पोखरा: महानगरपालिका–२५ हेमजास्थित अम्मटमा भएको फ्रिस्टाइल फुटबल ब्याटलमा रुविन श्रेष्ठ च्याम्पियन बनेका छन् । ‘बिच एण्ड फिस फेस्टिभल २०८१ भएको ब्याटलको फाइनलमा उनले उमित वर्मालाई पराजित गर्दै रुविन श्रेष्ठ च्याम्पियन बनेका हुन् । सो ब्याटलमा काठमाडौं, म्याग्दी, विराटनगर लगायतको स्थानबाट खेलाडी सहभागिता रहेको आयोजक संस्था आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनलाई समापन समारोहकाबीच पुरस्कृत गरिने बताए । ‘पुरस्कार वितरण अब समापन समारोहको अवसरमा प्रदान गर्नेछौं । फ्रिस्टालको वान भर्सेस वानको ब्याटल अझै बाँकी छ । उक्त खेल शनिबार हुनेछ ।’ उनले भने । उनका अनुसार फ्रिस्टाइल फुटबल ब्याटलका विजेता रुविनले १० हजारसहित बन्जी प्याकेज र उपविजेता उमितले नगद रु ५ हजार प्राप्त गर्नेछन् । यस्तै खुला फाइभ ए साइट फुटबलतर्फ उद्घाटन खेलमा डकहाउस रेडले विजयी सुरुवात गरेको छ । आयोजक आरएस ब्लुलाई १२–६ गोल अन्तरले पराजित गर्दै डकहाउस दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार कुल ३१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको बाँकी खेलहरु शनिबार सञ्चालन गरिनेछ । उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र सर्वाधिक गोलकर्तालाई नगद राशीबाट पुरस्कृत गरिने उनले बताए । यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने अयाोजकले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ मा आयोजना हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको छ । आर.एस.बिच क्लबको आयोजनामा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनका अनुसार सो ब्याटलमा देशभरका १२ जनाले प्रतिस्पर्धा गर्नेछन् । 'फ्रिस्टाइल ब्याटलको फाइनल भोलि नै हुनेछ । त्यसका लागि देशका विभिन्न ठाउँबाट खेलाडीहरु आइसकेका छन् ।' उनले भने । उनले फ्रिस्टाइलको वान भर्सेस वान ब्याटल भने शनिबार बिहान आयोजना गरिने जानकारी दिए । कार्कीले खुला फाइभ ए साइड फुटबलतर्फको उद्घाटन खेलपनि शुक्रबार दिउँसो २ बजे हुने बताए । उनका अनुसार उद्घाटन खेलमा आरएस ब्लु र डकहाउस रेड भिड्नेछन् । फुटबलको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् । यस्तै फ्रिस्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने छ । घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
काठमाडौं: नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् । यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पु¥याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् । दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे । आइतबार नै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।
बैतडी: निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो । जितका लागि पाएको २४३ रनको विशाल लक्ष्य पछ्याएको नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियो । नागार्जुनका अनुराग चन्दले सर्वाधिक ४५ रनको योगदान गरेपनि जितका लागि सम्भव भएन । निङगलाशैनीका गजेन्द्र बोहराले तीन, खडक बोहरा र विरेन्द्र चन्दले दुई–दुई विकेट हात पारे । खडक म्यान अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । टस हारेर ब्याटिङको निम्ता पाएको निङ्गलाशैनीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २४२ रन बनायो । जसमा दीपक बोहराले अविजित ७८, खडक बोहराले ६३ रनको योगदान दिए । नागार्जुनका धिरज ठगुन्ना, गोविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले एक–एक विकेट हात पारे । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोली सहभागी छन् । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिनुभयो । यसैगरी म्यान अफ द सिरिज बापत् रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
पोखरा: २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा ! रारा गोल्डकप हो । समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघलाई सिफारिस गरेकोमा सो मिति उपलब्ध भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यअनुरुप फुटबलमार्फत सहारा कलब सामाजिक सेवा निरन्तर क्रियाशील छ । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु छन् । फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने सन्देशमूलक उद्देश्यका साथ पोखरा रंगशालामा साढे दुई दशकदेखि बर्सेनि आयोजित यो प्रतियोगिता पोखराको पहिचानसमेत हो । गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । यस्तै, पोखरा महानगरपालिका संरक्षक छ भने अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलायन्स बुद्ध एयर रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् नेपाल, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद् गण्डकी, सहारा यु.के, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघसमेतको विशेष सहयोग, विभिन्न संघसंस्थाहरु, राजनीतिक दल, संघ, प्रदेश तथा स्थानीय तह, प्रशासनिक निकाय एवं सुरक्षाकर्मी, खेलप्रेमी महानुभाव, दर्शक लगायतको सहयोग रहेको क्लबले जनाएको छ ।
