धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको हो। सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टी सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा मंगलबार पक्राउ परेका थिए। जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदीप चन्दका अनुसार बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। सोही क्रममा बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। उनको मृत्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अछाममा एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पञ्चदेवल विनायक नगरपालिका-८ बाराला बस्ने ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए। अछाममा छिमेकी १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएपछि उनी काठमाडौं भागेर आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदका अनुसार घटना कात्तिक ११ गते भएको हो। लक्ष्मी सुनारसहित ७ जनाले छिमेकी शाहीमाथि कुटपिट गरेको आरोप छ। ‘निजी रिसिइबीका कारण उनीहरूले युवकमाथि कुटपिट गरेका थिए। एक जनाले ढुंगाले कन्चटमा प्रहार गरेपछि गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक साउँदले भने। कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। मृतक परिवारले सुरूमा ७ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। उपचारको क्रममा उनको कात्तिक १६ गते मृत्यु भएको थियो। मृत्यु भएपछि सातै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो। नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए। सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्। आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन्। मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गर्नुभयो । उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उहाँले भन्नुभयो, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।” रासस
बाँके- बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गएको हो । कोहलपुरमा रहेको कृषि चोकमा बुधवार हिजो बेलुका ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाण्डौका लागि छुटेको ००१ ख २४३२ नम्बरको मालवाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई पोखरा नगर प्रहरीले हटाएको छ । फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेत गरेको छ । तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् । आगामी दिनमा पर्यटकीय नगरी पोखराको सुन्दरता कमी आउन नदिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका छन् । बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको जनगुनासो आएको थियो । यो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिनुभयो । पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रण गर्ने बताउनु भयो ।उहाँले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सीमित ठाउँ छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ । राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर नौ लाख आम्दानी लिइसकेको छु ।’ परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाइ नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत भएको दर्नाल बताउनुहुन्छ । किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको मलजल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरी बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाण्डौको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ । सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती शुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिँदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कट्ठा फूलखेती शुरु गरे पनि बिस्तारै बढाउँदै जाने उहाँको योजना छ । यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’ हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना तीनदेखि पाँच रुपैयाँसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँको अनुमान छ । सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट ४० हजार रुपैयाँ आम्दानी लिएका थिए । यस वर्ष एक कट्ठामा लगाएको फूलखेतीबाट १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी चार सय रुपैयाँमा फूल बिक्री गर्ने गर्छन् । यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ । फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती शुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ ।
सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । मगलवार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय जयप्रकाश पटेल घाइते हुनुभएको छ । उहाँहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो । मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिए । यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो । तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले उल्लेख गरेको छ । भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्याउनु आवश्यक रहेको समेत ग्रुपको भनाइ छ । यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको बताएको छ । स्थानीय प्रशासन÷स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने समूहको विज्ञप्तिमा उल्लेख छ । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवम् श्रमको व्यवस्थापन गर्नेछन् । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।