ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र रहेको एक टहरामा आगलागी भएको छ। मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार उक्त टहराभित्र कामदार बस्छन्। बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीको अनुमान छ। आगलागी भएको केहीबेरमा दमकल पुगेर नियन्त्रणमा लिइसकेको एसपी कार्कीले बताए।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। सो दुर्घटनामा परेर बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय राजेश डगौराको उपचार भइरहेको छ। यस्तै घाइते भएका भजनी नगरपालिका–५ का २६ वर्षीय वीरबहादुर चौधरी पनि उपचाररत छन्। घटनापछि दुबै मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए। पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए। प्रहरीका अनुसार अभियुक्तले गत मंसिर र २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए।
बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को बेटरले मुख्य प्रायोजकमा रही साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका अपरेटिङ अफिसर सन्नी रौनियारले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्रीहरु बिक्री गर्दै आइरहेको र ग्राहकको रोजाइमा पर्दै आइरहेको छ । पोखरा महोत्सवसंग दोश्रो पटक सहकार्य गर्न पाउदा आफुहरुको ब्यापारसंगै महोत्सव आयोजक युनाईटेड क्लबले गर्ने सामाजिक काममा समेत सहकार्य गरेर अगाडि बढ्न आफु तत्पर रहेको रौनियारको भनाइ रहेको थियो । युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बाह्रौँ संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीजसंग सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताउदै महोत्सवको माध्यामबाट उत्पादित सामग्रीहरुको प्रवर्द्धन गर्न आफुहरुले कुनै कसर बाँकी नराख्ने समेत बताए । महोत्सवबाटै सामाजिक काममा आफुहरु लागि परेको बताउदै सामाजिक काममा रवि एण्ड सन्नी इन्डष्ट्रीजको पनि साथ रहदा आफुहरु निकै उत्साहित भएको बताए । महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ। युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ । हालसम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लबले ५८ लाख ८५ हजार रुपैयाँ प्रदान गरिसकेको छ । युनाइटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सामाजिक काम अन्तर्गत सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागि पहलकदमी गर्दै रकम छुट्याउदै आएको छभने बाह्रौँ पोखरा महोत्सवदेखी युनाइटेड क्लबको आफ्नै जग्गा रहेको लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्राबास निर्माणका लागी समेत रकम छुट्याइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।
कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(२ की ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् । चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।
स्कुल बसले चेपेर रुपन्देहीको गैंडहवामा एक बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कंचन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले बालिकालाई चेपेको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्। विद्यार्थी लिएर झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गईरहेको बसको मुनी छिरेकी नारियालाई सोही बसको टायरले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउँदा दुर्घटना भएको बताए। दुर्घटनामा परी बालिकाको घटनास्थलमै मृत्यु भएको र प्रहरीले स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ। यसअघि गत मंसिर १६ गते शनिबार गैंडहवा गाउँपालिका सुर्यपुरामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको थियो।
मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाण्डौमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिवार विमानस्थलबाट पक्राउ गरेको हो । साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो । मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाण्डौ प्रहरीले जनाएको छ ।
नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। नवलपरासी ९बर्दघाट(सुस्तापश्चिम०को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए। अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए। उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए।