चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसैंको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन रु ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि भइरहेको खड्काले बताउनुभयो । उहाँले मुस्ताङ हिँडेका धार्मिक पर्यटक कालिका दर्शनलाई आउने गरेको बताउँदै चैतेदसैँको मुख्य दिनएकै पटक एक हजार चारपाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी दिनुभयो । चैतेदसँै सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरे पनि मुख्य दिन बिहानै ४ बजेदेखि एक किलोमिटरभन्दा लामो लाइनमा भक्तजनले लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए । “अहिलेसम्मकै बढी भक्तजन कालिका मन्दिरमा भित्रिएको अनुनमान छ, सिसी क्यामेरा, फूलप्रसाद बिक्रीको सङ्ख्या, भेटीको सङ्ख्या र एक किलोमिटरभन्दा लामो लाइन दिनभर भएकाले चैतेदसैँको मुख्य दिनमात्र तीन लाख दर्शनार्थी र चैतेदसैँभर छ लाख पर्यटक भित्रिएका छन्”, अध्यक्ष खड्काले भन्नुभयो, “चैतेदसैँमा बलीको सङ्ख्या घटे पनि नगद भेटी चढाउनेको सङ्ख्या बढेकाले एकैदिन रु ११ लाख भेटी सङ्कलन भएको हो ।” नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैतेदसैँ मेला यस वर्ष चैतको २० देखि २५ गतेसम्म चलिरहेको छ । नवरात्रको चौथो दिनदेखि नै कालिका मन्दिरको पार्किङस्थलले नथेगेपछि धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा पठाइएको थियो । चैतेदसैँ मेलामा रु तीन करोडभन्दा बढीको आर्थिक कारोबार हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा रहेको छ । कालिका मन्दिरका कारण बागलुङको पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन व्यवसायी एञ्जिल शाक्यले बताउनुभयो । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकाको मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ । चैतेदसैँ मेलामा घरायसी प्रयोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुहरुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ ।
जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुमपश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवं भवनहरु चर्किएको विवरण जनाएको छ । अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ, “भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरुको अनुशासनपूर्वक पालना गर्न सबैमा प्राधिकरण विशेष अनुरोध गर्दछ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उहाँले बताउनुभएको हो । “हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”
बैङ्कक: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले बैंककमा पत्रकार सम्मेलन गरेकी छन् । प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन् । थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक थाइल्याण्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए। नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्याण्ड भ्रमण भएको थियो । शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए ।
पोखरा: नेपालका वनजङ्गल वर्षेनी डढेलोको चपेटामा पर्दै आएको छ । चैत–बैशाखको सुक्खायाममा एकै दिनमा देशका सयौँ स्थानमा डढेलो लाग्ने गरेको वन तथा भू–संरक्षण विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्र देशभरी ५ हजार २१७ स्थानमा डढेलोका घटना भएका थिए । सानातिना डढेलोका घटनाको लेखाजोखा नै हुने गरेको छैन । डढेलो फैलने क्षेत्रफल र त्यसले वनजङ्गलमा पु¥याउने क्षति आकलनबाहिर रहेको विभागका पदाधिकारी बताउँछन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदीप छत्कुलीका अनुसार गत साता मात्र देशका २७२ स्थानमा डढेलो लागेको थियो । पछिल्लो छ महिनामा डढेलोका कारण नौजनाले ज्यान गुमाएको उनले बताए । गत वर्ष वन डढेलामा परी १७ जनाको मुत्यु भएको थियो । “पछिल्लो समय डढेलोका घटना बिस्तारै बढ्दै गएको देखिन्छ,” उपसचिव छत्कुलीले भने, “वनजङ्गल नासिने मात्र नभएर डढेलोका बहुअसर छन्, बर्सेनी ठूलो जनधनको क्षति डढेलोले निम्त्याइरहेको छ ।” उपसचिव छत्कुलीले डढेलोले वन विशास हुने, माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने, पानीका मुहान सुक्ने, भू–क्षय, बाढीजस्ता प्राकृतिक विपत् आदि समस्या निम्ताउने गरेको बताए । “एउटै जङ्गलमा पटकपटक डढेलो लाग्दा बोटबिरुवाका प्रजाति नै विस्थापित हुने, माटोको उर्बरा शक्ति घट्ने हुनसक्छ,” उनले भने, “वायु प्रदूषण बढ्नुमा पनि डढेलाको भूमिका रहेको देखिन्छ, यसले जैविक विविधतामा पनि प्रत्यक्ष असर पु¥याइरहेको छ ।” डढेलो लाग्दा जमिनको सतह खल्बलिने हुँदा बर्सातमा पानी पर्नासाथ त्यसले बाढीपहिरो निम्त्याउन सक्ने खतरा रहेको उपसचिव छत्कुलीले बताए । वनजङ्गल विनाश हुँदा पर्यावरण चक्रमा पनि ठूलो असर पुगिरहेको उनको भनाई छ । डढेलोका कारण वायुमण्डलमा फैलने विषाक्त धुवाँले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने गरेको उनले बताए । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिने हुँदा डेढेलो फैलने क्रम अझ बढ्दै जाने उपसचिव छत्कुलीको भनाई छ । सुक्खायाम लम्बिनु, हिउँदे वर्षा नहुनु, प्रिमनसुन ढिलो सुरु हुनु आदि कारणले डढेलोका घटनामा वृद्धि भइरहेको विज्ञहरु बताउँछन् । वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताए । “डढेलोको समस्या विकराल बन्दैछ”, उनले भने, “लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रणबाहिर गइरहेको छ ।” गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो चाँडो फैलने गरेको उनले बताए । वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिकको मानव बस्तीलाई असर पारिरहेको उनले बताए । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाई छ । “अन्ठाउन्न प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ,” उपसचिव थापाले भने, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोका घटना बढिरहेको देखिन्छ ।” आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उनको भनाई छ । “डढेलोले जैविक विविधतामा ह्रास ल्याउनाका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ”, उनले भने, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेलिरहेको हुन्छ ।” वर्षेनी बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि जनशक्ति र स्रोतसाधनको उचित प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताए । “परम्परागत तरिकाले मात्र अब डढेलो नियन्त्रणमा लिन कठिन छ, तालिमप्राप्त जनशक्ति र पर्याप्त उपकरण चाहिन्छ,” उनले भने, “प्राकृतिक भू–बनोटका कारण पनि नेपालमा डढेलो चुनौतीको विषय बनिरहेको छ ।” डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गरिए पनि यसमा कमी आउन नसकेको उनको भनाई छ । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए । “वनमा अग्निरेखाको निर्माण, सरसफाइजस्ता कार्य नियमित गर्नुपर्छ”, उनले भने, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।” डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले भिरालो भू–बनोट भएका ठाउँमा डढेलो चाँडो फैलने गरेको सुनाए । जनसहभागिता जुटाउन नसके सुरक्षाकर्मी र कर्मचारीले मात्र डढेलो नियन्त्रणमा ल्याउन नसक्ने उनको भनाई छ । “डढेलोका घटना नियन्त्रण र न्यूनीकरण सबैको सरोकारको विषय हो,” उनले भने, “बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ, यसबाट बच्न जनचेतना अभिवृद्धिका साथै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीको खाँचो छ ।” डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको उनले बताए । वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने प्रमुख पन्थीको भनाई छ । “समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन, डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार र जनस्तरबाट समेत प्रभावकारी उपाय अबलम्वन गर्न जरुरी छ”, उनले भने, “समुदायमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।”
पाँचथर: वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन् । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिनुभयो । घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ । उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिनुभयो । हावाहुरी चल्नासाथ डढेलो वस्तीमा पस्ने खतरा रहेको उहाँको भनाइ छ । आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन् । यस्तै फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन् । दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो । रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ । ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको संख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरेको सुवेदीले बताए । रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उनले जानकारी दिए । पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ । 'विसं २०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्', उनले भने, 'अहिले करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो ।' सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए । बढ्दो डढेलो, जंगल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उनको भनाइ छ । रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरूक बन्नुपर्ने भन्दै स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताए । खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ । रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । यो लजालु स्वभाव हुनेहुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थी बताउँछन्
वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । स रकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू–बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए । विपद् व्यवस्थापन तथा जलवायुविद् डा धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा बर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए । ‘यो समयमा तापक्रम बढ्दै गएको छ, कृषिवस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन । पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो’, उनले भने, ‘तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ ।’ जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताइन् । ‘बिहीबारदेखि हल्का हावा चल्ने सम्भवना छ । तर प्रदूषण हटाउने किसिमको हावा चल्दैन’, उनले भने, ‘पानी भने अर्को साता पर्ने सम्भवना पनि देखिन्छ । तर माहाशाखाले पूर्वानुमान मात्र गर्ने भएकाले लामो समयमा पूर्वानुमान नमिल्न पनि सक्छ । किनकि त्यो बेलासम्ममा परिवर्तन हुनसक्छ ।’ मानन्धरले वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै भिजिबिलिटी (पारदर्शिता) कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको बताइन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्र्वाधार निर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ । ‘काठमाडौँ कचौरा आकारमा पनि छ । पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन । जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ’, उनेले भने । जेठसम्म वायु प्रदूषण उच्च विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुँवा, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ । विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । डढेलोको कारण प्रदूषण डढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए । ‘बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ । मुलुकभर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ’, उनले भने, ‘हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवाहरू नुहँदा आगो नियन्त्रण गर्ने जनशक्तिको अभावले अझै चुनौती छ । डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन ।’ मुटुरोगीलाई बढी असर पछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउँछन्। मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा । ‘मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदयघात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ’, उनल भने, ‘प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ । माक्सको प्रयोग गर्नुपर्छ ।’ आँखामा समस्या तिलगङ्गा आँखा प्रतिष्ठानका आँखारोग विशेषज्ञ डा मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग)जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थीलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गरे । ‘अहिलेको प्रदूषणले आँखा चिलाउने वा सुक्खा हुनेहुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ । प्रदूषणले आँखा चिलाउने, सुन्निने र अत्यधिक पानी बग्ने एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ । यहाँ आउने बिरामी पनि आँखा पोल्यो भन्नुहुन्छ’, उनले भने, ‘प्रदूषण बढी भएका ठाउँमा चश्मा वा सनग्लास लगाउने, आँखालाई बारम्बार सफा पानीले धुने, प्रदूषण प्रभावित क्षेत्रमा कम समय बिताउने, सकेसम्म घर बाहिर ननिस्कने, आँखा सुक्खा भएमा औषधि प्रयोग गर्ने, पोषणयुक्त खाना खाने र यदि समस्या बढ्दै गएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।’ छालामा पनि समस्या छालारोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिए । ‘प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ । जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन् । डन्डिफोर पनि आउन सक्छ । छालाको चमक हराउन सक्छ’, उनले भने, ‘प्रदूषणले छालाको रोग प्रतिरोधी क्षमता कम गर्न सक्छ, जसले गर्दा विभिन्न प्रकारका सङ्क्रमण हुनसक्छ । छाला सुक्खा हुने र चिलाउने समस्या आउनुका साथै छालाको क्यान्सरसमेत हुनसक्छ ।’ यसैगरी पुडासैनीले वायु प्रदूषणका कारण घाम तथा हावामा धेरै समय बस्ने वा काम गर्ने व्यक्तिको छालामा बढी असर गर्ने र प्रदूषणका कारण कम उमेरमा नै छाला चाउरिएर बुढ्यौलीपनजस्तो देखिने बताए । ‘छालालाई प्रदूषणबाट जोगाउन नियमित रूपमा सफा पानीले अनुहार सफा गर्ने, सकेसम्म घर बाहिर ननिस्कने, निस्कनै पर्दा सनक्रिम लगाउने, घर बाहिर निस्कँदा मास्क लगाउने र प्रदूषणबाट छाला जोगाउन उचित स्याहार आवश्यक छ’, उनले भने,’यदि छालासम्बन्धी समस्या लामो समयसम्म रहन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।’ गर्भवती प्रभावित काठमाडौँ नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताए । गर्भवतीले धुमपान गर्न हुँदैन, जसरी धुमपानले बच्चाको वृत्तिविकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ’, उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि राज्यले नीति नै बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यस्तो बेलामा सकेसम्म गर्भवतीहरू घर बाहिर ननिस्कने, निस्कनै पर्दा माक्सको प्रयोग गर्नुपर्छ ।’ जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाव वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताए । ‘अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ । तीन सय कट्नेबित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ’, उनले भने, ‘अहिले प्रदूषणको अवस्था घटबढ हुँदा घोषणा गर्नु पर्दैन । तर प्रदूषण बढ्दो छ । कसरी सतर्कता अपनाउने ? व्यापक जनचेतनासहित प्रदूषण बढिरहेमा आपत्कालीन अवस्था पनि घोषणा गर्नुपर्छ ।’ स्वच्छ वातावरणको हक खोइ ? वातावरण कानुनका विज्ञसमेत रहनुभएका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्वता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानवअधिकार नै हनन भएको भन्दै टिप्पणी गरे । ‘यतिबेला एकदमै प्रदूषण बढिरहेको छ । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिए पनि नागरिकले मौलिक हकको प्रत्याभूति गर्न पाइरहेका छैनन्’, उनले भने, ‘अनि संविधानमा व्यवस्था भएको मौलिक हक राज्य सञ्चालकका लागि मात्र हो त ? नागरिकले खै प्रत्याभूति गर्न पाएका ? अब न्यायिक निष्पक्षतामा अनुसन्धान हुनुपर्छ ।’ नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ । धारा ३० को उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन भनी उल्लेख छ । संविधानको भाग ४ मा उल्लेखित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ । नीतिगत व्यवस्था कस्तो छ ? काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ¬्कन गरिने रणनीतिमा उल्लेख छ । ‘औद्योगिक तथा अन्य क्षेत्रबाट निस्कने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिने छ । उद्योग र अन्य व्यवसायहरूबाट निष्काशन हुने प्रदूषणयुक्त धुवा, धुलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइने छ’, नीतिमा उल्लेख छ, ‘घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्न सौर्य चुलो, विद्युतीय चुलो, बायोग्यास, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणको प्रवर्द्धन गरिने छ । ऊर्जा किफायती भवन निर्माणमा जोड दिइने छ ।’ काठमाडौँ उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् । सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँबु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ । दीर्घकालीन रणनीति आवश्यक वातावरणविद् भूषण तुलाधारले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुकभर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । ‘अहिले प्रदूषण बढिरहेको बेला तत्काल के गर्ने भनेर सरकार तयार हुनुपर्छ । डढेलो नियन्त्रण गर्ने, खुला ठाउँमा आगो लगाउन नदिने, जनचेतान अभिवृद्धि, धुँवा निकाल्ने सवारीसाधनलाई कडाइका साथ कारबाही गर्नेलगायत काम गर्नुपर्छ’, उनले भने, ‘दीर्घकालीन रूपमा चाहिँ विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने, सुधारिएको चुलोलाई प्रथामिकता दिने गर्नुपर्छ । वायु गुणस्तर कार्ययोजना मुलुकभर तत्काल बनाउनुपर्छ ।’ राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ । “घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ’, तुलाधारले भने, ‘नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।’ प्रदूषण नगर्न निर्देशन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताए । ‘जसले प्रदूषण गर्नुभएको छ, प्रदूषण नगर्नका लागि हामीले निर्देशन दिएर सुझाव दिएका छौँ । प्रदूषकलाई कारबाही भने गर्न सकिरहेका छैनौं’, उनले भने, ‘वातावरणीय प्रदूषण न्यूनीकरणका लागि निर्देशन नमान्नेलाई कारबाही पनि गर्छौं ।’ महानिर्देशक सुवेदीका अनुसार प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशन गरेर सुझाव दिइएको छ । विभागले डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न, घरायसी ठोस तथा प्लाष्टिकजन्य फोहर र कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँधुलोको यथोचित नियन्त्रण गर्न सुझाव दिएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले आज शोक बिदा दिइएको छ । वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो । केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए । वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।