पोखरा: म्याक्सन फोर डि स्टुडियोको चौथो प्रस्तुती मगर कथानक चलचित्र ‘मिसार’ पोखरामा दोस्रो पटक प्रदर्शन गरिएको छ । पोखराको बाराही हलमा शनिबार मगर कथानक चलचित्र ‘मिसार’ दोस्रो पटक प्रदर्शन गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए । ‘म्याक्सन फोर डि स्टुडियो चौथो प्रस्तुती मगर कथानक चलचित्र मिसार गण्डकी प्रदेशको विभिन्न जिल्ला र स्थानमा प्रदर्शन गरेका छौं’, निर्देशक मगरले भने, ‘पोखरामा हामीले पहिले पनि प्रदर्शन गरेका थियौं, अहिले नेपाल मगर संघ कास्कीको समन्वयमा पुनः प्रर्दशन गरेका हौं ।’ उनले मिसार चलचित्रमा मगर समुदायको कला, संस्कृति, भेषभुषासँगै शिक्षा र व्यवसायलाई समेटेको बताए । यता मगर चलचित्र संघका केन्द्रिय अध्यक्ष रहेका भिम रानामगरले मगर कथामा आधारित चलचित्रलाई अन्य चलचित्र जस्तै प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको बताए । ‘जति पनि मगर कथामा आधारित चलचित्र बनेका छन्, सबै मगर समुदायमा मात्र केन्द्रित भएर प्रचारप्रसार गरिएको छ’, रानामगरले भने, ‘अन्य चलचित्र जस्तै सबै समुदायमा सम्म पुग्ने गरी चलचित्रको प्रसारप्रचार गर्न आवश्यक छ ।’ उनले मगर चलचित्रलाई नेपाली चलचित्रलाई जस्तै गरी प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे । ‘मगर समुदायमा आधारित चलचित्र भएपनि मेन स्ट्रिमको चलचित्रलाई जस्तै गरेर प्रमोसन गर्न आवश्यक देखिएको छ,’ उनले भने । चलचित्र मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर बहादुर पिठा मगर ‘सन्तोष पिठाकोटे’ ले गरेका हुन् । मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् । कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहेका छन् । त्यसैगरी कोट बहादुर बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि अभिनय देख्न सकिन्छ । यस्तै कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् । नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ मिक्सिङ र डबिङ रहेको छ । चलचित्र निर्माण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङी ब्रोदर्स हङकङ, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गरेका हुन ।
तनहुँ: म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित ठुलो पहिरोमा आज बिहान ४: ४० बजे बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीगन्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा बसका चालकसहित बसमा सवार यात्रुहरुमध्ये ३२ जना घाइते भएका हुन् । तनहुँ प्रहरीका अनुसार घाइतेहरुको गण्डकी अस्पताल पोखरा र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
काठमाडौं: जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।
पोखरा: साहित्यकार गोपाल बैद्य किञ्जललाई वि.स. २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । यसै गरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको लेखनाथ पत्रकारिता पुरस्कार समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान गरेकामा कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई पुरस्कार अर्पण गरिएको थियो । २०६४देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् । लेखनाथ पत्रकारिता पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना , बशन्त अधिकारी, वासुदेव पौडेल र परशुराम शर्मा , भीमपाणि बराल र सरिता तिमिल्सेना सम्मानित भईसकेका छन् । । कार्यक्रमका अवसरमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित कुन्तिदेवी पुरस्कार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ थियो । लेखनाथ प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार, कविशिरोमणिको १४० औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका अवसरमापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गरेका थिए । पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै साहित्यमा लाग्न थप पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषबल्लभ पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष विनोद श्रेष्ठ,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल , लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटालगायतले सम्बोधन गरेका थिए । लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
