पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।   पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुद...

ढोरपाटन:    एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ ।  गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ । मगर खाम भाषा आठार मगरातअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोलिन्छ । खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेसा हो । पहिले–पहिले लेकबेँसी र घाँसदाउरा गर्दा खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बूढापाका पछिल्लो समय भाषाको प्रयोग कम हुन थालेपछि चिन्तित बनेका छन् । कहिले र कसको पालादेखि यो भाषा बोल्न थालिएको भन्ने यकिन नभए पनि संरक्षण गर्नुपर्नेमा पाकापुस्ताको चासो छ । निसीखोला गाउँपालिकाले पाठ्यपुस्तक नै मगर खाम भाषामा बनाएर लागू गरे पनि यत्तिले मात्रै भाषा संरक्षण नहुने स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । दिनदिनै गाउँ छाडेर बजार झर्नेको सङ्ख्या ठूलो भएको जनाउँदै उनीहरूलाई गाउँ नरोकेसम्म भाषा संरक्षण गर्न चुनौती हुने उहाँको भनाइ छ । आफ्नै गाउँठाउँमा सेवा सुविधा र रोजगार सिर्जना गर्न सकेमात्रै खाम भाषा र परम्परा जोगाउन सकिने घर्तीमगरले बताउनुभयो । गाउँमा हुने सार्वजनिक कार्यक्रममा पहिले सबै खाम भाषा बोल्ने गरेकामा हिजोआज बोल्न छाडेको उहाँले गुनासो पोख्नुभयो । स–साना बालबालिकालाई हरेक परिवारले आफ्नो भाषा सिकाउन नसके, अबको एक दशकमा यस क्षेत्रमा कोही पनि खाम भाषा नबोल्ने स्थिति आउन सक्ने घर्तीमगरको भनाइ छ । “मैले ठूलै हुँदासम्म अहिले बोल्ने खस भाषा बोल्न जान्दैनथे, गाउँघर सबैतिर खाम भाषा बोल्थे, मैले पनि सानैदेखि त्यही बोलेको हुँदा ठूलै भएर जान्ने बुझ्ने हुँदासम्म अरु भाषा बोल्न आउँदैनथ्यो, तर अहिलेका केटाकेटीलाई खाम भाषा सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब सरकारले गाउँ छाडेर बजार जानेलाई यहीँ रोक्नुपर्छ नत्र हाम्रो भाषा, पहिचान गुम्छ, मलाई साह्रै चिन्ता लागेको छ, मैले गाउँमा हिँड्दा साना बालबालिकालाई भेट्दा पनि खाम भाषामै बोल्छु र बोल्न लगाउँछु, हरेक घर–घरमा खाम भाषा नै बोल्नुपर्ने व्यवस्था गर्नुपर्छ ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताउनुभयो । यस वर्षदेखि विद्यालयस्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागू गरेको उहाँको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने र गाउँघरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्तीमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “मगर खाम भाषा संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ, बूढापाकाले त पहिलेदेखि नै बोल्दै आउनुभएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ, गाउँमा बस्नेले त जसरी पनि भाषा बोल्ने गर्छन्, बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेलाई पनि भाषा संरक्षण गर्नतर्फ लाग्न आग्रह गरेका छौँ ।”  

म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ। गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो।   संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नको घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सङ्घको समपूरक कोषमार्फत ५० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु एक करोड लगानीमा २५ वटा घर निर्माण गरिनेछ।   उनले भने, ‘गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत घर बनाउन लागिएको हो।’ गाउँपालिका–१ देखि ७ मा रहेका लक्षित वर्ग, म्याग्दे गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम कार्यविधि २०८० को दफा ९३० अनुरुप मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको छ।   त्यसका लागि जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहित आवश्यक कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्नेछ।   कार्यविधिबमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायीरुपमा बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्ड छ । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।

मोरङ​:  जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ।  \   लेटाङ-३ का  ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो।   मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार  साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना  सामुदायिक वन क्षेत्रमा आज बिहान  हात्तीले  आक्रमण गरेको थियो। माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए।   हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो। एक साता अघि मात्रै सुनसरीको  इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो।

धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।   धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।    सोही नगरपालिकाको वडा नम्बर १ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।    इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 

पाल्पा:  पाल्पामा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।   पाल्पाको रिब्दीकोट गाउँपालिका – १ का २४ वर्षीय शिरबहादुर पालुङ्गेको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगुन्ध श्रेष्ठका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा पुर्‍याएलगत्तै चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए।   पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ स्थित सिजी कम्पनीको कम्पाउन्ड भित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिपर गएराति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।  

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए।   उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए।   ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ।  

पोखरा:    डा.कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज पुरस्कार घोषणा गरिएको हो । यसवर्षको अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माविका शिक्षक किशोरकुमार श्रेष्ठ, अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माविकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार रेडियोकर्मी अच्युत घिमिरेलाई प्रदान गर्ने निर्णय भएको संयोजक होमनाथ अर्यालले जानकारी दिए ।   पुरस्कारको राशि रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको राशि रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि रु. १० हजार रहेको छ । पुरस्कार बसन्तपञ्चमीका दिन प्रदान गरिनेछ । 

नवलपरासी:  बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् ।   कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।   मध्यविन्दु नगरपालिका–१० टाँडी बस्ने रुपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका हुनुभएको थियो । गम्भीर घाइते होमबहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो ।   प्रहरी चौकी अरुणखालाबाट खटिएको प्रहरीले रुपेशलाई पक्राउ गरेको हो । 

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।   शनिबार साँझ करिब ५ बजे बागमती नगरपालिका-४ पुरानो चौकी नजिकको सडकमा दुई मोटरसाइकल ठोक्किएको थियो।   सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियारका अनुसार प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किँदा प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकलको पछाडि रहेका व्यक्ति उछिट्टिएर सडकमा पछारिएका थिए। सडकमा पछारिएका ती व्यक्तिलाई मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले चेपेपछि घटनास्थलमै उनको मृत्यु भएको हो । ठोक्किएकोमध्ये बा २ ब ५७६६ नम्बरको मोटरसाइकल प्रहरीले चलाएको थियो। विपरीत दिसाबाट तीव्र गतिमा आएको अर्को मोटरसाइकलले प्रहरीले चलाएको मोटरसाइलकललाई ठक्कर दिएको डिएसपी पञ्जियारले जानकारी दिए।   उनका अनुसार दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको परिचय अहिलेसम्म खुलेको छैन। उनी चढेको मोटरसाइकलका चालक फरार रहेकाले मृतकको परिचय खुलाउन नसकिएकए डिएसपी पञ्जियारले जानकारी दिए। बसका चालक रौतहट चन्द्रपुरका रामहरी चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।