पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । घान्दु्रक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो प्रतियोगिता र म्युजिकल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलतर्फ सहभागिताका लागि दर्ता शुल्क ५ हजार र महिलातर्फ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै महोत्सवका संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । उनका अनुसार टिम दर्ताका लागि ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् । महोत्सवको अन्तिम दिन लोक तथा दोहोरी गायक राजु परियारको बेजोट प्रस्तुती रहने उनले बताए । पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको बताउदै सो महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा पुर्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले आज सेती नदीको ड्याम खोलिने बताउदै सतर्क रहन आग्रह गरेको छ । विगत २७ दिनदेखि सेती नदीमामा हाम फालेर बेपत्ता भएका पोखरा–१६ का सुगम बास्तोलाको खोजतलाजको लागि दोस्रो पटक ड्याम खोलिने भएको हो । कास्की प्रहरीले सूचना जारी गर्दै आज दिउँसो १ बजे दीपको ड्याम खोलिने बताउदै नदी किनारमा नजान आग्रह गरेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदी माथि बनाइएको पुलबाट हाम फालेर बेपत्ता भएका बास्तोलाको खोजतलाजका लागि दोस्रो पटक ड्याम खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । पोखरा महानगरपालिका–१६ दिपस्थित सेती नदीमा बनाईएको ड्याम खोलेर पानीको बहाव बढाई बास्तोलाको खोजतलाज गर्ने प्रहरी निरीक्षक रानाले बताए । उनका अनुसार यसअघि गत २२ गतेपनि ड्याम खोलेर खोजतलाज गरेको थियो । फागुनको १८ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका थिए । बास्तोला परिवारले पुनः ड्याम खोलेर पटक खोजतलाजको लागि आग्रह गरेपछि ड्याम खोलेर खोजतलाज गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृति प्रतिष्ठान सञ्चालनमा आएको छ। संस्थापक अध्यक्ष पुनमगरको स्मृतिमा ‘हेमबहादुर पुन स्मृति प्रतिष्ठान’ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। प्रष्ठिानका सचिव मेजन पुनका अनुसार संस्थापक अध्यक्ष पुनको २० औँ स्मृति दिवसको अवसरमा गत भदौ ३१ मा नेपाल मगर संघको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमले प्रतिष्ठान सञ्चालनमा ल्याउने निधो गरेको थियो। सोही निर्णय बमोजिम संस्थापक अध्यक्ष पुन मगरका छोरा पूर्वमन्त्री उत्तम पुनको संरक्षकत्वमा प्रतिष्ठान विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। क्याप्टेन रविन्द्र पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहने सचिव पुनले जानकारी दिए। प्रतिष्ठानले संस्थापक अध्यक्ष पुन मगरले देखाएको बाटो फराकिलो पार्दै लैजाने अठोट गरेको सचिव पुनले जानकारी दिए। ‘हेमबहादुर पुन मगर ज्यूले मगर जातिको उत्थानमा गर्नु भएको लगानी त हामीले पूरा गर्न सक्दैनौँ। तर उहाँले देखाउनु भएको बाटो, मगर जातिलाई जागरुक बनाउन प्रतिष्ठानले जति सक्छ प्रयास गर्ने छ,’ उनले भने। संस्थाले सामाजिक कल्याणका लागि गरिब दिनदुखीको हितका लागि पनि काम गर्ने उनले जानकारी दिए। संस्थापक अध्यक्ष पुनमगर ब्रिटिश आर्मीबाट अवकाश भएपछि नेपाल आर्मीमा सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भएका थिए। पुन मगरको विस १९७५ बैशाख ६ गते म्याग्दीको तत्कालिन शिख, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा जन्म भएको थियो।
काठमाडौं: गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्। अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो। दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तोसमेत गरिसकेका छन्। झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्। एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। 'के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु' जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्।
म्याग्दी: दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र‘ घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो । करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् । रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् । गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आउनुभएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ । काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ । ‘व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ’, विकले भने । वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका(५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०र१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए । आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रू २५ र ३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए । अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने, ‘प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’ बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् । विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।
बागलुङ: मध्यपहाडी लोकमार्गअर्न्तगत बागलुङको निसीखोला गाउँपालिका ६ को जाउलेपानी यात्रुबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रहीका अनुसार घटनास्थलमै ७ जनाको र उपचारका लागि बुर्तिवाङ लैजाने क्रममा १ गरी ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बसमा चालकसहित ३३ जना सवार रहेको खुलेको छ । मृतक मध्ये ५ जना पुरुष र ३ जना महिला छन् । उनीहरुको सनाखत भने हुन सकेको छैन । रुकुम पश्चिमबाट आज बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
पोखरा: पोखराको काहुँडाँडामा भीषण डढेलो लागेको छ । सोमबार दिउँसोदेखि काहुँडाँडा ंजंगलमा भीषण डढेलो लागेको हो । आगलागीबाट केही घर जोखिममा रहेको बताइएको छ । यतिबेला आगो नियन्त्रणका लागि दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र स्थानीय बासिम्दाहरु लागिरहेका छन् । यद्यपी आगौ फैलिएकालो नियन्त्रणमा भने आउन कठिन रहेको छ । आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।
म्याग्दी: म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् । खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएराती उक्त जीप पालिका केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ गएको थियो । जीप सडकदेखि करिब ५० मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ ।
गलकोट: बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ । साल तथा कटुसको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ । रु तीन लाख लागतमा सञ्चालनमा ल्याइएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुसी व्यक्त गर्नुभयो । धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी रेस्टुराँमा प्रयोगमा आउन थालेको छ । २८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बङ्गुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशील मगर महिला समूहका अध्यक्ष बलकुमारी पुनले जानकारी दिनुभयो । काठमाडौँदेखि दुनाटपरी बनाउने रु एक लाख ९२ हजारको औजार खरिद गरेर भाडामा सटर लिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको पुनको भनाइ छ । अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइराखेको उहाँको भनाइ छ । “झन्डै रु २२ लाखको लगानीमा खोलिएको बङ्गुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बङ्गुरपालन व्यवसाय धराशायी भएपछि अहिले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छौँ, विशेषगरी सालको पातलाई सुकाएर मेसिनमा राख्दा सोझै दुनाटपरी बनेर निस्कन्छ,” पुनले भन्नुभयो, “बागलुङमा पोखरा र बुटवलबाट दुनाटपरी आयात भएको देखेपछि महिला समूहले सामूहिक रूपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुनाटपरी बनाउन सक्नेछ ।” महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ । उद्यमशील मगर महिला समूहले रु १५ लाख सङ्घीय सरकारको अनुदान र महिला समूहको रु सात लाख लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो । गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बङ्गुर फार्ममा रहेका छ सय बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेस्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुनाटपरीलाई प्रतिस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो । दुनाटपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा गरिएको छ । दुनाटपरीलाई रु दुईदेखि रु आठसम्ममा बजारमा बिक्री गर्न सकिनेछ । बागलुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो ।