भैरहवा: बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ । एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ । विजयी टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घले आधिकारिकता प्रदान गरेको छभने प्राविधिक सहयोग रुपन्देही क्रिकेट सङ्घले गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एकअर्कासँग खेल्ने र अन्तिम चारमा पुगेका बीच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड २० लाख खर्च हुने आकलन गरिएको छ ।
काठमाडौं: सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
पोखरा: पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो । संघमा आबद्ध भएका क्लबहरुमात्र उक्त प्रतियोगितामा सहभागि कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए । उनले जिल्ला स्तरमा प्रतियोगिता हुँदा खेलाडी विकास हुने बताए । संघले ग्रासरुटस्तरमा खेलाडी विकास गर्ने योजनाका साथ प्रतियोगिता आयोजना गरेको उनले सुनाए । उनका अनुसार प्रतियोगिता नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रधानमन्त्री कपका लागि जिल्ला छनोटको रुपमा समेत रहेको छ । ‘यो पिएम कपको लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता समेत भएकाले संघमा आबद्ध क्लबहरु बिचमा मात्रै भएको हो । हाम्रो संघमा ९ क्लब दर्ता रहेका छन’ उनले भने, ‘यो खेलाडीहरुका लागि अवसर समेत हो । खेलाडीले राम्रो प्रदर्शनी गर्न सकेमा भोलि राष्ट्रिय टिममा समेत पर्ने सम्भावना रहन्छ ।’ एक दिवसीय क्रिकेट जिल्ला स्तरमा हुँदा खेलाडी विकासमा ठुलो टेवा पुग्नेमा आफु आशावादी रहेको उनी सुनाउछन् । प्रतियोगितामा सहभागि कुल ९ टिमलाई तीन समुहमा विभाजन गरिएको छ । समुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् । प्रतियोगिताको समुह विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् भने उपविजेता मध्येबाट एक टिम सर्वाधिक अंक ल्याउने वा रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता भोलिबाट सुरु भई १२ गतेसम्म सञ्चालन हुनेछ । सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब बिच उद्घाटन खेल हुने पुनले बताए ।
काठमाडौं: नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनामा जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन् । उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडाँै आइपुग्ने एन्फाले जनाएको छ । सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ । प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ रु तीन सय र भीआइपीतर्फ रु पाँच सय तोकिएको छ । त्यस्तै नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ रु पाँच सय र भीआईपीतर्फ रु एक हजार कायम गरिएको छ । यसैगरी प्रतियोगिताको खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।
पोखराको काँहुडाँडामा रहेको रिचमन्ड फेलोसिप पोखराले सोबर हाउस इन्टर रिहाब सिक्स ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी कात्तिक १ र २ गते, माछापोखरी खेलकुद मैदानमा “लागु पदार्थ होइन, स्वास्थ्यमा ध्यान दिउँ भन्ने मुल नारासहित प्रतियोगिता आयोजना गरिएको प्रदीप बस्नेतले जानकारी दिए । लागुऔषध तथा मादक पदार्थ उपचार केन्द्रमा रहेका उपचारार्थी, स्वयंसेवक र कर्मचारीहरु उक्त प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए । उनका अनुसार सो प्रतियोगिताको विजेतालाई च्याङ्ग्रा, शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ भने, उपविजेता टोलीले खसी शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा पोखरा भित्र रहेका १२ वटा लागुऔषध उपचार तथा सुधार केन्द्रहरुले सहभागिता जनाउने छन् । विगत वि.सं. २०५५ सालदेखि लागुपदार्थ र एचआइभीको क्षेत्रमा विभिन्न कार्यक्रम र सेवाहरु दिँदै आइरहेको रिचमन्ड फेलोसिप पोखराले लागुऔषध र मादकपदार्थ सम्बन्धि परामर्श र उपचार केन्द्र चलाइरहेको छ ।
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यसअघि नेपाललले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो । नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो । श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।
मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैँफर्टमा हुँदैछ । इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू भोलि जर्मनी प्रस्थान गर्नेछन् । टोलीलाई आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङ्फु सङ्घका महासचिव भूपेन्द्र गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताउनुभयो ।
काठमाडौं: कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३–२ ले हराउँदै उपाधि जितेको हो। अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो। अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो। पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो। १५–८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनी समय गुमाउन परेन। सहजै २५–१७ ले पहिलो सेट जित्यो। दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो। एक समय ९–१५ ले पछि परेको ललितपुरले खेललाई १८–२० सम्म पुर्यायो। तर यो सेट पनि २५–२० ले कर्णालीले जित्यो। खेलमा कर्णालीले २–० को स्पष्ट अग्रता बनायो। २–० पछि परेको कर्णालीलाई खेलमा फर्कन तेस्रो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप ललितपुरले सानदार प्रदर्शन गर्यो। ललितपुरले यो सेटमा भने सुरूवात देखि नै अग्रता बनायो। ललितपुरले २०–१० को अग्रता बनाउँदा कर्णालीले तालमेल नै मिलाउन सकेन। जहाँ २५–१२ ले तेस्रो सेट ललितपुरले जित्दै खेललाई २–१ को स्थितिमा पुर्यायो। ललितपुरले खेलमा फर्कने संकेत देखायो। चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो। बिना दबाब चौथो सेट २५–१८ ले जित्यो। योसँगै खेल २र२ को बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो। पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो। ५–५ को बराबरीबाट ललितपुर ११–९ को अग्रता बनायो। तर यो अग्रता तोडियो खेल ११–११ मा पुग्यो। यसपछि कर्णालीले १३–१२ को अग्रता बनायो। लगतै कर्णालीले अर्को अंक जोड्दै १४–१२ को स्कोरमा जित नजिक पुग्यो। तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४–१३ मा पुर्यायो। यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५–१३ ले पाँचौ सेट जित्दै उपाधि जित्यो।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क चगाडीमा भोलि असोज २० देखि २३ गतेसम्म हुने दशैं मेलाको तयारी पूरा भएको छ । माझखर्कस्थित शिव लेकाली जीवन ज्योति युवा क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित दशैं मेलाको तयारी पूरा भएको क्लबका अध्यक्ष मनबहादुर घतीमगरले जानकारी दिए । क्लबको २३ औं वार्षिकोत्सव एवम् दशैं मेलाको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला क्यारिमबोर्ड प्रतियोगिता, घैटोफोड प्रतियोगिता र म्युजिकल चियर प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेको उनले बताए । खुल्ला वडास्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले नगद ४० हजार उपविजेता हुने टिमले २० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भलिबल खेल संयोजक तेजिन्द्र रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा सहभागिता जनाउनका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिकाका ५ वडा र काठेखोला गाउँपालिकाको फापरखेत र गौश्वारा गाउँलाई मात्र समावेश गर्ने संयोजक रोकाले बताए । यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः १०, ६ र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला क्यारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः ७ र ३ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगिता र क्यारिमबोर्ड प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १/१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । खेलकुदको विकाससँगै सामाजिक कार्यमा क्रियाशिल क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिता आयोजना गर्ने निर्णय बमोजिम यस वर्ष पनि गाउँपालिकाका भित्रका वडालाई मात्र भलिबल प्रतियोगितामा सहभागिता गराउने कार्यक्रम संयोजक गोविन्द पुनले बताए । ‘खेलकुदको विकासँगै सामाजिक कार्यमा क्रियाशिल यस क्लबले ३/३ वर्षमा खुल्ला प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको छ’, संयोजक पुनले भने, ‘क्लबले दशै मेलामा आयोजना गर्ने कार्यक्रमबाट बचत भएको रकमले प्रजातन्त्र मावि र अमर प्राविका विद्यार्थीहरुलाई पुरस्कार प्रदान आएको छ, दशैमा मेलामा मात्र आयोजना नभएर सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छौं ।’