काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो । “खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भन्नुभयो, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ । युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले समाज र राष्ट्रलाई जोड्न खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो । असोज १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासङ्घलगायत १३ टिमको सहभागिता रहेको आयोजक प्रदेश खेलकुद विकास परिषद्का तालिम, प्रतियोगिता तथा खेलुकद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगिताका विजेता र उपविजेतालाई असोज ३ गते मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो । खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाएका हन् । त्यसैगरी, ‘ओपनर’ कुशल भुर्तेल एक रनमा नै आउट भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी आठ, सोमपाल कामी ६ तथा कप्तान रोहितकुमार पौडेल पाँच रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा क्यानडाका तीव्र गतिका ‘बलर’ डिलोन हेलिगरले पाँच विकेट लिएभने अखिल कुमार र अंश पटेलले समान दुई–दुई विकेट लिए । त्यस्तै, सादविन जाफरले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५३ रनको योगफल बनाएको थियो । उसका लागि कप्तान निकोलस किर्टोनले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेलेका हुन् । यसैगरी, नवनीत धालिवालले ४८, डिलोन हेलिगर ३०, हर्ष थाकेर २७ रन जोड्दा परगत सिंह र साद बिन जाफरले समान १७ ÷१७ रन बनाए । त्यस्तै, आरोन जोनसनले १० रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान दुई–दुई विकेट लिएभने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान एक–एक विकेट लिए । अब नेपालले भोलि ओमानसँग खेल्नेछ ।
पोखरा: पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने भएको छ । पोखरा महानगरपालिका–२६ मा पहिलोपटक आउदो असोज ५ गते बल आउट च्याम्पियनसिप हुन लागेको हो । स्थानीय युवाको अगुवाइमा हुने प्रतियोगिता पोखरा–२६ को भवानी कालिका माविको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ सहित ट्रफी र मेडल प्रदान गरिने स्थानीय सुवर्ण बरालले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ठ बलर र अनुशासित टिमले समान २ हजार २२२ सहित ट्रफी पाउनेछन् । टीम दर्ताका लागि १ हजार ५ सय तोकिएको छ । प्रत्येक टिममा ३ जना खेलाडी हुने र ती ३ जनाले पालै पालो बलिङ गर्नेछन् र स्टम्पमा लागेर बेल खसेपछि मात्र अङ्क प्राप्त हुनेछ । बराबर भएमा ११ जनाले फाइनल बल गर्नेछन् र नतिजा नआईन्जेल निरन्तर हुनेछ ।
पोखराः पोखरामा सम्पन्न भएको सुवास नेम्बाङ स्मृति प्रथम प्रदेश स्तरीय भलिबलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले जितेको छ । अनेरास्ववियु गण्डकी प्रदेशले पोखराको पिएन क्याम्पसमा आयोजना गरेको सुवास नेम्बाङ स्मृति प्रथम भलिबल प्रतियोगिताको फाइनल खेलमा विन्देश्वरी क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । बौदीकालीले विन्देश्वरी क्लबलाई २५–१६, २५–२२ र २५–२१ ले पराजित गर्याे । उपाधि जितेको बौदीकाली गाउँपालिकाले नगद रु १ लाख ११ हजार १ सय ११ र उपविजेता भएको विन्देश्वरी क्लबले ७१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्यो । सो प्रतियोगिताबाट बौदीकालीका सरोज बर्देवा सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । बौदीकालीको तर्फबाट चर्चित हिमाल सुनारी मगर, सरोज बर्देवा, अशोक श्रेष्ठ, राजन दर्लामीमगर लगायतका खेलाडीहरु खेलेका थिए । भने, विन्देश्वरीको तर्फबाट सञ्जु विक्रम शाही, रेशम छन्तयाल, संजोग परियार लगायतका खेलाडी खेलेका थिए । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अथितिसमेत रहेका अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकाया, नेकपा एमाले कास्कीका सचिव तथा युवा नेता दर्शन लामा, भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, बौदीकाली गाउँपालिकाका प्रमुख प्रकाश ओझा लगायतले पुरस्कार वितरण गरेका थिए । गत २७ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा गण्डकी प्रदेशका १२ समूहको सहभागिता रहेको कार्यक्रम संयोजक विष्णु क्षेत्रीले जानकारी दिए । उनले आगामी वर्षपनि दोस्रो संस्करणको प्रतियोगिता सोही मितिमै सञ्चालन गर्ने बताए । उनले दोस्रो संस्करणमा नगद राशीसमेत बृद्धि गरेको बताउदै प्रथम हुनलेलाई नगद रु १ लाख ३१ हजार १ सय ११, दोस्रो पुरस्कार ८१ हजार १ सय ११ र तृतीय हुनेलाई ५१ हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए ।
