तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

झापा:  झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।   सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका- ४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो।    डिएसपी रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल-४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो।   थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ। 

म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ।   गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगलवा गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्।म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ।   घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको विषय प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमर्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ।

मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई जना प्रहरी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।    पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा रसुवाको थुमनका एक जना बीच बाटोमै गायब गराएको आरोप उनीहरूमाथि लागेको छ ।मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय छिरिङ तामाङलाई थुमनबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा दुई जना सुरक्षाकर्मी पक्राउ परेका हुन् ।   सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका व्यक्ति बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी अहिलेलाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकोमा तोकिएको जनही छ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् ।   यस्तै मानिस बेपत्ता बनाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।   प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा गाडीको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटरसाइकलमा राखी धुञ्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भिरबाट भोटेकोसीतर्फ भागेर हाम फालेको प्रहरीको बयान रहेको बताइएको छ । पीडित तथा आफन्त शुभचिन्तक एवम् गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीका लागि सडक सङ्घर्षसमेत गरेका थिए ।   उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ठ प्रमाण र आधार नहुँदा लामो बहस र छलफलपछि ठहरेबमोजिम फैसला हुनेगरी अहिलेलाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिनुभयो ।   रसुवा जिल्ला अदालतले अहिलेसम्म गरेका आदेश तथा फैसला कुनै पनि विवादित नभएको र यस मुद्दालाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी अन्तिम फैसलामा जाने जानकारी दिँदै पहिलो चरणको आदेशमा नै अनावश्यक टीकाटिप्पणी गरी स्वतन्त्र न्यायालयको मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न आमनागरिकसमक्ष रसुवा जिल्ला अदालतले अनुरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधन स्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ ।   पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभा बैठकलाई आज आइतवार बालुवाटारमा सम्बोधन गर्दै उहाँले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउनुभयो ।   विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा प्रधानमन्त्रीले बधाई दिनुभयो । ‘विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्‍याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । आउँदा दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु’, प्रचण्डले भन्नुभयो ।   विश्वविद्यालयका उपकुलपतिले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् रजिस्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।   विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका क्षेत्रमा राष्ट्रको आवश्यकता एवम् अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यान केन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो ।   देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्नसक्ने चुनौती र समस्या समाधानका लागि सोच्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।   ‘विश्वविद्यालयले आफ्ना पाठ्यक्रममा दिगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ ।’   सैद्धान्तिक ज्ञान दिनेमात्र नभई विद्यार्थीलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यावहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, देशको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्नसक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।   ‘उच्च शिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान सीपको संरक्षण र उपयोग, पर्यटन प्रवर्द्धन र कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रयोगमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउनसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्दछ’, प्रधानमन्त्रीले भन्नुभयो ।   उहाँले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनका बारेमा समेत सुक्ष्म शोध अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने काममा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ छ ।

लागू औषध (ब्राउन सुगर) सहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।   गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो।   उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ। भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो। लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज रर बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन।   गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन् । उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ । चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ ।   प्रभावित क्षेत्रमा पहिलो चरण अन्तरगतको राहत वितरण सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले जनाएका छन् । यस्तै, अस्थायी आवास बनाउनका लागि पनि तयारी थालिएको जिल्ला प्रशासन कार्यालयको दाबी छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार अस्थायी आवासको निर्माणका लागि लाभग्राहीलाई रकम पठाउने तयारी भएको छ ।    अस्थायी अवासका लागि प्रभावितले पहिलो चरणमा २५ हजार रुपैयाँ पाउने छन् भने त्यसपछि थप २५ हजार रुपैयाँ पाउने छन् । स्थानीय सरकारले सिफारिस गरेर स्थानीय विपद् व्यवस्थापन समितिले अनुमोदन गरेपछि  भूकम्प प्रभावितले अस्थायी आवासका लागि रकम पाउने छन् ।

चितवनको माडीमा नेपालकै अग्लाे चक्रशीला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको चक्रशीला माडीको खैरहनीमा रहेकाे चक्रतीर्थ धाममा राखिएको हाे ।   १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशीला कुश्मा नगरपालिका–१ सहश्रधारामा रहेकाे कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो ।   याे शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताउनुभयो । उहाँले पर्वतबाट रथयात्रामार्फत चक्रशीला माडी ल्याइएको बताउनुभयो ।   नेपालमा कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उहाँले चक्रशीला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।    स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशीला स्थापना गरिएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिनुभयो । उहाँले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताउनुभयो । माडीमा एक दर्जनभन्दा बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् । 

रुपन्देहीमा जीप  र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।   बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ ।   काठमाण्डौको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण पुरानो थिमि हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।   यसैबीच व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । हिजो बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका प्रसाईं समूहले आज शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन ।   अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । तीनकुने क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ ।