डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयकाअनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा भइरहेको पुष्प मेलामा कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घले र जावलाखेलमा फ्लोरिकल्चर एसोसिएशन नेपालले अस्ति मङ्गलवारदेखि मेला आयोजना गरेका हुन् । मेलामा अवलोकनकर्ताको भिड लागे पनि फूलको कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । यसपालि काठमाण्डौ उपत्यकामा दुई ठाउँमा पुष्प मेला भएको हो । फ्लोरिकल्चर एसोसिएशन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी नाम दिएको छ भने नर्सरी व्यवसायी सङ्घले तिहार फ्लोरा एक्सपो नाम दिएको छ । यसपालि दुईतिर प्रदर्शनी भएकाले पनि कारोबार सोचेजस्तो नभएको हुन सक्ने जावलाखेलमा प्रदर्शनी राखेका धनप्रसाद घिमिरेको भनाइ छ ।
झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते भएका छन्। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ९ मुक्तेश्वर चोकमा राज्यमन्त्री चढ्ने मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्। मंगलबार बेलुकी करिब ७ बजेतिर गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट बरहथवा नगरपालिका ५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका १० शंकरपुर का १९ वर्षीय अजय महतो घाइते रहेको प्रहरीले जनाएको छ। तीनै जना घाइतेको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक छ। दुर्घटनालगत्तै गाडी चालक फरार भएका थिए। चालकको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौँ कलंकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए। उनका अनुसार उनीहरुबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ। थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए।
एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने र त्यसले पशुहरुलाई हानि पुर्याउने भन्दै पशुहरुलाई नदिन भनिएको छ । पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका पशु र चराहरुलाई पनि असर गर्ने प्रतिवेदनमा उल्लेख छ । एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिन्छ । यस्तै पशुहरुमा बान्ता र पखाला पनि लाग्न सक्छ । एभोकाडोमा पाइने पर्सिनका कारण समस्या भएपछि उपचारको लागि अहिलेसम्म कुनै व्यवस्था नरहेकोले लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ । अध्ययन प्रतिवेदनमा पशुहरुलाई एभोकाडोको घाँस तथा फल खुवाउँदा पशुहरुबाट हुने उत्पादन घट्नुको साथै पशु मर्ने सम्म सम्भावना रहेकोले घाास नखुवाउनु नै उपयुक्त हुने पनि प्रतिवेदनमा भनिएको छ । नेपालका ग्रामिण भेगमा समेत एभोकाडो रोप्ने क्रम बढ्दै गएको छ । एभोकाडोको घाँस बाख्रा लगायत पशु चौपायले मन पराउने किसानहरु बताउँछन् ।
चिसो शुरु भए पनि डेङ्गीको जोखिम कायमै छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् । यो वर्ष अहिलेसम्म झण्डै ४४ हजार जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । डेङ्गीका कारण यसवर्ष अहिलेसम्म २० जनाको ज्यान गएको छ । चिसो शुरु हुन थाले पछि डेङ्गीको प्रकोप केही घट्न थाले पनि जोखिम कायमै रहेकाले सचेत हुन आवश्यक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यो महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम उच्च छ । यसपछि पनि सङ्क्रमण हुने सम्भावना भने रहन्छ । तर, अहिलेको तुलनामा जोखिम कम हुने उहाँले बताउनुभयो। डाक्टर दाहालका अनुसार अहिले कास्की, गोरखा, बाग्लुङ र तनहुँमा डेङ्गीका बिरामी बढेको तथ्याङ्क छ । यी जिल्लाको तुलनामा काठमाण्डौ उपत्यकामा सङ्क्रमित कम छन्, तर जोखिम भने उच्च छ । दशैँअघिको वर्षाका कारण पनि लामखुट्टे सक्रिय भइरहेको उहाँले बताउनुभयो । विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्ष डेङ्गी सङ्क्रमण थप भयावह बन्न सक्ने चेतावनी दिएका छन् । यसपालि कोशी प्रदेशको सुनसरीमा डेङ्गीको सङ्क्रमण तीव्र गतिमा फैलिएको थियो । डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण हो । यस्तै, डेङ्गी सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा सङ्क्रमण हुन्छ । डेङ्गीको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छ ।
कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो । गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन । इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका कारको बनावट बनाएर अनुसन्धान गर्ने क्रममा महिलालाई ठक्कर दिने कार पत्ता लागेको जानकारी दिए । उनकाअनुसार रूपन्देहीको तिलोतमा नगरपालिका-११ महुबारी बस्ने ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो । भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए । घटनापछि कञ्चनपुरको सीमावर्ती बजार वनबासामा कार मर्मत गरेर बुटवल फर्किएको पाइएको प्रहरीले जनाएको छ । पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए । कारसहित नियन्त्रणमा लिइएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ । डीएसपी बरालले राजमार्ग क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धानमा सहयोगी बनेको बताए तर सीसीटीभी क्यामेराबाट सवारी साधनको नम्बर र मानिसको हुलिया स्पष्ट नदेखिंदा केही समस्या हुने गरेको छ ।
जंगली च्याउँ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्। उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए।