सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह मृत भेटिएका छन्। प्रअ साह विद्यालयभित्रै मृत भेटिएका हुन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार साह मृत भेटिएको प्रहरीले जनाएको छ। मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि खोजी गरिएको थियो। साहको शव विद्यालयमै फेला परेको हो। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् ।
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
नेपाल प्रहरीको साइबर ब्यूरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ। प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको बताए। ‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ । शनिबार राति १२ स् ३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चारजना सानिभेरी गाउँपालिका रुकुमका छन् । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए । घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका एकजना घाइतेलाई पनि आइतबार भेरीमै ल्याउने तयारी गरिएको पनि उनले बताए ।
पोखरा महानगरका–१५ नयाँ गाउँ नजिक सेती नदीको खोँचमा खसेका युवकलाई प्रहरीले निकालेको छ । शनिबार राति ७ः४५ बजेतिर नदी छेउमा धाँजा फाटेको ठाउँमा खसेका पर्वतको फलेवास–३ का १९ वर्षीय सुदीप विकलाई प्रहरीले निकालेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । सुदीप नयाँ गाउँमा दाइको घरमा बस्दै आउनुभएको थियो । उहाँको उद्धारका लागि वडा प्रहरी कार्यालय रामबजारबाट सात जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट छ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं। २४ गण कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो । टोलीले शनिबार राति १० बजे विकलाई उद्धार गरेको हो । शरीरमा सामान्य दधारिएकोबाहेक उहाँको स्वास्थ्य अवस्था सामान्य छ । विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रवार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालनमा आएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाइएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै, सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाइएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाइएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिनुभयो । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुको निस्शुल्क उपचार गर्ने निर्णय गरेको हो । तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुको लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौ लगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।