काठमाडौं: भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो । भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक÷एक गोल गरे । देकी लाजोमले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थेपे । पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो । अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ । श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ । नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ ।
पोखरा: गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि सिबृन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेलेपनि उनको विकेट पतनसँगै टोली संकटमा परेको थियो । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३५ रन बनाएका थिए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने, सुदिप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शुन्यमै पेभिलियन फर्किए । पोखराका लागि सुवाष भण्डारीले ७ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । देव शाहले ५.५ ओभरमा ३१ रन खर्चदै ४ र अनिश खड्काले १ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो । पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवाष भण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भउ भने देव शाह र सागर भुजेल शुन्यमै पेभिलियन फर्किए । सांग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिबृन श्रेष्ठ र सुदिप पौडेलले २÷२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १÷१ विकेट लिए । जितसँगै पोखराको कुल ४ अंक रह्यो । सांग्रिला र यस अघि नै बाहिरिएको लेकसाइडको १/१ अंक रहेको छ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगरपालिकाको सहयोग रहेको छ । पिएम कपको जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन ।
पोखरा: नेपाल क्रीकेट संघको आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ । यही कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी अहिले १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् । साथै उनले नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन् । टाेलीको छनाैटका लागि गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई-वाई यु-१९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता २०८१” मा प्रतिकुल मौसमका कारण पुर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७ खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो । २०८१ असोज २० गते देखि २४ सम्म पोखरामा संचालित बन्द प्रशिक्षणको दोश्रो चरणमा २४ खेलाडीहरु सहभागी थिए। गण्डकीको टिममा करण पंगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् । त्यसैगरी वैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेशसँग खेली प्रतियोगिताको सुरुवात गर्ने छ । रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको छ । टोलीको व्यवस्थापकमा स्याङ्जाका अभिषेक ढकाल रहेका छन् ।
पोखरा: पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै समूह चरणबाटै बाहिरिएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९ रन बाहेक अन्यले खासै रन बनाउन सकेनन् । सिद्धान्तले १६ बलमा ५ चौका प्रहार गरे भने अजयले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । विवेक अधिकारी २, सम्राट अधिकारी १, दिपक माझी १, श्री राम २ र विमोचन सापकोटा, सौरभ शर्मा र सुस्मानी गौतम शुन्यमै पेभेलियन फर्किए । अरण्यज्योतीका लागि सोमबहादुर थापाले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविण पौडेलले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । अब्दुल मिया, प्रदिप पौडेल र कल्याण कुमालले १/१ विकेट लिए । टस जिटेर ब्याटिङ थालेको अरण्यज्योतीले ३८.६ ओभरमा १३६ बनाउदै अलआउट हुन पुगेको थियो । जितका लागि सुलभ सुवेदिले ४० रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले १०६ बलमा २ चौकाको मद्धतमा ४० रन बनाए । ओपनर कल्याण कुमाल ८ रनमा, अंकित गजुरेल १०, प्रविण पौडेल २३, प्रदिप पौडेल २०, सन्देश निउरे ३, धन्जु यादव ८, प्रीजन श्रेष्ठल ८, सोमबहादुर थापा १ र अब्दुल मिया ८ रनमा आउट भए । प्रसानी अधिकारी ७ रनमा नटआउट रहे । गण्डकीका लागि सिद्धान्त गिरिले १० ओभरमा ५० रन खर्चदै सर्वाधिक ४ विकेट लिए । यस्तै अजय राम र सुमन अधिकारीले २र२ तथा विमोचन सापकोटा र सुस्मान गौतमले १र१ विकेट लिए । समूह सि मा गण्डकी २ खेलमा दुबै हारसंगै अंकविहिन हुँदै बाहिरिएको हो । समूह सि मा अरण्यज्योती र राइजिङ पोखरा क्रीकेट क्लबको सेमिफाइनल सम्भावना कायमै रहेको छ । दुबैको १/१ खेलबाट समान २ अंक छ । १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगितामा संघमा आबद्ध क्लबको मात्र सहभागिता रहेको छ । सो प्रतियोगितालाई नेपाल क्रिकेट संघले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन ।