काठमाडौं: नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।
काठमाडौं: सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका थिए । तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो । “नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।” कीर्तिपुरमा मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । “नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो । पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।” कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’ बढ्दो क्रिकेट क्रेज पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । यस्तो छ अन्य खेलहरूको टिकट मूल्य सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । सोमबार दुई खेल हुँदै आज भने कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।
सङ्खुवासभा: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मानित हुनुभएको छ । सङ्खुवासभामा शुभ बिहानी नमस्ते क्लबले आज भलिबल प्रशिक्षकसहित दुईजना राष्ट्रिय खेलाडी सम्मान गरेको हो । सदरमुकाम खाँदबारीमा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राई, राष्ट्रिय महिला भलिबल खेलाडी सुमित्रा रेग्मी र अन्डर–२० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा सम्मानित हुनुभएको शुभ बिहानी नमस्ते क्लबका अध्यक्ष खेम गुरागाईंले जानकारी दिनुभयो । क्लबले राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन खाँदबारी नगरपालिका–५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका–९ त्रिसुले निवासी राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मी र खाँदबारी नगरपालिका–८ पिप्लेकी अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मालाई सम्मान गरेको हो । भलिबल प्रशिक्षक राई, राष्ट्रिय खेलाडी रेग्मी, अन्डर २० राष्ट्रिय महिला भलिबल कप्तान विश्वकर्मा खाँदबारी नगरपालिका–५ माल्टामा यही मङ्सिर १२ गते भएको अन्तरपालिका महिला भलिबलमा सहभागी जनाउन गृह जिल्ला आउनुभएको हो ।
काठमाडौं: संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन् ।
काठमाडौं: नेपाल पहिलो पटक दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् । दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन । दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ । फाइनल खेल भने मङ्गलबार हुनेछ ।
काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पु¥याएको थियो । क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताउनुभयो । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको भनाइ उहाँको थियो । “भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भएरनभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ”, उहाँको भनाइ थियो ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोडे । यस क्रममा उनले ३३ बल खेल्दै दुई चौका प्रहार गरे । कप्तान अनिलकुमार साहले पाँच रनको योगदान दिए । आशिफ शेख शून्य रनमै पवेलियन फर्किए । बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाडी क्रिस सोले र प्रतिश जिसीले एकरएक विकेट लिए । विराटनगरले जनकपुर बोल्ट्सलाई २२ रन अतिरिक्त दिएको थियो । यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्धशतक पारी खेले । उनले ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलमे पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात÷सात रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष थाकरेले समान दुईरदुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक एक विकेट लिए ।
काठमाडौं: किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित हुनुभएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक बक्सिङ (एमएमए)द्वारा आज यहाँ आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता घिमिरेलाई विशेष सम्मान गर्नुभएको हो । बक्सर घिमिरेले किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाई विश्वमा नयाँ ‘रेकर्ड’ कायम गरेको जनाउँदै शुक्रबार धनबहादुर खेलकुद प्रतिष्ठानले अभिनन्दन गरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका उहाँ आफ्नो परिवारका साथ हाल जापानको नागोया सहरमा बसोबास गर्दै आउनुभएको छ । करिब छ वर्षपछि यही मङ्सिर ६ गते नेपाल आउनुभएका विश्वविजेता खेलाडी घिमिरेलाई चन्द्रागिरि नगरपालिकाले सोही दिन नगरपरिक्रमा गराई अभिनन्दन गरेको थियो । नगरपालिकाले कलङ्की ९खड्कुलेपुल०देखि धिमे, पञ्चेबाजासहित विश्वविजेता खेलाडी घिमिरेलाई गाडीमा राखेर नगरपरिक्रमा गराएको थियो । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रशासकीय अधिकृत हेमराज अर्याल, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गीले बक्सर घिमिरेलाई अभिनन्दन गर्नुभएको थियो । स्वदेश आउँदा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता खड्गी, काठमाडौ जिल्ला खेलकूद परिषद्का अध्यक्ष भाइकृष्ण बलामीलगायत खेलाडीले स्वागत गर्नुभएको थियो । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बन्नुभएको थियो । यो प्रतियोगितामा उहाँले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिनुभएको थियो । यो प्रशिक्षण लिने उहाँ पहिलो नेपाली बक्सरसमेत हुनुभएको थियो । इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिनुभएको थियो । ‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुनभएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुम्नुभएको थियो । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल हुनुभएको थियो । उहाँले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल हुनुभएको थियो । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ ।
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को उपाधि प्रतिभा माविले जितेको छ । १७ औं हिसान स्पोर्टस मिटमा समावेश चार खेलमा नै प्रतिभाले आफ्नो दह्रो उपस्थिति जनाउँदै सम्पन्न प्रतियोगिताको छात्र–छात्रा बास्केटबलमा प्रथम हुँदै ७–७ अङ्क, छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरी ७ अङ्क, ब्यामिन्टन र टेबुल टेनिसमा समग्रमा दोस्रो स्थानमा रहि ५–५ अङ्क प्राप्त गर्दै कुल ३१ अङ्कका साथ प्रतिभा च्याम्यिन बनेको हो । हिसान कास्की स्पोर्टस मिटको इतिहासमा हाल सम्मकै सर्वाधिक अङ्क प्रतिभाले प्राप्त गरेको छ । १५ औं र १६ औं हिसान स्पोर्टस मिटको समेत च्याम्पियन रहेको प्रतिभाले लगातार तेस्रो पटक च्याम्पियन हुँदै हिसान स्पोर्टस मिटको ट्रफिमा समेत कब्जा जमाएको छ । यस अघि ग्लोबल कलेजियट, न्यू ग्यालेक्सीले ट्रफीमा कब्जा जमाएका थिए । पोखरा रंगशालामा शुक्रबार सम्पन्न प्लस टु छात्र बास्केटबलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ५६–५० ले पराजित गरी पहिलो भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ४० मिनेट सम्म बराबरी खेलेका दुबै टिमले थपिएको चार मिनेटमा प्रतिभाले बाजी मार्न सफल रह्यो । यस्तै मनकामना माविले तेस्रो स्थान प्राप्त गरेको छ । मनकामनाले कास्की मोर्डनाइज्डलाई पराजित गरेको हो । छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका हाइएष्ट स्कोरर रविन गर्वुजा पुन बने भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाका ओमकार रकालले हात पारे । छात्रा बास्केटबलमा हाइएष्ट स्कोरर ग्लोबल कलेजियटकी आकृती बिक बनिन भने मष्ट भेलुएबल प्लेयरको ट्रफी प्रतिभाकी कुसुम बानियाँ बनेकी छन् । यता विश्वद्यिालय विङ छात्र बास्केटबलतर्फ लेक सिटी कलेज पहिलो र पोखरा कलेज अफ म्यानेमेन्ट दोस्रो भएका छन् भने तेस्रो स्थानमा लिंकन इन्टरनेशनल कलेज भएको छ । विश्वद्यिालय विङ छात्रा बास्केटबलमा लिकंनकी निवृती शर्मा हाइएष्ट स्कोरर तथा मष्ट भेलुएबल प्लेयर लेकसिटीकी प्रियङ्का थापा बन्न सफल भए । शुक्रबार नै सम्पन्न प्लस टु छात्र भलिबलमा प्रतिभा मावि पहिलो भएको छ । फाइनल खेलमा गुरुकल माविलाई २–१ सेटले पराजित गरेको छ । फाइनलमा २५–२१ ले पहिलो सेट गुमाएको प्रतिभाले दोस्रो र तेस्रो सेट २५–१७ र २५–१४ ले जित दर्ता गर्न सफल भयो । त्यसै गरी न्यू ग्यालेक्सीले सिर्जना माविलाई २५–१६ र २५–१९ ले पराजित गरी तेस्रो स्थान हात पारेको छ । यसै गरी प्लस टु छात्रातर्फ करुणानिधि फाउन्डेशनले गुरुकुल माविलाई २५–१४ र २५–१७ को सोझो सेटमा पाखा लगाउँदै पहिलो र दोस्रो स्थान हात पार्दा सिर्जनाले सगरमाथालाई २५–१७ र २५–१६ ले पराजित गरी तेस्रो भएको छ । प्रतियोगितामा छात्रतर्फ गुरुकुलका विबेक हमाल वेष्ट स्पाइकर, छात्रातर्फ गुरुकुलकी झरना छन्त्याल र उत्कृष्ट खेलाडीमा छात्रातर्फ केफकी धन कुमारी विक र प्रतिभाका लोबसन सुनार घोषित हुँदै ट्रफी हात पारे । यस्तै टेबुल टेनिस प्लस टु तर्फ सिर्जना मावि समग्रमा पहिलो स्थान हात पार्दा प्रतिभा दोस्रो र सगरमाथा तेस्रो भएको छ । त्यस्तै विश्वविद्यालय विङतर्फ पोखरा इन्जिनियरिङ कलेज पहिलो, इन्फर्मेटिक्स दोस्रो र लिंकन कलेज तेस्रो भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न भएको प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्याण्डले बाजी मारेको छ । समग्रमा मदरल्याण्डले माविले ७ अङ्क प्राप्त गर्दा प्रतिभा मावि दोस्रो हुँदै ५ र कास्की मोर्डनाइज्ड तेस्रो हुँदै ३ अङ्क हात पारेको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जानकारी दिए । त्यस्तै विश्ववद्यिालय विङतर्फ पोखरा लिंकन इन्टरनेशनल कलेज ७ अङ्का साथ पहिलो बन्दा पोखरा इन्जिनियरिङ कलेज ५ अङ्का साथ दोस्रो, इन्फर्मेटिक्स र पोखरा कलेज अफ म्यानेजमेन्ट ३–३ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरे । यस्तै छात्र प्लस टु सिंगल्समा प्रतिभाका विज्ञान भण्डारीले मदर ल्याण्डका दिप रानालाई २–१ को सेटमा पराजित गर्दा छात्रा सिंगल्समा केएमएकी प्रजु थापाले मदर ल्याण्डकी विशिष्ट केसीलाई २१–१६, २१–११ ले पाखा लगाइन् । छात्र सिंगल्समा मदर ल्याण्डका पृथक गुरुङ र प्रतिभाका सुमित सुनार र छात्रातर्फ सगरमाथाकी सदिक्षा खत्री र ग्लोबलकी प्रश्मिता खाँडले तेस्रो स्थान हात पारे प्लस टु छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र सुमित सुनारको जोडीले मदर ल्याण्डका दिप राना र पृथक रानाको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे । यस्तै छात्रातर्फ केएमएका प्रजु थापा र आइशा संग्रौलाको जोडीले मदरल्याण्डका विशिष्ट केसी र उपसना पौडेललाई २१–१५, १६–२१ र २१–७ ले पराजित गरेका छन् । त्यस्तै छात्र डबल्समा सगरमाथाका समिर र सुमन अधिकारीको जोडी रेन्वोका आइशा राना र किस्मत गुरुङको जोडी तथा छात्रातर्फ ज्योतीकुञ्जका सज्जा घले र आयुप्सा गुरुङको जोडी र ग्लोबलका शइन थापा मगर र प्राप्ती खड्काको जोडीले तेस्रो स्थान हात पारे । बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, प्रतियोगिताका संयोजक याम बहादुर रोक्का, हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा सहभागिता जनाएका थिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६६ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।