वालिङ: पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताउनुभयो । “बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो”, उहाँले भन्नुभयो, “गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।” अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उहाँले बताउनुभयो । सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उहाँले बताउनुभयो । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताउनुभयो । बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उहाँ बताउनुहुन्छ । नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छभने अर्कातिर पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जानसक्छ । परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ । छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ । हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।
पोखरा: नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जिवन दाहालले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन् । मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष एवं महोत्सवका उद्घोषक समेत रहेका शिवहरी ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ । रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने रत्यौली कार्यक्रमकी संयोजक गंगा मल्लले बताईन । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो । दैनिक दुई समूहका दरले महोत्सव अवधीभर २२ समुहले रत्यौली गित प्रस्तुत गर्ने संयोजक गंगा मल्लले जानकारी दिएकी छन् । निर्धारीत समय भित्र गीत प्रस्तुत हुन्छ त्यही गितको तालमा महिला र पुरुष दर्शक सगसगै छमछमी नाच्न पाउछन् र साथमा लुठो(जोक्कर)ले विभिन्न खालका हसाउने अभिनय गर्दै स्टेजमा भएकालाई मनोरञ्जन दिने गर्दछन । बेहुली लिएर आए पछि बेहुला बेहुली दुवै नाच्ने र स्टेजमा भएकालाई जन्ती खाजाको रुपमा कसार, रोटी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारीत समय सकिन्छ । महोत्सव अवधि भर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि ३५ टिम दर्ता भए पनि प्रस्तुतीका आधारमा भएको छनोटबाट २२ समुहले मात्र प्रतिष्पर्धामा सहभागि हुने अवसर प्राप्त गरेका थिए । सहभागी प्रत्येक समुहलाई प्रस्तुतीको आधारमा पुरस्कृत गरिने छ । यसैबिच महोत्सवको पाचौ दिन सोमवार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबार तर्फ २५ लाख बरावरको भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीको दावी रहेको छ । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।
जुम्ला: जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे । सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१र८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पु¥याइएको छ । जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भन्नुभयो, “कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।” विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले ढुवानीखर्च समेत उपलब्ध गराएको उहाँको भनाइ छ । खाद्य संस्थानले चामल लिन आउने नागरिकका लागि यात्रा खर्चसमेत प्रदान गर्ने व्यवस्था गरेको छ । चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाबाट आउने नागरिकलाई फरक–फरक भाडासमेत उपलब्ध गरिएको छ । जिल्लाको कनकासुन्दरी, सिञ्जा, हिमा र तिला गाउँपालिकाबाट आउने नागरिकलाई प्रतिव्यक्ति रु एक हजार भाडा दिने गरिएको छ, भने गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाबाट आउने नागरिकलाई भने रु ५०० दिने व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले जानकारी दिनुभयो । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा, जन्मका लागि एक सय ४७ क्वीन्टल र मृत्युका लागि १३ क्वीन्टल २० किलो चामल वितरण गरिएको थियो । यस अवधिमा तीन लाख ८८ हजार ५०० रूपैयाँ भाडाका लागि खर्च गरिएको छ । विसं २०७३ मा थालिएको यो योजनाले हालसम्म प्रभावकारी देखिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१÷८२ को मङ्सिरसम्मको तथ्याङ्कले योजनाको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थानका सूचना अधिकृत लक्ष्मण शर्माले बताउनुभयो । यस आवमा जन्म र मृत्युका लागि ८१ दशमलव ९ प्रतिशत क्वीन्टल चामल निःशुल्क वितरण गरिएको छ, भने रु एक लाख ४८ हजार ५०० भाडाका रूपमा प्रदान गरिएको यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ ।
