धनगढी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताउनुभएको छ । कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।” महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ ।” मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौँ, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौँ ।” पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताउनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो । एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।
त्रिवेणी: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो । प्रहरीका अनुसार गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । बसको ठक्करबाट मृत्यु कैलाली– बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो । सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दमौली: तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ । विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाउनुभएको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।” असहाय बालबालिकालाई पढाउँदै व्यास व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ । कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।
दाङ: लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्नुहुन्छ । “कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भन्नुभयो, “कुचो बेचेर/साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।” सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उहाँले बताउनुभयो । बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताउनुभयो । “एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ”, उहाँले भन्नुभयो । चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताउनुभयो । एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उहाँको भनाइ छ । “काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ”, उहाँले भन्नुभयो । सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताउनुभयो । “उमेर पनि गइसक्यो, अरु काम गर्न सकिदैन”, उहाँले भन्नुभयो, “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।” काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार गरिएको छ । ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एलटिएलआरपी) मार्फत एक शताप्ब्दी पुरानो पुल जीणोद्धार र सौन्दर्यकरण गरेको हो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुलको मौलिकता नमेटिने गरी स्थानीय प्रविधि र सामग्रीको प्रयोगबाट जीर्णोद्धार गरिएको जानकारी दिनुभयो । “स्थानीय मौलिक सीप र प्रविधिको प्रयोगबाट एक सय वर्ष भन्दाअघि काठैकाठबाट बनेको पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो”, अध्यक्ष लालचनले भन्नुभयो, “बलियो काठ प्रयोग गरेर पुरानै शैलीमा जीर्णोद्धार गरिएको पुलमा लाइट जडान गरेर रातिमा झलमल्ल देखिने गरी सौन्दर्यकरण गरेका छौँ ।” पच्चिस मिटर लामो पुलको जीर्णोद्धारका लागि रु १० लाख खर्च भएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिनुभयो । पालकाको ५८ प्रतिशत र एलटिएलआरपी परियोजनाको ४२ प्रतिशत लागत साझेदारीमा उपभोक्ता समितिमार्फत पुल जीर्णोद्धार गरिएको उहाँले बताउनुभयो । सोही परियोजनाअन्तर्गत काठको पुलबाट केहीमाथि रहेको मोटरेबल पुलको छेउमा रु २५ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । जीणोद्धार भएको पुलले पर्यटक लोभ्याउन थालेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार पुल तर्ने, अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने आन्तरिक पर्यटकक आगमन बढ्न थालेको छ । जीर्ण काठेपुलमा पुराना काठका सामग्री विस्थापित गरी नयाँ काठका संरचना बनाउने, काठेपुलको रेलिङ फेर्ने र धेरै भार थेग्न सक्नेगरी साविक भन्दा थप बलियो बनाइएको छ । जोमसोमका ८९ वर्षीय टीकाप्रसाद शेरचनले यो पुल एक सय वर्षअघि निर्माण भएको बताउनुभयो । मुस्ताङका स्थानीयवासी, पशु चौपाया, दामोदरकुण्ड, मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री तथा घुम्न आउने पर्यटकलाई सुरक्षित रुपमा कालीगण्डकी नदी वारपार गर्ने सुविधाका लागि काठको पुल निर्माण भएको थियो । जोमसोमस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि काठको पुलको प्रयोग घटेको थियो । विसं २०४४ मा कालीगण्डकीमा आएको बाढीले क्षति गरेको पुल विसं २०७२ को भूकम्पका कारण बीचभागबाट चोइटिएको थियो ।
नवलपुरको बुलिङटार गाउँपालिकामा पर्ने ‘भारतीपुर–उदयपुर– ढाँसी’ सडकखण्ड स्तारोन्नतीको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका गाहामगरले जनातामाझ गरेका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न लागिपरेको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रको विकास र जनताको आवाजलाई सम्बन्धित ठाउँमा लैजाने बताउनुहुँदै सधैं जनमुखी काम गर्न तल्लिन रहेको उल्लेख गर्नुभयो । नवलपुर निर्वाचन क्षेत्र न. १ (ख) बाट निर्वाचित दोस्रो पटक निर्वाचित गाहामगरको पहलमा आर्थिक वर्ष २०८०/०८१ मा उक्त सडक स्तरोन्नतीका लागि ५ करोड बजेट विनियोजन भएको थियो । यस्तै कार्यक्रममा बोल्दै बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीमगरले बताउनुभयो । उहाँले उक्त सडकखण्डक करिब ६ किलोमिटर रहेको बताउदै बुलिङटार गाउँपालिका ६ भित्रको रिङरोडको रुपमा निर्माण भइरहेको बताउनुभयो । ‘यो चाँही हाम्रै ६ नम्बर वडामा पर्छ । तल्लो भेग कालीगण्डकी करिडोर पर्छ । अहिले भइरहेको काम रिङरोडको रुपमा बन्दैछ, उहाँले भन्नुभयो, ‘नाली बनाउने, ग्याबिङ गर्ने, सडक फराकिलो बनाउने, कटान गर्ने काम भइरहेको छ ।’ उहाँका अनुसार उक्त सडकस्तरोन्नतीको कामा पूर्वाधार विकास कार्यालयले ठेक्कामा लगाएको हो । सो आयोजना आफ्नै पालिकामा पर्ने भएकाले निर्धारित समयमै काम सक्नेगरी निरन्तर अनुगमन भइरहेको उहाँले बताउनुभयो । उहाँले ‘बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार’ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुहुँदै यस क्षेत्रकै मुटुको रूपमा रहेको साबिक भारतीपुर रिङरोडको रुपमा ढाँसी– भारतीपुर हुँदै अत्रौली जोड्ने कामलाई पूर्णता दिन आफू अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो । यस्तै बुलिङटार गाउँपालिका ६ का वडाध्यक्ष मोहनराज पाठकले वडाको विकासलागि आफु अहोरात्र खटिएको स्मरण गराउदै सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको थियो । आफ्नो क्षेत्रको सांसद गाहामगर, गाउँपालिका प्रमुख सुनारी र वडाध्यक्ष पाठकको कार्यशैली उत्कृष्ट र तदारुपताका साथ काम गरेको भन्दै कार्यक्रममा सहभागि स्थानीयहरुले प्रशंसा गरेका थिए ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउनुहुँदै उहाँले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो । पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि सुझाव दिनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।