रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाण्डौको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण पुरानो थिमि हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ । यसैबीच व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । हिजो बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका प्रसाईं समूहले आज शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन । अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । तीनकुने क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज शुक्रवार बिहान पौने १० बजेतिर पौडेल मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न जानुभएको थियो । त्यही समयमा बाघको आक्रमणबाट उहाँको ज्यान गएको हो ।
सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ। बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो। जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पुर्याउनले जंगली बँदेललाई अनुमति विना नै पक्रन र मार्न पाइने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल पक्रन र मार्न सकिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। त्यसका लागि सरकारले केही सर्त भने राखेको छ। पहिलो, निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइन्छ। दोस्रो, पक्रिएका बँदेल सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र यसको सूचना सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत दिनुपर्नेछ। तेस्रो, धपाउने वा पक्रने क्रममा बँदेलको मृत्यु भएमा त्यस्ता बँदेललाई सम्बन्धित वडाको एक प्रतिनिधिसहित कम्तिमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का उठाइ गाड्नुपर्छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो । बाग्मती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भन्नुभयो, प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन् । उहाँका अनुसार प्रतिष्ठानमा गएको कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ । अध्यक्ष सापकोटाले भन्नुभयो, प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ । प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उहाँले बताउनुभयो । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ। प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताउनुभयो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन। प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ। प्रसाईंपक्षले शुक्रबारदेखि तिनकुनेमा प्रदर्शन गर्ने बताएको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नभएको ठाउँमा प्रदर्शन गरे कारबाही गर्ने बताएको छ। बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो।
सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गएको कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाएर आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । यस्तै, ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजीनामा दिनुभएको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव ४६५ मिलियन ९करिब ६५ करोड अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ ।
काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ । अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वषर्ीय मनोहर गौतम छन् ।
झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमान्ले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासलेसमेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आज बिहान स्थानीयवासीले उनीहरु मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । “दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान्–श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ”, उनले भने, “सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।” प्रनाउ रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, “शव परीक्षणका लागि पठाएका छौंँ । रिपोर्ट आएपछि पछि थप जानकारी आउँछ ।” सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको प्रनाउ रिजालले बताए । उनका अनुसार श्रीमान्–श्रीमती दुवैले मादकपदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरुका तीन छोराछोरी छन् । परीक्षणपछि मृतका दाजुले शव बुझ्ने प्रनाउ रिजालले जानकारी दिए ।