कास्की: अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतको मोदी खोलाको मध्य मोदी जलविद्युत आयोजनामा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । उद्योगपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुप (सिजी) को लगानीमा संचालित आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै अन्नपूर्ण –७ कास्कीका युवा नेता बिष्णु चापागाईंको नेतृत्वमा गएको समूहले तालाबन्दी गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा अन्नपूर्ण गाउँपालिका वडा नं.–४, ५, ६, ७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्ष देखि भुक्तानी नगरेको, मोदीखोलामा १०% पानीको बहाब नछाडेको, आयोजना निर्माणधिन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षति पुगेकोमा क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यालय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरि सुनुवाई नगरेको, आयोजनाले स्थानीयको लागि साधारण शेयर (क्ष्एइ) जारी नगरेको लगायतका कार्यहरु नगरेको उल्लेख छ । आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर एक्साभेटरको साँचोसमेत सो समुहले कब्जा गरेको छ ।
लेखनाथ: कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुहबीच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयीक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहकाबीचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ वबहान त्यसको तयारीमासमेत जुट्ने गरेका छन् । महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनीहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउँदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता व्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताइन् । लामिछानेले भनिन्–“आयोजित प्रतियोगिताबाट आमा÷महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागि जनाउनु भयो यो नै हाम्रो लागि गर्वको विषय हो ।” प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्येबाट प्रत्येक दिन चार समुहकाबीच प्रतिस्पर्धा गरि आठ समुहलाई सेमि फाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भईरहेको छ । सहभागी समुहहरुलाई विषयगत प्रश्न देखि महिलाहरुको दैनिकी दिनचर्याका विषय वस्तु देखी धर्म,संस्कृती, साहित्य, स्थानिय निकाय, स्थानीय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने, अहिलेसम्म २४ समुहका बिच प्रतिश्पर्धा भईसकेको छ । प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाईन चरणको प्रतिश्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २५ हजार, द्धितिय ह्ने समुहले २० हजार, तृतिय हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र बाँकी चार समुहले पाँच÷पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आईतबारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।
लमजुङ: छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि १ बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उहाँको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन् । रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै हुनुहुन्छ । उहाँको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ । उहाँलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ । किनभने त्यो गाउँसँग उहाँको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ । “बालखैमा बिहे गरेर आएको गाउँ हो । यहाँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो,” उहाँ भन्नुहुन्छ, “हराउँदै गयो गाउँको रौनक ।” बिहे भएर आएदेखिको उहाँको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर । “कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो”, उहाँ गाउँको विगत स्मरण गर्दै भन्नुहुन्छ, “अहिले घरहरु छन्, बस्ने कोही छैनन् । सबै शहरतिर लागे । सुख र सुविधाले त्यति तान्यो ।” छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उहाँलाई खल्लो लाग्छ । कुनै समय थियो । “गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फुलफूल टिपेर बिठ्याइँ गरिदिन्थे”, उहाँको स्मृति बग्दै गयोे,“उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपथ्र्यो । अहिले चरा र बाँदरले खाएर रित्याउँछन् । मान्छे भेटिदैनन् ।” लमजुङको राइनास नगरपालिका–१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ । किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन् । अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो । “यहाँका अधिकांश बुबाहरु शिक्षक पेशामै आबद्ध हुनुभयो भने छोराछोरी केहिले यही शिक्षण पेशा अपनाएका छन्”, रमादेवीका छोरा राममणि न्यौपानेले बताउनुभयो । उहाँ गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । उहाँका अनुसार टोलमा ५५ घरधुरी छन् । यसमध्ये मुस्किलले २६÷२७ घरमा मात्रै घरमुली बसोबास गर्छन् । अरु अधिकांश शहरतिरै त कोही विदेश पलायन छन् । शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ । पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सिमित हुनुपरेको छ । कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन् । त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन् । “गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु ?”, उहाँ भन्नुहुन्छ । अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ । राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो । यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । राइनास नगरपालिका–१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी, कत्रेनी, बोराङलगायत टोल छन् । टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका छन् । यद्यपि पालिकाले योजनाबद्ध ढङ्गमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय शहरमुखी हुन थालेको बताउँछन् । बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउनुहुन्छ । “छरछिमेकी हुँदा गाहेसारो परेको बेला सहयोगी हात हुन्थे,” उहाँ भन्नुहुन्छ,“अहिले विरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन ।” गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि शहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाद परिवार आउँछन नभए वर्षौदेखि घरले स्याहार नपाएको स्थानीयले बताए । प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन । उहाँहरु तीनैजनाको घरमा ताल्चा छ । रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउनुहुन्छ । मेरो वरिपरित सबै घरमा ताला लागेको छ । “छिमेकी नहुँदा निकै नियास्रोको महसुस हुन्छ”, उहाँ भन्नुहुन्छ, “गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन ।” गाउँको छेउँमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन । ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुख्र्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउनुहुन्छ । उहाँको ठूलो छोरो चितवन रोजगारका सिलसिलामा उतै हुनुहुन्छ । माइलो र कान्छो काठमाडौंमा छन् । सुविधा न भएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरु जोड गरे पनि जन्मेलको थलो छोड्न मन नलाग्ने गरेको उहाँले सुनाउनुभयो । “हामी चिसो छल्न गाउँ आएका । होइन भने प्रायः काठमाडौँतिर बस्छौँ”, उहाँले भन्नुभयो, “किन बस्ने गाउँमा भो अब दुख गर्नु पर्दैन भन्छन् छोराहरु ।” बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्कील हुने गाँउको दुःख सम्झीदाविष्णुहरीले गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउनुहुन्छ । उहाँले भने जस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन । जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ । ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लागनुभयो । उहाँको पुर्खौली जिउने आधार खेती किसानी हो । सकि नसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन् । “अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई”, उहाँ किसानले भोग्नु परेको पीडा सुनाउहुन्छ, “के खाएर बस्ने हो यो गाउँमा ? अनि शहर नपसे के गर्ने ?” लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपानेका अनुसार गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्नुहुन्छ । रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै शहर पस्न थाले । यसले गर्दा गाउँ सुसनान हुँदै गएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उहाँको बुझाइ छ । सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताउनुहुन्छ । धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ । परम्परागत रुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन् । “खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ”, विमला भन्नुहुन्छ, “कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो ।”