पोखरा: ‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एकदिने तालिम सम्पन्न गरेको छ । समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको हो । समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम आयोजना गरेको जानकारी दिए । उनका अनुसार सो तालिममा धिरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्थाबारे, सिर्जना थापामगर र श्याम चौहान मगरले नेतृत्व तथा व्यक्तित्व विकास र पत्रकार सुशान्त गाहामगरले उद्घोषणबारे तालिम दिएका थिए । ‘यो तालिमको अवधि छोटो भएपनि निकै महत्वपूर्ण रह्यो, समाजका अध्यक्ष सारु मगरले भने, ‘आगामी दिनमा अझै यसलाई व्यापकता गर्ने लक्ष्य लिएका छौ । साथै महिलाहरुलाई उद्यमशिलतामा कसरी जोड्ने भन्नेबारे पनि तालिम दिनेछौं ।’ सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कविराम थापामगरले सकरात्मक तथा रचनात्मक कार्यक्रम गरेको बताउदै प्रशंसा गरे । उनले आगामी दिनमासमेत यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । ‘यो कार्यक्रम निकै फलदायी बनेको छ । यसले हाम्रो समाजका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न निकै टेवा पुर्याएको छ, थापा मगरले भने, ‘त्यसैले आगामी दिनमा पनि यस्तो खालको कार्यक्रमले निरन्तरता पाओस् भन्ने मेरो शुभेच्छा छ ।’ कार्यक्रममा समाजमा आबद्ध करिब ५० जनाको सहभागिता रहेको थियो । समाजका अध्यक्ष किरण सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोनी थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तिलक बराल मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार तमु ल्होसार पर्व मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ । आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ ।
पोखरा: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (क्वेर समुदाय)ले नागरिकता मुद्दा विषयमा जनप्रतिनिधि र सरोकारवाला निकायसँग गण्डकी प्रदेश स्तरिय नीतिगत संवाद तथा अन्तरक्रिया गरेको छ । निल हिरा समाजको आयोजना र युएनडिपी अन्तरगतको द स्केल इनिसिएटिभ ९त्जभ क्अबभि क्ष्लष्तष्बतष्खभ, ग्ल्म्ए० को सहयोगमा आज (शुक्रबार) पोखरामा सरोकारवालाहरुसँग नागरिकता विषयमा संवाद तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुमिका श्रेष्ठले लैङ्गिक पहिचान, समुदायको परिभाषा, समाजको बुझाईलगाएतको विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति पनि अरु नागरिक सरह स्वतन्त्ररुपमा जीवनयापन गर्न पाउने अधिकारलाई साथ दिन उनले आग्रह गरिन् । समाजमा नकारात्मक बुझाईका कारण समुदायका धेरै व्यक्तिले दुःख पाउनु परेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय समाजले समुदायलाई हेर्ने नजरमा केही सकारात्मक परिवर्तन आएको बताउँदै राज्यस्तरबाटै उचित नीति नियम आवश्यक रहेको उनको भनाई थियो । त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नागरिकता तथा पहिचानको मुद्दा विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नागरिकता प्राप्ती गर्न निकै झन्झटीलो प्रावधान रहेको उनले बताइन् । साथै लैङ्गिक पहिचान सहितको नागरिकता दिनुपर्ने जिम्मेवारीबाट राज्य टाढिन खोजेको उनको भनाई थियो । नागरिकता प्राप्तीमा असहजता, राज्यको संरचनामा समुदायको समान प्रतिनिधित्व, समान रोजगारीको व्यवस्था लगाएतको विषयमा राज्य जिम्मेवार हुनुपर्ने उनले प्रस्तुतीमार्फत राखेकी थिइन् । अन्तरक्रियामा जनप्रतिनिधि र सरोकारवाला निकायले समुदायको विषयमा संवेदनशिल रहेको र समुदायको हक अधिकारका लागि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अन्तरक्रियामा भक्ति शाह र सुदिप गौतमले क्वेर समुदायकै व्यक्ति भएका कारण समाजमा आफुले भोग्नुपरेको समस्याका बारेमा अनुभव सुनाएका थिए ।
पोखरा: १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै कन्सल्टेन्सीका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठले जापानिज, कोरियन, जर्मनी र चाइनिज भाषा अध्ययन गर्न चाहनेहरुका लागि महोत्सव अवधिभर विशेष छुट दिने वताए । श्रेष्ठका अनुसार महोत्सव अवधि पुष २६ देखी माघको ८ गते सम्म कन्सल्टेन्सीमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ३० प्रतिशत छुट दिइने छ । कन्सल्टेन्सीले हाल जापानिज, एसएसडब्ल्यू जापानिज, कोरियन, जर्मनी, आइइएलटीएस र पिटिई क्लास, चाइनिज लगायतका भाषा संगै विद्यालय स्तरका ट्युसन र कम्प्युटर कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । बाह्रौ पोखरा महोत्सवका सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव प्रायोजक र सहयोगीहरुकै कारण सफल महोत्सव बन्न पुगेकाले सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको सहयोग आवश्यक रहेको बताए । बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।