गण्डकी:  तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् ।  विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले ...

तनहुँ:   चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा १ चण्डीमैदानले शुक्लागण्डकी नगरपालिका १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयका  विद्यार्थीलाई पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।    क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।   क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे ।   सो अवसरमा बोल्दै अध्यक्ष रानाले सन्देश दिने उद्देश्यसहित सहयोग गरेको बताएका थिए ।    यस्तै विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् ।   कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो ।   चण्डी देउराली क्लब विभिन्न खेलकुदसँगै सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।  

हेटौँडा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।   नेपाल विद्युत प्राधिकरणले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गर्नुभएको हो ।   ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ ।   यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।   मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।   हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ ।   हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।   अ​मेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ ।   यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।

पाेखरा:  तनहुँको घिरिङ गाँउपालिका ४ मानपुरदेखि नवलपुरको डेडगाँउ जोडने सडकको कालोपत्र (अल्फास्ट) धामधम भएको छ ।   गण्डकी प्रदेशको गौरव आयोजना अन्तरगत रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम तिब्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय पोखराले जनाएको छ ।   उक्त सडकखण्डको निर्माण हेटौंडाको सपना निर्माण सेवाले गरिरहेको छ ।   कुल ११ किलोमिटर रहेको सडकको हालसम्म ९० प्रतिशत भागमा कालोपत्र भइसकेको छ भने बाँकी १० प्रतिशतका लागि अल्फास्ट पिच गर्ने तयारी भइरहेको छ ।   ११ किलो मिटर कालोपत्रेको लागि विनियोजित बजेटमा १० किलोमिटर सडक कालोपत्रे पुरा भएको छ ।    सो सडकखण्ड नवलपुरको त्रिवेणी नाका र मुस्ताङको कोरला नाका जोड्ने सडकखण्ड अन्तरगत पर्छ ।  

पोखरा:   गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम) ले गण्डकीमा तमु तथा मगर भाषालाई आयोगले सिफारिस भएपनि नीति तथा कार्यक्रममा समावेश नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   सांसद गुरुङले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमबारे छलफलको क्रममा बोल्दै सांसद गुरुङले तमु र मगर भाषालाई प्रशासनिक कामकाजको भाषा बनाउन माग गरे ।    ‘रोस्टममा उभिदा कता कता डर लाग्छ । मेरो मनको कुरा तपाइहरु जसरी खररर खसकुरामा भन्न सक्दिन किनभने खसकुरा पोखरा झरेपछि मात्रै सिकेको हो, उनले भने, ‘त्यसकारण मैलेपनि यो रोस्टममा उभिएर मेरै मातृभाषामा मनको कुरा खररर भन्न पाउँछु कि भन्ने ठुलो रहर छ ।’   सांसद गुरुङले भाषा आयोगले मगर र गुरुङ भाषालाई गण्डकीमा सिफारिस गरेको भएपनि अझैसम्म कार्यान्वयन गर्न नसक्नु पिडादायी विषय बनेको धारणा राखे ।   ‘संविधानले किटानी गरेको धारा ५१ र ३२ भित्र रहेको भाषिक अधिकार अहिलेसम्म प्रयोग गर्न पाएको छैन त्यसकारण गण्डकी सरकारले आगामी नीति तथा कार्यक्रममा जुन भाषा गुरुङ र मगर भाषा आयोगले पनि सिफारिस गरेको छ । त्यसलाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न भनेपनि यो नीति तथा कार्यक्रममा नदेख्दाखेरी अलि नरमाइलो लाग्यो । त्यसकारण यसलाई समावेश गर्न कुनै पुर्वाग्र नराखी राख्दा तपाइहरुलाई ऐतिहासिक जस मिल्नेछ भनेर अनुरोध गर्दछु ।’   उनले राजनीतिमा आउनुपूर्व आफु चलचित्र क्षेत्रमा सक्रिय रहेको स्मरण गराउँदै चलचित्र विकासको निम्ति नीतिमा कार्यक्रम समावेश नभएको गुनासो गरे ।   ‘गण्डकी प्रदेश विश्व चलचित्र जगतको लागि एउटा आकर्षणको केन्द्र हो । यहाँको भूगोल, संस्कृति आफैमा खुला स्टुडियो हो, उनले भने, ‘त्यसैले यो नीति तथा कार्यक्रममा चलचित्र छायांकनका लागि खुला स्टुडियोको निर्माणको कुराले पर्यटकीय राजधानीलाई सार्थकता बनाउन सक्छ ।’  

पोखरा:    ढुङ्गा, गिटी, बालुवा  तथा नदी तथा खानिजन्य  पदार्थको अनुगमन समिति कास्कीको  बैठक आज (बुधबार) सम्पन्न भएको छ ।   बै​ठकबाट कास्कीमा तीन महिना (असार, साउन र भदौ) नदीजन्य र खानिजन्य  पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटी, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको संचालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार  सो निर्णय गरिएको हो ।     सो संचालन मापदण्ड अनुसार   असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य पदार्थको उत्खनन  गर्न नपाइने व्यवस्था अनुसार  उक्त निर्णय गरीएको  अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।   उनले  विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन  र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय  कार्यान्वयन  गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे ।   दर्ता नगरी अवैधरूपले मापदण्ड विपरित  संचालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता  उद्योगलाई समेत  तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।   उनले सबै पालिकाहरूमार्फत उद्योगहरूले जेठ मसान्तभित्र  स्रोत खुलाएर  स्टक प्रमाणिकरण गरेका सामाग्री यो  अवधिमा पिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने सुनाए ।   नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै  प्रकारको प्रभाव र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल  जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेको आग्रह छ ।   कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति  कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा,  कास्कीका  प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल,कास्कीस्थित पालिकाका  प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू  सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा, गिटी, बालुवा, नदी तथा खानीजन्य  पदार्थको उत्खनन, ओसार पसार र विक्रीवितरण र उपभोगमा  देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा  आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।  

रेम बिक काठमाडौं:   दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् ।   कुनैबेला छोईछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।   दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाँई एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् ।   कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए ।   उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरुले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिए ।   त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताईन् ।   दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको ठहर गर्दै परिस्थिती आएको खण्डमा सबै दलितहरुले पार्टी राजनीति त्यागेर दलित आन्दोलनमा होमिनुपर्ने उनको जोड थियो । साथै कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विश्वकर्माले कर्मचारीतन्त्र हावी हुँदा दलितमैत्री कानुन निर्माणमा पनि समस्या आएको बताईन् ।   कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरु पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताए ।   उ​नले आफ्नो लागि आफैंले लडाईं नलड्दा सम्म दलित समुदायले मुक्ति पाउन नकस्ने ठहर गर्दै हालसम्म भएका राजनीतिक आन्दोलन र युद्धहरुले दलितलाई मुक्ति दिने नाममा उपयोग मात्रै गरेको बताए । उनले दलित समुदायलाई एक ठाऊँमा आएर आफ्नो न्यायको लागि आवाज उठाउन आह्वान समेत गरेका थिए ।   कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिईन् । 

तनहुँ:  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ ।   पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ ।   आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।”   पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए ।  विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो ।   कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताए ।  त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमि सडक कालोपत्र गरिएको छ ।   सम्झौता अनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उनका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ । 

सङ्खुवासभाको  चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।   दुई जना घाइते भएका छन्। उनीहरू निदाएका बेला पहिरो खसेको हो।   मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ।   पुरिएर मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ।    

अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।   अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए ।   अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका–७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो ।   दुर्घटनामा छत्रदेव–७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका-२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् ।   घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।