सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने बताए । सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।
जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो। उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए।यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ। स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।
पोखरा: बागलुङको ढोरपाटन नगरपालिका नगरप्रमुख एवम् इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि फेसबुक मार्फत सम्पर्कमा आएका छन् । सहकारीका संस्थापक अध्यक्ष नेपालीले सार्वजनिक गरेको वक्तव्यमा आफुसँगै परिवारको सुरक्षा नभएका कारण बाहिर बस्न बाध्य भएको उल्लेख गरेका छन् । ‘सहकारी समस्यामा परेपछि बचत रकम फिर्ता गर्ने समय ६ महिना राखिएको थियो’, अध्यक्ष नेपालीले भनेका छन्, ‘केही बचतकर्ता हतियारसहित घरमा आएर म लगायत मेरो परिवारको ज्यान लिने धम्कीसहित ६ लाखको बचत भएका बचतकर्ताले ५ करोडको जग्गा पास गर्न दबाबदिएपछि केही समय बाहिर बस्न बाध्य भएको हुँ ।’ उनले ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सहकारीमा समय दिन नसक्दा बचतकताएले एकैचोटि बचतरकम फिर्ता माग्दा समस्या भएको दाबी गरेका छन् । सहकारीका अध्यक्ष नेपालीले संस्थाका केही कर्मचारीहरुले मनोमानी रुपमा कर्जा लगानी गरेर आफुमाथि दोष लगाएको आरोपसमेत लगाएका छन् । उनले सहकारी समस्यामा परेको केही दिनमा ६ महिनाभित्र आफ्नो सम्पत्ती बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएको अवगत गराएपनि ६ महिनापछि मात्र सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका हुन् । संस्थापक अध्यक्ष नेपालीले श्रीमतिसहित आफ्नो नाममा रहेको बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेको ४५ कित्ता मध्य बुर्तिबाङमा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरामा ३ वटा घर र काठमाडौंमा ६ वटा गरेर १८ वटा घर र ४४ वटा कित्ताहरुमा जग्गा भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । उनले सबै सम्पत्ती सहकारीबाट जोडेको भनेर नसोच्न समेत आग्रह गरेका छन् ।
ललितपुरको नागदहमा एक पुरूषको शव फेला फेला परेको छ। मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदह पोखरीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए। हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको शव फेला परेको प्रहरीले जनाएको छ। खड्गी मंसिर १ गतेदेखि सम्पर्कबिहीन थिए। नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो। शव पोष्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ।
नवलपुर: नवलपुरको कावासोती नगरपालिका – १६ पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्लाको कावासोती नगरपालिका –१६, पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँका हुन् । दुर्घटनामा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका –८ ,बस्ने २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको कानको शल्यक्रिया भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार दिउँसो कानको शल्यक्रिया गरिएको स्वकीय सचिव युवराज राईले जानकारी दिए। उनका अनुसार मन्त्री राईको कानमा समस्या देखिएको थियो। उनी आइतबार अस्पतालमा भएका थिए। ‘हिजो उहाँको कानमा कोक्लियर इम्प्लान्ट हालिएको छ। आज पोस्ट अपरेशन वार्डमा राखिएको छ। सम्भवतस् आज अपरेशन वार्डमा सारिन्छ,’ राईले भने।
चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डौ विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकी महिलाको साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।
रूकुम पश्चिममा २२ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्याइएको छ। जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।