ढोरपाटन: चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् । ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उहाँको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताउनुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मङ्सिरसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०÷४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको सङ्ख्या बढ्दै गएका छन् ।” पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उहाँको भनाइ छ । अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउनुहुन्छ । आएपश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ ।
तनहुँ: यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी रु एक करोड ४९ लाख एक हजार सात सय ५०, सवारीसाधन कर रु पाँच करोड ७० लाख ५५ हजार एक सय ६० र सवारी आयकर रु २७ लाख ७२ हजार तीन सय ७५ संकलन भएको हो । यहाँ स्थापित यातायात व्यवस्था कार्यालयको कार्यक्षेत्र तनहुँ, गोरखा, लमजुङ र मनाङ भए पनि चितवन र धादिङका बासिन्दासमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिए । उनका अनुसार ‘बिलबुक’ नवीकरणमा दुई सय, लाइसेन्स र ‘बायोमेट्रिक’मा दैनिक दुई सय ५० भन्दा बढीले सेवा लिने गरेका छन् । थोरै जनशक्तिका कारण सेवा प्रवाहमा भने समस्या रहेको कार्यालय प्रमुख ओलीले बताए । ‘सत्र जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा ११ जना कर्मचारी मात्रै सेवामा छौँ । सेवाग्राहीको चाप बढ्दै गइरहेको छ । त्यसैले थोरै जनशक्तिमा काम गर्नु पर्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको छ,’ उनले भने । बायोमेट्रिकका लागि आइतबार, सोमबार, मंगलबार र बुधबार गरी हप्तामा चार दिन काम गर्ने व्यवस्था मिलाइएको छ । जनशक्ति र भौतिक संरचनाको अभावमा सवारी जाँच र प्रदूषण जाँच गर्न नसकिएको कार्यालय प्रमुख ओलीले जानकारी दिए । वैदेशिक रोजगारी र विदेशमा पढ्न जाने विद्यार्थीलाई आकस्मिक लाइसेन्स आवश्यक परेमा सवारी ‘ट्रायल पास’ गरेपछि राजस्व लिएर एक हप्तामा अनुमतिपत्र नम्बर दिने गरिएको छ । सन् २०२३ को डिसेम्बरसम्म छापिएर आएका नौ हजार छ सय ४५ जनालाई लाइसेन्स वितरण गरिसकिएको छ । त्यसपछिका भने छपाई प्रक्रियामै रहेका सो कार्यालयले जनाएको छ ।
काठमाडौँ : सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन् । उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले साङ्गीतिक कार्यक्रममा जानु उनका लागि ठूलो रहर थियो । महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन् । उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन् । यसले उनलाई शारीरिकसँगै मानसिक रुपमा पनि विक्षिप्त भइन् । किशोरीले छाउगोठमा अनुभव गरेको मनोभावनालाई दुई नेपाली किशोरले भर्चुअल रियालिटी (भिआर)मा उतार्ने भएका छन् । अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयमा अध्ययनरत यी दुई विद्यार्थीले ‘एक गोठभित्रको आवाज’ शीर्षकमा चलचित्र निर्माण गर्न लागेका हुन् । “चलचित्रमा छाउगोठमा ती किशोरीले भोेगेको शारीरिक र मानसिक सङ्घर्षलाई देखाउँदै महिनावारीसँग सम्बन्धित सामाजिक कुरीतिबाट महिलाले भोग्नुपर्ने दुःख र पीडालाई उजागर हाम्रो विश्वास छ”, प्रशन्न सुवेदीले भन्नुभयो । सुवेदी ड्रेक्सेल विश्वविद्यालयमा फिल्म स्टडिजमा चौथौँ वर्षका विद्यार्थी हुनुहुन्छ । उहाँले विश्वविद्यालयका ‘प्रोजेक्ट वर्क’का रुपमा ड्रेक्सेलको वेस्टफाल कलेज अफ मिडिया आट्र्स एन्ड डिजाइनका विद्यार्थी प्रसिन श्रेष्ठसँग उक्त चलचित्र बनाउने निर्णय गरेका हुन् । हालै चलचित्रको कार्यकारी निर्माताका रुपमा अभिनेत्री