पर्वत: १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उहाँ एकाएक सम्पर्कविहीन बनेका थिए । परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा आज दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–११ स्थित तेलिबारी बागमति प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए । बस, बस चालक उदयपुर चौडण्डीगढी नगरपालिका–६ का ४२ वर्षीय विजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पोखरा: नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी कांग्रेस बुढा दिल बहादुर गरुङको आज बिहान १०२ बर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले गरुङको पार्थिव शरीरमा आज पोखराको रामघाटस्थित बौद्ध अर्घौसदनमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्राद्धञ्जली अपर्ण गर्दै काँग्रेस नेता जोशीले शताव्दी पुरुष स्व.गुरुङ नेपाली काँग्रेसको मात्र नभई सबै पार्टी र समुदायको साझा नेताका रुपमा रहनुभएको स्मरण गर्नुभयो । नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभासदस्य समेत रहनुभएका स्व.गुरुङको निधन प्रति दुख व्यक्त गर्दै जारी गर्नुभएको शोक विज्ञप्ति नेता जोशीले पढेर सुनाउनुभएको थियो । पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात हुनुहुन्थ्यो । उहाँ तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गर्नुभयो भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गर्नुभएको थियो ।
काठमाडौँ: भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उहाँहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । उहाँहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उहाँहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गर्नुभएको थियो । यसैबीच,सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेशन लिमिटेड र नेपाल आयल निगमबीचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताउनुभएको मन्त्री भण्डारीले नयाँदिल्लीबाट राससलाई बताउनुभयो । त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएका उहाँले बताउनुभयो । भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
नुवाकोट: सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ । जिल्लाको शिवपुरी गाउँपालिका–४ स्थित आइतरामपाटी–पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबिएनएस–केबिके जेभीलाई कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्न कार्यालयले खोजी थालेको हो । निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिकाअनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ १७ मा भएको सम्झौता र कात्तिक ६ मा भएको सडक शिलान्यासपश्चात पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार गरिएको छ । “गत आर्थिक वर्षको बहुवर्षीय ठेक्काअनुसार दुई वर्षभित्र सडक स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का लगाइएको हो”, उहाँले भन्नुभयो, “सम्झौतापश्चात छ महिनासम्म काम अघि बढाउन निर्माण व्यवसायीले चासो नदिएपछि पुनः दबाब दिने उद्देश्यले गत कात्तिक ६ मा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतमार्फत शिलान्यास गरेर काम गर्न निर्देशन दिए पनि व्यवसायीले अटेर गरेका छन् ।” बीस वर्षअघि ट्रयाक खोलिएको उक्त सडकको करिब छ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्न रु १६ करोड ३० लाखमा केबिएनएस–केबिके जेभीले ठेक्का लिएको थियो । निर्माणको जिम्मा लगाउने समयमा भएको सहमतिअनुसार काम नभएपछि योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण सुरु गर्न ढिलो नगर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको छ । सोपश्चात कार्यालयले निर्माण व्यावसायीलाई कार्यक्षेत्रमा फर्कन खोजी थालेको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सधैँ समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको उल्लेख गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उहाँहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन कांग्रेस सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उहाँका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने उहाँले उल्लेख गर्नुभएको छ । सभापति देउवाले समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता हाम्रो साझा दायित्व भएको बताउनुभएको छ । “अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारका धारकको रूपमा स्वीकार गर्दै उनीहरूको क्षमता र सक्षमतामा भरपूर विश्वास राख्नुपर्छ”, सभापति देउवाले भन्नुभएको छ, “यस अवसरमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवाला बीच एकता र सहकार्यको खाँचो छ ।” उहाँले कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानुनी, सामाजिक र संरचनागत सुधारमा निरन्तर योगदान गर्दै आइरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाउने उल्लेख गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र समावेशीतालाई समाजको मुख्य प्रवाहमा समेट्दै दिगो र समतामूलक विकासका लागि सहकार्य गर्न कांग्रेस सबैसँग आग्रह गर्ने उहाँको भनाइ छ ।
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ । “रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ । “एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ,” विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पु¥याउने घटनाको निन्दा गरेका छन् । उहाँले भन्नुभयो, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ।” सन् २०२१ मा भएको सत्ता विद्रोह (कू) बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रुपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १२ कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । वडाले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको एशियाकै ठूलो मानिएको शालिग्राम शिला सेतीवेणीमा वडाका ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको हो । विशेषगरी वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि विशेष दिन पारेर निःशुल्क रुपमा वडाले सेतीवेणी लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । सेतीवेणीको शालिग्राम शिलालाई विष्णु भगवानको अवतारका रुपमा लिने गरेको पाइन्छ । शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्यस कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, बालाचतुर्दशी, नववर्ष, ठूला एकादशीमा भक्तजनहरुको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् । यसअघि वडाले लमजुङ जिल्लाको करापुटारमा रहेको प्रसिद्द धार्मिक स्थल इशानेस्वर मन्दिरमा ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको थियो । त्यसैगरी, ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गर्दै आएको थियो । त्यतिमात्र नभै वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको वडाध्यक्ष बास्तोलाले बताए । वडाले बालबालिकादेखि ज्येष्ठ नागरिक सम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाइ वडा सचिव शारदा सापकोटाको नेतृत्वमा सेतीवेणी पठाएको हो । पछिल्लो समय पोखरा १२ ले अन्य वडाको तुलनामा विभिन्न राम्रा कामहरू गर्दै आइरहेको छ ।
पोखरा: त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ । शनिबार क्लबका पदाधिकारीहरु पोखरा २५ हेमजास्थित मानव सेवा आश्रममा पुुगेर १६० जना आश्रितलाई खाना खुवाएको क्लबका सहसचिव प्रविण सुुवेदीले जानकारी दिए । यस्तै उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । उनले नेपअपले आयोजना गरेको श्रीपेचको अन्तिम प्रतिस्पर्धी निशान रानामगरलाई पनि नगद रु १२ हजार आर्थिक सहयोग गरेको बताए । ‘हामीले सामाजिक काममा खर्च गर्ने योजना अनुसार नै हामीले कार्यक्रम गरेका थियौ । त्यसैले साँझबाट जम्मा भएको रकममध्ये करिब ५० हजार बराबरको हामीले सामाजिक कार्यमा खर्च गरेका हौं,’ उनले भने । क्लबले गत कात्तिक १७ गते सिम्पानी चोकमा टुबोर्ग प्रिजेन्टस् तेस्रो सिम्पानी साँझको आयोजना गरेको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।