स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ ।   जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरे...

सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएको छ।    पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो ।​नोचामा रहेको छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।   महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते हुनुभएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।   सडक छेउमा रोकिराखेको बाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । 

काठमाडौं:   स्याङ्जाको चापाकोट नगरपालिका ७ साखर घर भएका प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिएका छन् ।    धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा ढकाल मृत फेला परेका हुन् ।   प्रकाश गायन तथा कलाकारितकाे क्षेत्रमा  सक्रिय थिए  ।   

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो ।   चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् ।   गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।   शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त हुनुभएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिनुभएको छ । गएको वर्षको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्तिको रुपमा उदाएको थियो ।

दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।    दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएकाे छ ।   उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएकाे हाे ।   यस्तै, अर्काे माेटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुकाे उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयाे । 

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।   डुमे दमका दीर्घरोगी पनि थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।   मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए। त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।   बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।

४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री एनपी साउदसँग आग्रह गरेका छन्।   काठमाडौं:  मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्।   ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो।’   भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापन पत्र पठाएका थिए।   भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने।   सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।   सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।   विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन। 

बैतडी : बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा दोगडाकेदार ३ गाउँपालिका  ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए। विष्टको घटनास्थलमै मृत्यु भएको हो।   कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से१ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधारनजिकै दुर्घटनामा परेको हो। कच्ची र उकालो सडकमा जिप नचड्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताए।   जिप उकालोमा नचड्दा पछाडि टायरमा ढुंगा हाल्न निस्केका अम्मरको जिपले किचेर मृत्यु भएको हो।   यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, ४ वर्षीय रियाग विष्ट,७  वर्षीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट ६० घाइते भएका छन्।   गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।    

धनगढी:  धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ ।   शुक्रबार राती १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो ।   भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ।   आगलागी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा ४० जना प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।   त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थलमा पुगेको थियो।   आगो निभाउन धनगढी–उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिए।   त्यस्तै  मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज र भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा पनि आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ। 

अछाम: अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।   कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र १००१ ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।   दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।   उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।