पर्सा:   पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएक...

महोत्तरी:     माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् ।      पछिल्लोपटक माघे सङ्क्रान्तिसँगै बढेको लगातारको बाक्लो हुस्सु र त्योसँगै बहने चिसो स्याँठले दलित बस्तीका पराले झुप्रामा ओसले लछ्रप्प भिजाएको भुइँ अझै ओभाएको छैन । बस्ने भनौँ कि सुत्ने खरको भित्ता र परालको छानोका केही झुप्रा छन् । झुप्राभित्र न ओढ्ने, न ओछ्याउने केही छैन । केवल पराल ओछ्याइएको छ, त्यो पनि ओसले भिजेको छ । अहिले महोत्तरीका सबैजसो स्थानीय तहका गरिब बस्तीको अवस्था हो यो । खासमा मुसहर र बाँतर जाति समुदायका बस्तीमा जाडोको कहरले अझै छाडेको छैन ।      पुस मध्यपछिको शीतलहर काटेर अन्त्यतिर घाम देखिन थालेपछि यसपालिको कष्ट पार लगाइयो भन्ने सोचेका यस्ता बस्तीका गरिबले तिला सक्रायत (माघे सङ्क्रान्ति) राम्ररी मनाउन पाएनन् ।  आफ्ना अभाव र दुःख लुकाउँदै मनाइने तिला सक्रायत (माघे सङ्क्रान्ति) कै दिन बढेको हुस्सु र चिसो स्याँठले लगलगी मुटु कमाउने जाडो बढेपछि गरिब बस्तीमा पर्वको रौनक छाउन नसकेको ती बस्तीका दलित बताउँछन् ।  “जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” (पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?)।  पारोजस्तै सो बस्तीका मुसहर र बाँतरका ५० परिवार अहिले राहत पर्खदैछन् । नजिकको भङ्गाहा–४ रामनगरको मुसहरी टोलकी हेमनी सदा मुसहर जाडोले कक्य्राएको शरीर अझै कतै काममा जानसक्ने नभएको बताउनुहुन्छ ।   “कतो काज कर नई जासकैछी, झुपडीमें आब न खाएके दाना अई, न पहिरके कोनो गरम कपडा” (जाडोले कतै काम गर्न जान सकेको छैन, झुप्रोमा अब न खाने अन्न छ, न न्यानो कुनै लुगा) हेमनी भन्नुहुन्छ, “आब नई बुझाइय, जे इ ठण्ड पार करब” (अब लाग्छ, यो चिसो काट्न सकिन्न) । हेमनी मात्र नभएर सो बस्तीका ३५ घर मुसहरको उस्तै अवस्था छ ।       जिल्लामा अति विपन्न अरु जाति समुदाय पनि छन्, तर मुसहर, बाँतर भने अन्यभन्दा निकै कष्टमा छन् । यी दुबै जाति समुदायजस्तै मेस्तर, डोम, खत्बे, हलखोर, चमार र पासवानसहितका दलित समुदायको अवस्था दयनीय देखिन्छ ।  यद्यपि, यी समुदाय बाँतर, मुसहरभन्दा आमरुपमा अलि उक्सेका जस्ता देखिन्छन् । कुनै बस्ती छिचोल्दा पराले झुप्राका गुजुमुज्ज बस्ती देखिएपछि सो ठाउँबारे अनजानले पनि यो मुसहर, बाँतरको बस्ती रहेछ भनेर लख काट्न सक्ने भङ्गाहा–४ को मुसहर बस्तीकै नजिकका ७५ वर्षीय वृदेवसिंह दनुवार बताउनुहुन्छ ।       मुसहर, बाँतरको भन्दा यी अरु समुदाय थोरै माथि देखिन्छन् । यिनमा पनि डोम, हलखोर र मेस्तर अरूभन्दा निम्सरा नै देखिने सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष एकडाराको भटौलिया बस्तीका प्रवीण कर्ण बताउनुहुन्छ ।  “मुसहर, बाँतरका उस्तै पराले झुप्रा हुन्छन्, यी दुबैको रहनसहन, चाडपर्व र कामको क्षेत्रपनि मिल्दाजुल्दा छन्”, कर्ण भन्नुहुन्छ, “यी समुदाय शिक्षा, स्वास्थ्य र अन्य विकासका अवसरबाट निकै पछि छन् ।”      शिक्षा, स्वास्थ्यमा पहुँच र विकासका अन्य अवसरबाट पूरै बेखबर यहाँका मुसहर र बाँतरको मुख्य काम कृषि मजदुरी हो । आफ्नो गरिबी र अभावबारे भगवान्बाहेक कसैसँग यिनीहरुको गुनासो छैन । ‘न राख्ने अन्न, न साँच्ने धन’ आहानका लागि मुसहर, बाँतर उदाहरणमा उभ्याइन्छन् ।  गिरहतको (काम गर्न गइने धनी किसानलाई यिनीहरु गिरहत भन्छन्) खेतबारीमा गरेको कामबापतको बनी (पारिश्रमिक) ले ल्याएको अन्न यिनीहरु कहाँ सामान्यतया बासी रहन्न । ‘कुटी ल्यायो, भुटी खायो’ यिनीहरुका लागिको चलनचल्तीको अर्को आहान हो ।       पछिल्लो माघे सङ्क्रान्तिका दिनदेखि अचाक्ली बढेको जाडोबीच यिनको तातोको सहारा भनेको सडकमा फालिएका झुत्रा, पतिङ्गर र प्लास्टिकका टुक्रा जम्मा पारेर बालिएको ‘घूर’ (आगो सल्काइएको पतिङ्गर वा भूसको थुप्रो) हो ।  