सुरक्षा पन्त पनि जोडिनुभएको छ । कलेजका साथीहरु हेमन्ता अधिकारीलाई लेखन र मेधावी पण्डित कथावाचकको जिम्मेवारी दिइएको छ । अमेरिकाका क्रिस सेल ध्वनी डिजाइनर छन् भने फोली आर्टिस्ट, म्याथु लेसी र भियतनामका टिन टा ‘कन्सेप्ट आर्टिस्ट’का रुपमा जोडिएका छन् । नेपालकै उत्सव चौधरी भिआर परामर्शदाताका रुपमा काम गरिरहेका छन् । सुवेदी भैरहवामा जन्मेर काठमाडौँमा हुर्केका हुन् भने श्रेष्ठ काठमाडौँमा जन्मे हुर्केका हुन् । सुवेदी र श्रेष्ठले आफ्नो बाल्यकालमा छाउपडीको कुनै न कुनै रूपमा अभ्यास गरेको देखेका थिए । ठाउँ समाजमा महिनावारीको समयमा महिलाले पानी नछुने, खाना नपकाउने वा कुनै पुरुष आफन्तलाई नछुनेजस्ता अभ्यास उनीहरुले पनि बुझेका थिए । यस चलचित्रले मुख्य उद्देश्य छाउपडी प्रथाका कारण महिलाहरूले भोग्ने सामाजिक अपमान, हिंसा, र अन्यायलाई दर्शकहरूमाझ जीवन्त रूपमा प्रस्तुत गर्नु हो । आधुनिक प्रविधिको प्रयोगबाट महिलामाथिको शारीरिक, मानसिक र सामाजिक विभेदबारे जनचेतना फैलाउने यो परियोजना महिला अधिकार, प्रजनन स्वास्थ्य र लैङ्गिक समानताका लागि सशक्त कदम भएका सुवेदीको भनाइ छ । भर्चुअल रियालिटी (भिआर) प्रविधिको प्रयोगगरी दर्शकलाई छाउगोठभित्रको साँघुरो, अँध्यारो र असुरक्षित वातावरणको अनुभव गराउने लक्ष्य फिल्मले लिएको छ । “भिआर हेडसेट लगाएर दर्शकले तीन किशोरी पात्र बनेर छाउगोठको वातावरण महसुस गर्न सक्नेछन् । यो प्रविधिले परम्परागत ‘टुडी’ फिल्मभन्दा फरक अनुभव प्रदान गर्नेछ । भिआर प्रविधिले दर्शकलाई चारैतिरबाट दृश्य र आवाज अनुभव गर्नसक्ने बनाउँछ, जसले कथा अझ प्रभावकारी र वास्तविक बनाउँछ”, प्रसिन श्रेष्ठले भन्नुभयो । चलचित्र वास्तविक घटनामा आधारित भई निर्माण गरिएकाले ग्रामीण जीवनका वास्तविक दृश्यहरू पनि समेटिनेछ । निर्देशक सुवेदीले भन्नुभयो, “भिआर प्रविधिले केबल कथा मात्रै देखाउँदैन, दर्शकलाई प्रत्यक्ष रूपमा घटनामा सहभागी गराउँछ । यसले सामाजिक अन्यायको अनुभवलाई अझ सजीव बनाउँछ ।” फिल्म निर्माणका लागि सुवेदी र श्रेष्ठको टोलीले नेपालका सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पुगेर अध्ययन समेत गरिसकेका छन् । उनीहरूले कैलाली र डोटीका गाउँहरूमा एक हप्ता बिताएर छाउपडी प्रथाको वास्तविकता नजिकबाट बुझेको बताए । उनीहरुले मोहन्याल गाउँपालिका सोल्टा र बडिगाउँलगायतका क्षेत्रमा स्थानीय महिलाका साथै सदायका अगुवा र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिसकेका छन् । उनीहरुले राष्ट्रिय माध्यामिक विद्यालय श्रीपुर पाल्सा र त्रिवेणी माध्यामिक विद्यालय बडिगाउँका शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रियाकै गर्नुका साथै एक जना शिक्षकको समन्वयमा काम गरिरहेका छन् । टोलीले छाउपडीप्रथासँग जोडिएको स्थानीय भाषा, संस्कृति, र सङ्गीतलाई पनि चलचित्रमा समावेश गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा पुगेको टोलीले देउडा भाका र ग्रामीण जनजीवनलाई उतार्ने प्रयास गरिएको जनाइएको छ । नेपालमा छाउपडी प्रथा कानुनत: प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार, छाउपडीजस्तो प्रथामा संलग्न हुनेलाई तीन महिना कैद वा रू तीन हजारसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ । कानुनी व्यवस्था भएका बाबजुद छाउपडी प्रथा अझै भेगहरूमा गहिरो रूपमा प्रचलित छ । अशुद्ध मान्ने परम्पराका कारण उनीहरूलाई घरबाहिरका असुरक्षित झुपडीमा बस्न बाध्य पारिन्छ । यस्तो प्रथाले महिलालाई जनावरको आक्रमण, शारीरिक र मानसिक हिंसा, तथा स्वास्थ्य जोखिमको उच्च सम्भावनामा पार्छ । चलचित्र निर्माणका लागि करिब २० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमध्ये ड्रेक्सेल विश्वविद्यालयले चार हजार अमेरिकी डलर सहयोग गरेको छ भने ‘गो फन्ड मी’ अभियानबाट हालसम्म करिब दुई हजार डलर सङ्कलन गरिएको छ । निर्माण टोली थप आर्थिक स्रोत जुटाउन काम गरिरहेको छ । चलचित्रलाई विद्यालय, स्वास्थ्य सम्मेलन, र फिल्म महोत्सवहरूमा प्रदर्शन गरी महिला अधिकार, प्रजनन स्वास्थ्य, र लैङ्गिक समानताको सन्देश फैलाउने योजना निर्माण टोलीको छ । चलचित्रको भिआर संस्करण मेटाक्वेस्ट एपमा नि:शुल्क उपलब्ध हुनेछ भने ‘नन–इन्टरएक्टिभ’ संस्करण युट्युब र अन्य प्लेटफर्महरूमा हेर्न सकिनेछ ।