पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् । रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको सुनाउँछन् । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको उनले स्मरण गरे । रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष उनी हाल रोटरी डिष्ट्रिक्ट ३२९२ का मेम्बरसिप कमिटी चेयरपर्सन छन् । सिग्देलले भने, ‘यसपालि सबै रोटरी क्लबहरु सामाजिक कार्यका लागि हातेमालो गरेका हौं । आगामी दिनमा पनि सामाजिक कार्य केन्द्रित गरी कार्निभललाई निरन्तरता दिनेछौं ।’ यसपालि करिब ४ लाख रुपैयाँ बचाउने आयोजकको लक्ष्य छ । उक्त रकममा हरेक क्लबले रकम थपेर जाजरकोट भूकम्पपीडितको लागि नयाँ प्रोजेक्ट गर्ने योजना रहेको सिग्देलले स्पष्ट पारे । कार्यक्रममा यस क्षेत्रमा बाहुल्य गुरुङ, नेवार लगायत समुदायको नाच तथा विविध संस्कृतिसमेत प्रस्तुत हुनेछ । त्यहाँका करिब १० रेष्टुरेन्टले विभिन्न प्रकारका खानाका परिकार पस्किनेछन् । प्रवेशका लागि प्रतिव्यक्ति १ हजार लाग्नेछ । तर, उक्त रकम बराबरको खानाको परिकार रोजेको रेष्टुरेन्टबाट खान पाइने व्यवस्था मिलाइएको छ । मार्किङ गरिएका रेष्टुरेन्टलाई दिइने छुटवापतको रकम नै बचत हुने कार्यक्रम संयोजक एवं रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले बताए । कार्निभलले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने उनको विश्वास छ । उनका अनुसार यो एकप्रकारको सडक महोत्सव हो । क्याथोलिकमा यसलाई आनन्द उत्सवको रुपमा लिइन्छ । खासगरि ब्राजिलमा यो बढी प्रचलनमा छ । कानिर्भलमा करिब ८ सयदेखि ९ सय मानिसको सहभागिता हुने अनुमान छ । उक्त दिनको कार्यक्रम दिउँसोदेखि सुरु भइ राति साढे १० बजेसम्म चल्नेछ । पोखरामा हाल रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।
म्याग्दी: म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो । “यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उहाँले भन्नुभयो । बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन । तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ । गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो । पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । तीनजना चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् । सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौको न्युरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिनुभयो । आज बिहान जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७-१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’ परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।
चिकित्सा क्षेत्र सुधारका लागि आफूहरूले गरेको मागको सुनुवाइ नभएको भन्दै डाक्टर गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह गर्ने जनाएका हुन्। केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन्। ‘सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, सय शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरू गर्ने लगायतका सम्झौता भएका थिए,’ केसीले भनेका छन्, ‘ती कार्यान्वयन नभएकाले फेरि सत्याग्रह सुरू गर्न परेको हो।’
महिनादेखि बेपत्ता रहेका एक जना पुरूष मृत फेला परेका छन्। काभ्रे पनौती नगरपालिका वडा नम्बर ५ चौकोट जंगलमा बिहीबार दिउँसो एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्थानीयहरू घाँस दाउरा काट्न जानेक्रममा पहिचान नखुलेका पुरूषको शव फेला परेको हो। अस्थिपञ्जरसहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेको थियो। यसक्रममा प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिहरूको परिवारलाई बोलाएको थियो। मोबाइल, लुगा र घडीमार्फत मृतक पनौती नगरपालिका-६ बस्ने ५२ वर्षीय रामशरण हुमागाईं भएको भन्ने आफन्तले पहिचान गरेका थिए। डिएसपी श्रेष्ठका अनुसार उनी विगत ६ महिनादेखि बेपत्ता थिए। उनको मृत्यु कसरी भएको भन्नेबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ।
चौध महिना अगाडि २०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो। बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौं मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ भने उनका पति दानकाजी विगत चारदिनदेखि जगातीस्थित प्रहरी बृत्तको हिरासतमा छन्। मृतक शाक्यका बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ। गत आइतबार राति खाना खाएरसँंगै सुतेकी मायादेवी बिहान ओछ्यानमै मृत्यु फेला परेकी थिइन्। सँगै सुतेकी श्रीमतीको राति कतिबजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ। सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराए पनि खाना खाएर सँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउँछन्। सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुदैन, यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भवितव्य नभइ हत्या नै भएको भक्तबहादुर बताउँछन्। मृतकका बहिनीज्वाइँ कृष्ण गोसाईंले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उनको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजेभित्रै हत्या भएको आशङ्का भएकोे बताउँछन्। ‘हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्यौं, रिपोर्ट पनि हेर्यौं, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नुभएको छ, हामी न्याय चाहन्छौं प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउदैनौं,’ उनले भने। िमृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने उनी बताउँछन्। भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताए। ‘घटना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने मृतकको माइतीपक्षले भने घट्नाको वास्तबिकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन्।
भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको छ । गाउँमा झाडापखाला देखिएपछि बालबालिका र वृद्धावृद्धा अलि धेरै जोखिममा छन् । उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताउनुभयो । घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय जनाभन्दा धेरै घरधुरी रहेका ती गाउँमा धेरैजसोलाई चिसोले सताएको छ। आफू दुई दिनदेखि पखालाले थला परेको र छ वर्षको छोरालाई पनि पखाला लागेको स्थानीय धर्मशीला विकले बताउनुभयो । नजिकमा स्वास्थ्य संस्था नहुँदा बिरामीको उपचारमा समस्या परेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार हिजो दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको जानकारी आएको र अलि विकट ठाउँ हुनाले तत्काल जान नसकेको बताउनुभएको छ । आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पुग्ने पनि डा. भारतीले बताउनुभयो ।
तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्। तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्। उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्। ‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ ।’ छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्। वली परिवारले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा छोरा हराएको भन्दै खोजी गरिदिन आग्रहका साथ निवेदन दिएको छ । इप्रकाका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिउँसो अभिभावक आएर छोरा खोजी गरिदिन भन्दै निवेदन दिएको बताए।