पोखरा: पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरे । प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् । यी टिमहरूको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कबिन सापकोटा र प्रदिप तामाङले गर्नेछन् । उनीहरुको उपस्थितीमा लेखनाथस्थित होटल डे ब्रेकमा आयोजित अक्सन समारोह मार्फत खेलाडीहरूको छिनोफानो लागेको हो । अक्सनमा राखिएका मध्ये केहि खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले हान्थापनै गरे । विनोद नेपालीलाई पोखरा फिनिक्सले १० हजारमा खरिद गर्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले त्यति नै रकमको बिट लगाएका थिए । तर लक्की ड्र मार्फत पोखरा फिनिक्स उनलाई किन्न सफल भयो । विश्वास पराजुली पनि टोलीहरूको हान्थापमा परे । उनीमाथि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले १० हजार रुपैयाँकै मूल्य लगाएको थियो । गोलाप्रथामा भाग्यमानि बनेको आरके भिक्टोरियनले उनलाई आफ्नों टोलिमा सहभागि गरायो । १० हजारमै बिक्री भएका गोरे जिटीमाथि पाँच टिमले समान १० हजारको बोली बोलेका थिए । गोलामा भाग्यमानि बन्दै सिएनडी वारियर्सले उनलाई खरिद गर्न सक्यो । त्यस्तै जस्मिन थापा क्षेत्री पनि १० हजार रुपैयाँमै विक्री भए । उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गर्यो । लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएको थियो । बिक्की सर्माले उद्घोष गरेको अक्सन कार्यक्रमका प्रमुख अतिथि स्याँग्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोल तानेका थिए । खेलाडी खरिदका लागि आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८÷४८ हजार रुयैयाँ खर्च गर्दा कम रकम लगाएको फिष्टेल अपमोष्टले मात्र १३ हजार रुपैयाँ खर्चियो । आगामी शनिबारदेखि लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा सुरु हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख सहित ट्रफी तथा उपविजेताले नगद रु ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
पोखरा: पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु.२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो। पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो। ‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ ।’ भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भन्नुभयो, तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्याएकी छिन्, यो खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रेरणा हो।’ महानगरपालिकाले प्रदान गरेको सम्मान पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो। आइतबार पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको छ। ‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेका छौँ, आज पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेसालाई सम्मान गरेका छौँ, उहाँले भन्नुभयो, पोखरा महानगरपालिका राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको सदैव साथमा रहनेछ।’ समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। नेपालको पर्यटन राजधानी पोखरा खेलकुदको पनि राजधानी सहर भएको उहाँले उल्लेख गर्नुभयो । पोखरा सबै मौसममा हरेक खेल गतिविधिहरू सञ्चालन गर्न सकिने सहरका रूपमा उपयुक्त रहेको बताउँदै उहाँले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महानगरपालिकाले सहकार्य गर्दै आइरहेको बताउनुभयो । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।
