धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

झापा:    झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेर ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब १० वर्ष लगाएर उहाँले उक्त पुस्तक लेख्नुभएको हो ।  नेपालनिर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्नु भए पनि अहिले नेपालमा चार जात एक सय २४ वर्ण पुगिसकेको तिमिल्सिनाले जानकारी दिनुभयो । जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उहाँले बताउनुभयो । लोपोन्मुखदेखि बहुसङ्ख्यकसम्मका जातजातिको थर र उनीहरुको गोत्रका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । नेपालका विभिन्न भूभागमा रहेका मानिसको थर कसरी रहन गयो भन्ने विषयमा समेत पुस्तकमा संक्षिप्त चर्चा गरिएको लेखक तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार पुस्तकमा दुई खण्ड र १५ अध्याय छन् ।  पहिलो खण्डमा आठ वटा अध्याय छन् भने दोस्रो खण्डमा सात अध्याय छन् । पहिलो खण्डका आठ अध्यायमा ‘अ’ देखि ‘ह’सम्मको स्वरवर्णद्वारा उच्चारित थर उल्लेख छन् । त्यस्तै, दोस्रो खण्डमा ‘अ’ देखि ‘ह’सम्मको स्वरवर्णद्वारा उच्चारित गोत्र उल्लेख छन् । पहिलो खण्डमा उराउ, कत्युरी, करुवा, कागते, कुमाल, किसान, बातर, कुशबाडिया, कुसुण्डा, कुसुले, खटिक, देवकी, खडिया, गनगाई, गन्धर्व, गुरुङ, चमार, चिडिमार, चिन्तान, चेपाङ, चाइँ, छन्त्याल, छिन्तन, छैरोतन, जिरेल, जेरुङ, झाँगड, डुक्पा, डोम, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, तोक्पेगोला, तिलुङ, तिलुङा, थकाली, थामी, थारु, थुदाम, दनुवार, दराई, दर्जी, दमाई, दशनामी, दुरा, धानुक, धिमाललगायत जातजातिका थरको बारेमा उल्लेख गरिएको छ ।  चार सय ५६ पृष्ठको ‘नेपाल मण्डल’को मूल्य रू। चार सय ४५ छ । करिब एक दशक लगाएर पुस्तक निकालेको बताउँदै लेखक तिमिल्सिनाले भन्नुभयो, “पाठकका लागि  खुराकको रुपमा पुस्तक जानकारीमूलक छ । यसले नेपालको विभिन्न जातजातिको अवस्थितिबारे थाहा पाउन सकिन्छ ।” पछिल्लो पुस्तक पढ्ने क्रम घट्दै गएकाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लेखक तिमिल्सिनाले यस अघि नेपालको इतिहास समेटिएको पहिलो पुस्तक ‘नेपाल’ लेखिसक्नुभएको छ । जसमा तत्कालीन तीन हजार नौ सय १५ गाउँ विकास समितिको नामकरण के–कसरी भयो भन्ने उल्लेख छ । ‘नेपाल नेवारी’ पुस्तक प्रकाशोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

पोखरा:  लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।   पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता यस वर्ष २ लाख ४४ हजार ८ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशबराज बराललाई रकमको चेक हस्तान्तरण गरे ।   सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै सिग्देल आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।   लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।  कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले एकेडेमीका बारेमा जानकारी दिएका थिए ।   क्लबले सञ्चालन गरेको सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीमा हाल ८ जिल्लाका १४ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।   देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।   यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

पोखरा:    नेवा पुचः कास्कीको आयोजनामा पोखरामा ४० जना युवायुवतीहरुलाई धिमेनाच र धिमेबाजा बजाउने तालिम दिएको छ । करिव १५ दिनसम्म सञ्चालन भएको तालिममा पोखराका ४०जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।  तालिम सञ्चालन गर्न पोखरा महानगरपालिका–३ ले सहयोग गरेको थियो । यस्तै प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।  तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए ।  उनले पोखरामा भएका नेवा खल:, नेवा ल्याम्ह पुचः नेवा पत्रकार तथा  मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै जनप्रतिधि भएर संस्कृति जोगाउने विषयमा काम गर्न पाउँदा खुशी लागेको बताए । यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणको लागि युवाहरुलाई पोखरा मै पहिलो पटक धीमे नाचको तालिम दिईएको बताए । उनले नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको बताउँदै यस्ता नाचहरुलाई व्यावसायिकरण गर्नुपर्ने बताए । तालिम समापन कार्यक्रममा नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगिता बज्राचार्यले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन । उनले तालिममा धेरै कुरा सिकेपनि पर्याप्त नहुने बताउँदै आफ्ना टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यस्ता बाजागाजा र नृत्य प्रस्तृत गर्नुपर्नेमा जोड दिईन ।  

काठमाडौं:     पौडेल वंश महासंघको यही पुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहनुुभएको छ । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल(सुनसरी) रहनुभएको छ ।      त्यस्तै लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल(बाग्लुुङ) र सदस्यद्वयमा रिषीराम पौडेल(चितवन) र नेत्रप्रसाद पौडेल(झापा) रहनुुभएको छ । सदस्यहरूमा सुदुरपश्चिमबाट सुुशिला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लिलाकुुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल, गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा.डा.दुुर्गादत्त पौडेल, प्राडा.कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल हुनुहुुन्छ ।   त्यस्तै मधेश प्रदेशबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल हुनुहुन्छ । कोशी प्रदेशबाट रामकुुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार  पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल हुनुहुन्छ ।      बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नी पौडेल हुनुहुन्छ ।      निर्वाचनका लागि पुुरुषोत्तम पौडेलको संयोजकत्वमा अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।       नवनिर्वाचित अध्यक्ष हरिराम पौडेलले बन्धुहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । अधिवेशनले पौडेलहरू मूल मन्त्र “पौडेल थर, हाम्रो साझा घर” पारित गरेको छ ।      संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार प्रा.माधव अधिकारी प्रमुख अतिथिका रुपमा रहनुुभएको थियो । कार्यक्रममा स्वदेशी र विदेशी गरी ७५० जना प्रतिनिधि र पर्यबेक्षक सहभागी थिए । महाधिवशेनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय सहित बंशावली निर्माण एवम् कुलपूजा विधि सम्बन्धी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।  

पोखरा:    मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे । मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन गरिएको थियो । गठित मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजकमा हाल पोखरा निवासी ७५ वर्षीय वीरेन्द्रकुमार हिराचन थिए । संकलित शब्दहरुको नेपाली–अंग्रेजी शब्दकोष र ब्याकरण भाषा आयोगले प्रकाशन गरेको हो । लोकार्पण समारोहमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मार्फाली थकालीको लागि ती पुस्तक ऐतिहासिक दस्तावेज हो भने । संविधानसभा सदस्य समेत रहेका उनले भाषा कमजोर हुँदै गए कुनै पनि जातिको पहिचान नै हराउने हुँदा संरक्षण गर्नुपर्नेमा जोड दिए । २०७८ को जनगणनामा नेपालमा १२४ राष्ट्रभाषा सूचिकृत भएको जनाउँदै उनले भाषाको संरक्षणमा आयोगले पालिकासँग मिलेर पनि काम गर्न तयार रहेको बताए । त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसार्इंले भाषाको पुस्तान्तरण गर्दै जानुपर्ने सुझाव दिए । उनले कुनैको शब्द मिल्दैमा भाषा एउटै नहुने पनि जनाए । स्वागत मन्तव्य व्यक्त गर्दै मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले मार्फा थकालीका लागि यो दस्तावेज हो भने । कुनै पनि भाषाका लागि शब्द महत्वपूर्ण हुने बताउँदै उनले पुस्तककार दिन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । मार्फा थकाली समाजसेवा सदनका अध्यक्ष चन्द्र पन्नाचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षमेत रहेका संस्थाका वरिष्ठ सल्लाहकार राजेन्द्र लालचन, पूर्व अध्यक्ष ईश्वरलाल हिराचन, तीनगाउँले थकाली समाजका अध्यक्ष गणेश थकाली, साविक मार्फा गाविस अध्यक्ष मानबहादुर बिक लगायतले बोलेका थिए । कार्यक्रममा गोविन्द ज्वारचनले मार्फा थकाली भाषाको कविता सुनाए । कार्यक्रम संचालन सञ्चारकर्मी सुशील ज्वाराचनले गरेका थिए । 

पोखरा:   राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की (एन प्याव्सन) ले २५ औ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रम गरि मनाएको छ ।   रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ ।   यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज जोन र साहित्यको क्षेत्रबाट सरुभक्त रहेका छन् । उनीहरुलाई नगद २५ हजार सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।   रजत जयन्तीकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष स्थापना गरेको छ ।   उक्त अक्षयकोषको रकम एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संस्कृत मावि व्यवस्वस्थापन समितिका अध्यक्ष विष्णु अधिकारीलाई हस्तान्तरण गरे ।   उक्त अक्षयकोषको प्राप्त व्याजबाट त्यसै विद्यालयको विद्यार्थीलार्य छात्रवृत्ति प्रदान गरिने छ ।   एन प्याव्सनको उन्नयनमा महत्पूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसरी सम्मानितहुनेहरुमा संस्थापक अध्यक्ष महेश्वरप्रसाद वाटाजु, पूर्व अध्यक्षहरु वालगोपाल अमात्य, रामप्रसाद शर्मा र रामबहादुर मोची रहेका छन् ।   स्थापना वर्षका आधार यस वर्ष कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ ममोरियल स्कुल, सङ्गम बोर्डिङ स्कुल, लिटिल बेल्स स्कुललाई सम्मान गरिएको थियो ।   पूर्व परीक्षा संयोजक सम्मान तर्फ  हिमाल गुरुङ, रामचन्द्र भण्डारी, शिवदत्त तिवारी, प्रेमराज अधिकारी र विष्णुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।   पूर्व सहक्रियाकलाप प्रमुख तर्फ दिपक थापा, शिवदत्त तिवारी र राजु केसीलाई सम्मान गरिएको थियो ।   यसैगरी एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत एसईई परीक्षा २०७९ मा  उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी अल्फा एकेडेमीका आदेश भण्डारी, त्रिवेणी पब्लिक माविका कमल भुजेल र डायमन्ड मोडल स्कुलकी कृपा अधिकारीलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।   यो वर्ष देखि सम्मान शुरु गरेको एन प्याव्सन आवद्ध विद्यालय अन्तर्गत एस एल सी २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी कास्की मोर्डनाइज्ड एकेडेमीका शारोन गुरुङ,  आस्था गुरुङ र आयुष श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो ।   त्यस्तै सदस्य विद्यालय सागर मेमोरियल बोर्डिङलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।   एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालय कास्कीका कुलपति प्रा.डा. गणेशमान गुरुङले शिक्षा क्षेत्रमा लगानी गरेर निजि विद्यालयले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउने काम गरेको बताए । शिक्षाविद् जर्ज जोनले शिक्षको क्षेत्रमा निजि विद्यालयले गरेको योगदान अतुलनिय रहेको बताए । साहित्यकार सरुभक्तले साहित्यको विकास गर्न विद्यालय र शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए । एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले नेपाल सरकारलले निजि क्षेत्रका विद्यालय सञ्चालकलाई सधै हतोत्साहित गर्ने काम गरेको बताए । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, एन प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोची, कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ सचिव प्रेमराज अधिकारी विद्यार्थी कृपा अधिकारीले बोलेका थिए ।  

पोखरा:    पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।    साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।      कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित यस पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।      मन्दिर सहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उहाँले त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।      कार्यक्रमका सभापति एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीले यस संस्थाको विकासका लागि धेरै सामाजिक भावनाले भरिएका व्यक्तिहरूको साथ र सहयोग भएको बताउनुभयो् ।      संस्थाको दीगो सञ्चालनका लागि ‘मन्दिर एक अतिथि’ जस्ता अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।      कार्यक्रममा गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रधान, नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियार, भक्ति अधिकारी लगायतले सबैको साथ र सहयोगमा यस संस्थाको विकासमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।      उक्त अवसरमा काँग्रेस नेता मोहन प्रधानले राइस कुकर सहितका समाग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो भने विभिन्न योगदान गर्ने व्यक्तिलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।      राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव घनश्याम खनालले गर्नुभएको थियो भने स्वागत माधवशरण उपाध्यायले गर्नुभएको थियो ।