुमाई ७५ रनको लक्ष्य भेट्टायो । स्याङजाका ओपनर खेलाडी द्वय इश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट व्याटिङ गर्दै लक्ष्यमात्रै भेट्टाएनन् टिमकालागि २ अंक समेत जोडे । इश्वरले २३ बलमा ३ चौका र ३ छक्काको मद्धतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै ३ चौक र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए । मंगलबार पहिलो खेल पर्वत र स्याङजाका बीच हुनेछ भने दोस्रो खेल पर्वत र नवलपुरबीच हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।