धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । यस्तै, गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले जनधनमा क्षति पुर्याएको छ । नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र अन्तर्गत पर्ने भएकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस सरकारका प्रतिनिधिहरूबिच छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका सङ्घीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टिमले संविधानमा व्यवस्था भए बमोजिमका सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। भेटमा उहाँहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू सङ्घर्षमा जाने बताउनुभएको थियो।जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै सङ्घीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो। सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको सङ्घर्ष र पहल तपाईँहरूले देख्नुभएकै छ। अहिले पनि सङ्घीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु। तपाईँहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ। तपाईँहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाऊँ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सरकारले सङ्घीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ। तर, त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। त्यसका लागिसमेत तपाई–हाम्रो संयुक्त पहल जरुरी छ। त्यसैले अहिले सङ्घर्षका कार्यक्रमलाई थाँती राखेर थप पहलमा केन्द्रित होऔँ।’’
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो। मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए।
काठमाण्डौ – काठमाण्डौको नागढुङ्गामा गाडीमा लुकाएर ल्याएको दुई किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाण्डौ आउँदै गरेको गाडीमा सुन फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, त्यसै ठाउँका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
विराटनगरमा क्षुद्र ग्रह खोज तालिम शुरु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो), विराटनगर महानगरपालिका, खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा तालिम शुरु भएको हो । तालिममा विराटनगरका शिक्षक तथा विद्यार्थी सहभागी भएका छन् । पछिल्लो समय खगोल विज्ञानको अध्ययन र अनुसन्धानमा विद्यार्थीको रूचि बढ्दै गएको छ । हिजो बिहीवारदेखि शुरु भएको तालिम आज शुक्रवार सकिने छ ।
पोखरा: तमु धिं नेपालले बोन म्यारोको उपचारत २५ वर्षिय इसाक तामाङलाई १ लाख रुपैया सहयोग गरेको छ । धादिङबाट पोखरा आई पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा बस्दै आउनुभएका तामाङ एक वर्ष अघिदेखि बोन म्यारोको उपचारको क्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित “मे.जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष”को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो । पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विरामी इसाक तामाङलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि १ लाख रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो । कोष संस्थापक समाजसेवी मेजरनी रुपकुमारी गुरुङले उपचार रकम हस्तान्तरण गर्नुहुदै शिघ्र स्वास्थ्यलाभको शुभआशिष व्यक्त गर्नुभएको थियो । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले अक्षयकोष स्थापना, अक्षयकोषको उद्धेश्यका बारेमा जानकारीका साथै सहयोगका लागि अवगत गराउनुहुदै युवा अवस्थाका विरामी इसाक तामाङलाई उच्च भावना बनाउन आग्रह गर्नुभयो। उहाँले उपचार सहयोगका लागि संयोजन गर्नुभएकोमा जनप्रतिनिधी वडा नं.१ का वडा सदस्य शोभा गुरुङलाई धन्यवाद व्यक्त गर्नुभयो । कसेरी टोल विकासका अध्यक्ष तोरन लामाले आफ्नो बस्तीमा आएर विरामीको उपचारका लागि सहयोग गर्ने तमु धिं नेपाल र कोषदातालाई धन्यवाद व्यक्त गर्नुभयो । वडा सदस्य शोभा गुरुङले उपचारका लागि सहयोगको हात फैलाईरहका इसाक तामाङलाई तमु धिं नेपालको सहयोग अत्यन्तै सह्रानीय भएको भन्दै तमु धिं नेपाललाई धन्यवाद र तामाङ शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ, सहकोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नं.१ का वडा सदस्य शोभा गुरुङ, सिमपानी तमु समाजका कार्यवाहक अध्यक्ष चेकबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ इकाई समिति कसेरीका अध्यक्ष बीरबहादुर तामाङ, युवा क्लव, टोल विकास लगायत संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । आर्थिक अवस्था कमजोरीका कारण उपचारमा समस्यामा परेका बिरामीहरुको उपचार सहयोगार्थ समाजसेवी मेजरनी रुपकुमारी गुरुङले तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्वास्थ्योपचार कोष स्थापना गरिदिनुभएको छ, उक्त कोषको व्याजबाट स्वास्थ्योपचारका लागि तमु धिं नेपालले सहयोग गर्दै आइरहेको छ ।
पोखरा: १२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुष २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । जसमा कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमितिमा सुक बहादुर गुरुङ, सचिवालय ब्यवस्थापन उपसमितिमा लोक बहादुर थापा, सांस्कृतिक ब्यवस्थापन उपसमितिमा गणेश तिमिल्सिना, अनुगमन ब्यवस्थापन उपसमितिमा शान्त बहादुर थापा चयन भएका छन । त्यसैगरी प्रचार प्रसार उपसमितिमा दिनेश सुनार, अर्थ ब्यवस्थापन उपसमितिमा सूर्य बहादुर बानियाँ, प्रायोजक व्यवस्थापन उपसमितिमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमितिमा सीमा गुरुङ, मायाको चिनो ब्यवस्थापन उपसमितिमा सन्तोष कार्की, झांकी ¥याली व्यवस्थापन उपसमितिमा विष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमितिमा जयराम आचार्य, स्वयंसेवक ब्यवस्थापन उपसमितिमा पूर्ण कुमार श्रेष्ठ, प्रकाशन तथा मुद्रण ब्यवस्थापन उपसमितिमा दिवानी सुवेदी, ब्यानर ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली, सुरक्षा ब्यवस्थापन उपसमितिमा शिव थापा, फोहोर तथा खानेपानी ब्यवस्थापन उपसमितिमा पदम कार्की, खाना खाजा ब्यवस्थापन उपसमितिमा शान्ति सुवेदी, मुल्यांकन उपसमितिमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमितिमा लिलाधर अधिकारी, यातायाता ब्यवस्थापन उपसमितिमा रमेश बहादुर कार्कीलाई चयन गरेको छ । त्यसैगरी पर्यटन प्रवद्र्धन उपसमितिमा श्यामकृष्ण श्रेष्ठ, ट्राफिक व्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, विद्युत ब्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, स्वास्थ्य व्यवस्थापनमा नरहरी पनेरु, पार्किङ ब्यवस्थापन उपसमितिमा राम थापा, पृष्ठपोषण व्यवस्थापन उपसमितिमा रिम बहादुर क्षेत्री, मुलद्धार व्यवस्थापन उपसमितिमा चन्द्र थापा, विद्युतिय सुरक्षा उपसमितिमा राजेन्द्र तिवारी, बीमा व्यवस्थापन उपसमितमा गणेश बहादुर खड्का, मिडिया कोअडिनेटर गिता राना र कार्यालय सचिवमा रेजिना खत्रीलाई संयोजकमा चयन गरेको छ । त्यसैगरी १२ औं पोखरा महोत्सवको सल्लाहकारहरुमा राजेन्द्र थापा, सेती थापा, सम्मर बहादुर श्रेष्ठ, क्याप्टेन फत्ते बहादुर गुरुङ, पवित्रादेवी गुरुङ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, लिला बहादुर जिसी, पो. म.न.पा. वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला, पो.म.न.पा. वडा नं १० का अध्यक्ष राजेश गुरुङ, पो.म.न.पा. वडा नं १३ का अध्यक्ष किरण बराल, पो.म.न.पा. वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँ, पो.म.न.पा. वडा नम्बर १४ का अध्यक्ष वोधराज कार्की, पो.म.न.पा. वडा नम्बर ११ का अध्यक्ष प्रेम कर्माचार्य, टिका बहादुर कार्की, राजेन्द्र बहादुर कार्की, गोपाल गुरुङ, कृष्ण कोइराला, राजकुमार गुरुङ, दिपक थापा, मिन गुरुङ, सुनिल गुरुङ, भरत केसी, कृष्ण कुमारी थापा, जस बहादुर गुरुङ, दया बराल, यम बहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिव बहादुर वराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्ण बहादुर थापा, ओम सुवेदी र निलकण्ठ पोख्रेल चयन भएका छन ।
स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय स्तरमा उत्पादन गरिने मदिरालाई ब्राण्डिङ गर्ने तयारी थालेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले बताए । ‘नगरको आर्थिक वृद्धिका लागि घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्य सुरु गर्न लागेका हौं,’ उनले भने । लोकल रक्सीलाई ब्राण्डिङ गरेसँगै नगरपालिकाको करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिक आत्मनिर्भर हुने उनको भनाई छ । राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने उपप्रमुख कविता तिवारी गैह्रेको भनाइ छ । यसबाट पालिका भित्रका १ हजार ५ सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सिपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताइन् । मङ्गलबार बसेको छलफलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र विज्ञहरुको सहभागिता थियो । पालिकाले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ । यो खबर आजको गोरखापत्रमा लेखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गएको साउनमा नियन्त्रणमा लिइएको थियो । कसराको खोरमा चारव टा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै गएको वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको १० वर्षको भाले बाघ पनि सौराहामै छ । तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गएको भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुई वर्षअघि ल्याइएको नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइएको १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन । निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । त्यही ठाउँमा बाघ राख्नका लागि दुई वटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ । हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।