काठमाडौं: अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गर्यो । त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो । अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभयो । प्रतियोगिताका विभिन्न विधाका उपविजेता टिमहरुले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् । युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा आयोजक कालोले मणिमुकुन्द टिम बिलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइलनमा पुगेको हो । आयोजकको जीतमा म्यान अफ द म्याच भएका निश्चल थापाले २ गोलको योगदान दिए । भने, निर बहादुर सोमै र मनिक गाहाले समान १ गोल गरे । यता हार व्यहोरेको मणिमुकुन्दको तर्फबाट नर बहादुर रावलले सान्त्वना १ गोल फर्काए । अब आयोजकले १८ गते दमकडा एफसीको सामना गर्नेछ । भने, भोलि (सोमबार) पहिलो सेमफाइनल खेल अन्तर्गत सराई एफसी र मणिमुकुन्द टिम ए बीच प्रतिस्पर्धा गर्नेछ । यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पाल्पा: बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा दमकडा ब्रदर्श सेमिफइनलमा प्रवेश गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शनिबार भएको खेलमा युनाइटेड युथ एफसीलाई ४–० गोल अन्तरले सहजै हराउँदै दमकडा ब्रदर्श सेमिफाइनलमा प्रवेश गरको हो । दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका आवेश शाहीले र आशिष रानाले समान २/२ गोलको योगदान दिए । अब दमकडा एफसीले सेमिफाइनलमा आज हुने मणिमुकुन्द बि र आयोजक नव जागृति युवा क्लब (ब्ल्याक) बीचको विजेता टोलीसँग १८ गते प्रतिस्पर्धा गर्नेछ । भने, प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुनेछ । सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।
काठमाडौँ: पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
पाल्पा: बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा सराई एफसी अन्तिम चारमा प्रवेश गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज भएको खेलमा लुम्बिनी मेडिकल कलेजलाई ५–२ गोल अन्तरले हराउँदै सराई एफसी सेमिफाइनलमा प्रवेश गरको हो । अब सराईएफसीले सेमिफाइनलमा यही १७ गते मणिमुकुन्द क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आज भएको खेलबाट सराई एफसीका सुजन राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुने आयोजकले जनाएको छ ।
काठमाडौं: युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । वडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताउनुभयो । प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छभने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा मणिमुकुन्द क्बलले प्रकृति युथ क्लबलाई पराजित गरेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा मणिमुकुन्द क्लब र प्रकृति युथ क्लबबीच आज (बिहीबार) भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा ४–३ गोलअन्तरले जीत निकाल्दै मणिमुकुन्द सेमिफाइनलमा प्रवेश गर्याे । क्लबका कोषाध्यक्ष मनिक गाहामगरका अनुसार उक्त खेलबाट मणिमुकुन्दका गोलरक्षक पवन बुचा म्यान अफ द म्याच घोषित भए । निकै सँघर्षपूर्ण जीत निकालेको मणिमुकुन्दले भोलि हुने लुम्बिनी मेडिकल कलेल र सराई एफसीबीचको विजेता टिमसँग यही १७ गते भिड्नेछ । प्रतियोगिताको फाइनल २१ गते हुने आयोजकले जनाएको छ ।
काठमाडौं: बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनपसिपमा बङ्गलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बङ्गलादेश उपविजेतामा सीमित बनेको थियो । बङ्गलादेशको जितमा आजको खेलमा मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए । त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे । यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनपसिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ । नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनपसिपका नामबाट सुरुआत भएको उक्त च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो । उक्त च्याम्पियनपसिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । उक्त च्याम्पियनपसिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ । त्यसैगरी, सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनपसिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो । छैटौँ संस्करणको उक्त प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी, सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनपसिपको फाइनलमा स्थान बनाएका हुन् । यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताउनुभयो । यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “बङ्गलादेश एकदमै राम्रो टोली हो । हिजो भारतजस्तो बलियो टोलीलाई उसले हराएको छ । त्यसैले भोलि निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु ।” हिजो भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । त्यस्तै बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो । प्रशिक्षक हाकीले यसअघि समूह चरणको खेलमा नेपालसँग आफ्नो टोली पराजित भए पनि भोलिको खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।