लछ्रप्प भिजेका यस्ता झुत्रा, प्लास्टिकका टुक्रा र पतिङ्गर राम्ररी नबलेर पचपची धुँवामात्र फाली रहे पनि यिनीहरुका सपरिवार त्यही ‘घुर’ वरिपरि बसेर ‘फू फू’ फुक्दै तातिने आसमा हात फैलाएर बसिरहेका देखिन्छन् । बस्तीका ससाना नानी नाङ्गो आङ्मै त्यही ‘घूर’ को सहारामा तातो खोजिरहेका देखिन्छन् ।      जिल्लामा मुसहर, चमार, पासवान, डोम र खत्बे धेरथोर सबै स्थानीय तहमा बसोबास गरे पनि हलखोर र मेस्तरको बसोबास जलेश्वर वरपर मात्रै भेटिन्छ । यसैगरी, बाँतर जिल्लाको भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन् । मुसहर र बाँतरको मुख्य गुजारा खेती मजदूरीमा छ भने अन्य भने अरु काममा पनि देखिन्छन् । डोम सुँगुर पाल्ने र बाँसका चोयाको सामान बनाउँछन् । मेस्तर सरसफाइको काम गर्छन् ।       जिल्लामा कुल जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ भित्र यी सबै दलितको बसोबास झन्डै १५ प्रतिशतको हाराहारीमा छ । जिल्लामा मुसहर २७ हजार तीन सय ५२ र खत्बे १९ हजार ६ सय २५ जनसङ्ख्या रहेको २०७८ को राष्ट्रिय जनगणना तथ्याङ्कले देखाएको छ । यसैगरी, डोम, हलखोर र मेस्तरसमेत १० हजारको हाराहारीमा छन् । जिल्लामा चमार २५ हजार दुई सय ३० र पासवान १७ हजार ६ सय नौ रहेको सो गणना तथ्याङ्कले देखाएको छ ।       बर्खाको भेल, गृष्मकालको गर्मी र शीतकालीन चिसो खेप्नु यिनीहरुको साझा नियति झैँ बनेको छ । राज्यका निकायहरुले दलित लक्षित ल्याएका कार्यक्रम पनि दुई÷चार टाठाबाठाबाहेक आम गरिबसम्म नपुगेको यहाँका बुद्धिजीवी बताउँछन् । “खै यिनीहरु जस्ताको त्यस्तै छन्, दलित लक्षित कार्यक्रम कहाँ पुग्छन् को नि !” औरही–१ का सामाजिक राजनीतिक कार्यकर्ता सरोज यादव भन्नुहुन्छ ।      पुस मध्यपछि शीतलहर बढ्दा कतिपय स्थानीय तहले गरिब बस्तीमा राहत उद्धार लगिने बताए पनि यहाँका गरिबले केही पाएका छैनन् । खासगरी दलितभित्र पनि मुसहर र बाँतरको अवस्था दलितभित्रकै अन्य जाति समुदायको भन्दा टिठलाग्दो छ ।  यस्तो बेला कोही दयालु आइहाल्छन् कि भन्ने आस लागे पनि आपूmहरुको दुःख हेर्न कोही नआएका भटौलियाको मुसहर बस्तीकी अइती सदा बताउनुहुन्छ । भटौलिया जिल्लामा मुसहरको निकै बसोबास भएमध्येको बस्ती हो । यहाँ एक सयभन्दा बढी मुसहर परिवारको बसोबास रहेको सो बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता विजय कर्णको भनाइ छ ।       मुसहर, बाँतर बस्तीमा किशोर र युवा उमेरका पुरुष देखिन्नन् । यी कामका लागि भारतको पञ्जाव, हरियाणा जाने गर्छन् । बस्तीमा महिला, ससाना नानीहरु र वृद्धवृद्धा मात्रै छन् । “के गर्नु हजुर, यहाँको बनीबुतोले मुखमा माड लाग्दैन, छोरा नाति पञ्जाव गएछन्, तिनैले ल्याउने पैसोले गुजारा चल्ने हो” औरही–७ को मुसहरीटोलका ६० वर्षीय भुठ्ठा सदा भन्नुहुन्छ, “यस्तै हो, भगवान्ले गरिबको जुनी दिएछ, काट्नु त पर्छ ।”      जिल्लाका अति पछि परेका मुसहर र बाँतर परिवारमा मीठो खाने कुरा छोरा, नाति पञ्जाव जाने अघिल्लो रात र फर्केका दिन हुन्छ । जाने दिन साहु काढेर यिनीहरु भोेज गर्छन्, फर्केको दिन आफ्नो कमाईले । यसबाहेक चुनावका बेला उम्मेदवारहरुले ख्वाएका मासु–रक्सी यिनीहरु सम्झन्छन् ।  “चुनावबेर दु तीन दिन माउस आ दारु चल्लै, ओइके बाद कोई घुइरक नई आयल” (चुनावका बेला दुई÷तीन दिन मासु–रक्सी चल्यो, त्यसपछि त कोही फर्केर आएका छैनन्) भङ्गाहा–२ बखरीको मुसहरीटोलकी नाउँ बताउन नखोज्ने (यी समुदायका महिला अरूलाई आफ्नो नाउँ भन्न हिच्किचाउँछन्) महिलाले भन्नुभयो, “अखनी जाड स मरैछी, कोई नई तकैय” (अहिले जाडोले मर्न लाग्या बेला कसैले हेरेनन्) ती मुसहर समुदायकी महिलाले आफ्नो पीडा पोख्नुभयो ।       मुसहर, बाँतरसहितका दलितको अवस्था फेर्न उनीहरुले गर्दै आएका कामको विविधीकरण र नयाँ पुस्तालाई शिक्षा र भरपर्दो सीपसँग जोड्न स्थानीय तहहरुले योजनाबद्ध काम थाल्नुपर्ने भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ । यस दिशामा स्थानीयतह नेतृत्व उदासीन देखिँदा वर्षको एकपटक एक÷दुई छाक खान दिँदा वा एकसरो लुगा दिइँदैमा भने अवस्थामा सुधार नआउने उहाँले बताउनुभयो ।