पोखरा: वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थन्डर्सले उपाधि जितेको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थन्डर्सले एसबी गाइजलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । यसै गरि महिला फुटसलतर्फ विनर गर्लस्ले च्याम्पियन बन्यो । गर्लस्ले एन्ग्री बर्डस्लाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्र्तगत भेट्रान्स फुटसल अन्नपूर्ण भेट्रान्सले जितेको कार्यक्रम संयोजक प्रविण हमालले जानकारी दिए । खुल्ला पुरुष फुटसलतर्फको विजेता पोखरा थन्डर्सले ट्रफी, मेडल, प्रमाणपत्र तथा खसी प्राप्त गर्याे । यस्तै उपविजेता एसबी गाइजले ट्रफी, मेडल, प्रमाणपत्र तथा बोका पुरस्कार पाए । महिला फुटसल तर्फका विजेता तथा उपविजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विरेन्द्र रोकाहा उत्कृष्ट खेलाडी तथा किस्मत बानियाँ उत्कृष्ट गोलरक्षक घोषित भए । यस अघि कार्यक्रममो उद्घाटन गर्दै पृथ्वी होटल संघका पूर्व सचिव एवम बाजेका सेकुवाका सञ्चालक एकराज गिरीले खेलकुदले स्वास्थ्यलाई मात्रै होइन सम्बन्धलाई पनि फाइदा पुर्याउने हुँदा प्रतियोगिताले भाइचारा अभिबृद्धिमा टेवा पुग्ने बताएका थिए । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीका अध्यक्ष सुजन श्रेष्ठले शाखाका कर्मचारी र सञ्चालकबीचको सम्बन्धलाई प्रगाढ बनाउन मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, संस्थाका सल्लाहकार शाह मोहम्मद, जगतमोहन गिरी, नरबहादुर भुजेल, नारायण प्रसाद पोखरेल, फणिन्द्र बराल, वरिष्ठ उपाध्यक्ष घनश्याम गौतम, सचिव धिराज श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमका संयोजक प्रविण हमाल, सह–संयोजक सन्तोष पोखरेल र विरेन्द्र रोकाहा रहेका थिए । प्रथम पुरस्कारको सौजन्य युरो एशिया एचआरका सञ्चालक नारायण पोखरेल, द्धितिय पुरस्कारको सौजन्य स्विफ्ट एचआरका सञ्चालक गोविन्द रेग्मी, भेट्रान्स तर्फको ट्रफि, मेडलको सौजन्य अल्माइटी इन्टरनेशनलका सञ्चालक निरज खनाल तथा अन्य ट्रफी, मेडलका सौजन्य एम आइटी ग्लोबलका दिनेश मगरले गर्नुभएको थियो । संस्थाका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धिराज श्रेष्ठले गरेका थिए ।
म्याग्दी: म्याग्दी मुवाँथाई संघको अध्यक्षमा डेक पुन सर्वसम्मत चयन भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार म्याग्दीको अध्यक्षमा डेक पुनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला मुवाँथाई संघ तदर्थ समिति गठन गरेको हो । नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र क्षेत्रीको उपस्थितिमा भएको मुवाँथाई खेलाडीहरुको भेलाले म्याग्दी मुवाँथाई संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा राधा पुलामी, सचिवमा कृष्ण रानाभाट र कोषाध्यक्षमा महेन्द्र थकाली सर्वसम्मत चयन भएका हुन् । यस्तै सदस्यहरुमा रितु पुन, साहस गर्बुजा, प्रबिन केसी, कुमार क्षेत्री, हिमाल सुनार रहेका छन् । पछिल्लो समय नेपालमा मुवाँथाईको लोकप्रियता बढ्दै गएकाले जिल्लामा यसको विकास र विस्तारमा लाग्ने अध्यक्ष पुनले बताए । उनले जिल्ला स्तरबाट समेत व्यवसायीक खेलाडीहरु उत्पादन गर्न लागि पर्ने समेत बताएका छन् ।
सुर्खेत: कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ । दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ । तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्यौल निकालिने भनेर फर्कनुभएको थियो । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणकार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले यहाँको प्रगतिबारे जानकारी गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालावरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन ।” कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताउनुभयो । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँले जिकिर गर्नुभयो । प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्यसचिव सञ्ज्यालका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ । परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । “प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौँ”, सदस्यसचिव सञ्ज्यालले भन्नुभयो, “तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौँ । एक महिनाभित्र रङ्गशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।” तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउँछ र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उहाँको भनाइ थियो । सदस्यसचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शङ्का नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जानसक्छ ।” यता खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाउनुभयो । फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उहाँको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् । हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।