पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...

म्याग्दी:    गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् ।  शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।  धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो । “वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो”, उहाँले भन्नुभयो, “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।” दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन् ।  पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो ।  “पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्यूले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन । घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।” एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ ।  पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।

काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्।    सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।   घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्।   प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ। 

पर्सा: वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।   बालसुधार गृहको छतबाट गएको शुक्रवार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि हिजो छुट्टाछुटै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीमा रहेको सीमा नाकाबाट र यादवलाई सिरहामा रहेको सीमा नाकाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।    फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो।    बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा अहिले दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो ।

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।     आइतबार बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका- ३१ शान्तिनगरमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।उनका अनुसार बागमती पुल निर्माणका लागि बनाइएको खाल्डोमा बागमती प्रदेश ०२-०३९ प १९९७ नम्बरको मोटरसाइकल खसेको थियो।   नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर खाल्डोमा खसेको एसपी ढुंगेलले बताए। दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका(४ बस्ने २० वर्षीय चालक सरोज गुरूङ र मोटरसाइकल पछाडि बस्ने १७ वर्षीय सुशिल गुरूङ घाइते भएका थिए।   सरोजको दाहिने खुट्टा भाँचिएको छ। सुशिल भने गम्भीर घाइते भएका थिए। उनीहरू दुबै जनालाई सिभिल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ५ बजे सुशिलको मृत्यु भएको एसपी ढुंगेलले बताए।   एसपी ढुंगेलका अनुसार चालक सरोजले मापसे गरी मोटरसाइकल चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

पोखरा:   पर्वतको  कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३ सय मिटर तल मोदी किनारमा फेला परेको छ ।    जीपसँगै बेपत्ता भएका तीन जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का गोपालप्रसाद बस्यालको शव फेला परेको हो ।   जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई जना अझै बेपत्ता छन् ।    गएराती बागलुङदेखि पोखराका लागि छुटेको ग १ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो ।    जीप चालकलाई पर्वत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।   आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो ।   यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना राखिएका छन् ।   बाल गृहमा कारागार चलान गर्नुपर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्षका व्यक्तिसमेत बाल सुधार गृहमा भेटिएका छन् ।   मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृहजस्तो हुनु, सुधार गृहमा हुनुपर्ने आधारभूत सुविधा नहुनु, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ । गएको भदौदेखि देशका विभिन्न बाल सुधार गृहमा समस्या आइरहेको छ ।

ढोरपाटन:    बागलुङको तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।  सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उहाँको भनाइ थियो । तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहनुभएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ । घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताउनुभयो । सानैमा आमा गुमाउनुभएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाउनुभयो । अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाउनुभएको छ । घरमा हुँदा भोगेका दुःख, कष्टलाई दीपेन्द्रले भुल्न सक्नुभएको छैन । घरपरिवारमा हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहजरूपमा दैनिकी चलेको उहाँको भनाइ थियो ।  बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक  सामान समयमै पाउने गरेको विकले बताउनुभयो । “म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ, बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन । घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन”, उहाँले भन्नुभयो, “अहिले धेरै सुविधा पाएको छु । पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।” तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आउनुभएको छ । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर जानुभयो । बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आउनुभएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताउनुभयो । अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकी फेरिएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उहाँले बताउनुभयो ।  “घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नुपथ्र्यो, बाजे÷बज्यै बुढाबुढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्नथ्यो”, निताले भन्नुभयो, “अहिले त सधैँ स्कुल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्नथ्यो, अहिले राम्रो भएको छ, साथी पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ । स्कुल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।” बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भन्नुभयो, “बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।”  उहाँले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् ।  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उहाँको भनाइ थियो । पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।  “हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ, पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ, पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन् । अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौँ ।” बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ ।

नवलपरासी: नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवको ज्यान गएको हो ।    उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।   करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा ज्यानगएको हो । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

ताप्लेजुङ:  ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक ९घाँस० को जोहो गर्ने चटारो छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ।   ओलाङचुङ्गोलावासीले प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । चौँरी याक पालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छन् । त्यस क्षेत्रमा कसैले पनि  चरन गर्न पाउँदैन । संरक्षण गरेपछि हुर्किएको घाँसलाई यस दिन सबै परिवार मिलेर घाँस काट्ने गर्दछन् ।   पशुपालक सबै परिवार जुटेर घाँस काट्ने गरिएको र घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन् । राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने पर्ने स्थानीय बताउँछन् ।   हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरी पालन हो । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् । हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो ।    उहाँका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङचुङ्गोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताउनुभयो ।   स्थानीयले सामूहिकरुपमा घाँस सङ्कलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र अहिले त्यही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपुफुटी शेर्पाले बताउनुभयो । विगतदेखि नै ओलाङचुङ्गोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो ।    कुनै वर्ष हिमपातको मौसम लम्बिने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङचुङ्गोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताउनुभयो । मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङचुङ्गोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्दछन् । घाँस ९खुराक० नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा डेढ लाख रुपैयाँसम्म घाटा हुने स्थानीय बताउँछन् ।   साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ । अहिले ओलाङचुङ्गोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ रहेका छन् । यो गोठमा करिब साढे चार सय याकको सङ्ख्या रहेको स्थानीयले बताएका छन् ।   मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । उहाँका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजङ्गा गाउँपालिकाको याम्फुदी क्षेत्रका समुदाय याक पालनमै आत्मनिर्भर हुँदै आएका छन् ।