ललितपुर:   ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ ।  विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् ।       ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जन    बताउनुहुन्छ । मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार खोकनाको नेवा बस्ती आदिमकालदेखिको हो । विशेषगरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ ।        उहाँ भन्नुुहुन्छ, “हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डङ्गोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ, नेवा परम्परा र संस्कृतिको संरक्षण गर्न ललितपुर महानगरपालिका र सरोकारवाला सबैको ध्यान जानुपर्ने जरुरी छ ।”      आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डङ्गोलको भनाइ छ ।  उहाँ भन्नुहुन्छ, “मौलिकता र संस्कृति बचाउनका लागि नेवारी संस्कृतिमा प्रयोग हुने बाजाको संरक्षण गर्दै आएका छौँ, बाजा संरक्षणका लागि ललितपुरका वडा र महानगरपालिकाले सहयोग गर्नुपर्ने हो ।”      नेवारी संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ गतेको बाढीको समयमा भत्केको स्थानीय बताउँछन् । उहाँका अनुसार, ऐतिहासिक मौलिक घर भत्किएपछि वाद्यवादनका सामग्री अर्को साथीको घरमा सारिएको छ । मौलिकता संरक्षण गर्नेहरूका लागि सरोकारवालाले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।       खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डङ्गोलको नेवा शैलीको मौलिक घर निकै जीर्ण अवस्थामा छ । मदनकृष्ण डङ्गोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुलीबत्ती बलेको घरका रुपमा चिनिन्छ । नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ ।       खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रुपमा स्थापना गर्नुभएको थियो । विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्र्खाइमा रहेको छ । ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मञ्जुरीमा खोकना सङ्ग्रहालयका रुपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ ।      खोकनाको मौलिकता बचाउनका लागि चारवटा ऐतिहासिक मिलको पुनःनिर्माण गरेको वडाध्यक्ष महर्जन बताउनुहुन्छ । उहाँका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ । खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी ढुङ्गेधारा मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनःनिर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उहाँको भनाइ छ ।       उहाँ भन्नुहुन्छ, “भूकम्पपछि मौलिक घर भत्केपछि धेरैले नयाँ घर निर्माण गर्नुभयो, हामीले मौलिकता बचाउनका लागि नयाँ घर पनि नेवा शैलीमा निर्माण गर्न लगाएका छौँ, नेवा शैलीमा निर्माण भएका घरहमा सटर राखिएको छैन, काठ प्रयोग गरिएको छ, मौलिकता बचाउनका लागि स्थानीयसँग बसेर छलफल गरेका छौँ, त्यस्तै खोकनाको मुख्य नेवा बस्तीको घरजग्गा किनबेच हुँदैन, संस्कृति बचाउनका लागि हामीले भाषासहित बालबालिकाहरूलाई नेवार परम्पराअनुसार खेलिने खेल खेलाइरहेका छौँ ।”

बागलुङ:   भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ ।   त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।   आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजना अन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका-६ र बागलुङको जैमिनी नगरपालिका-८ को सिमाना पालुङ खोलादेखि मालढुंगसम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।   उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए ।   उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले  चिसोले गर्दा काम रोकिएको उहाँको भनाई छ ।   पालुङ खोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्री बताउँछन् ।   उनले भने , “बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।”   कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ ।   तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धन ठूलो टेवा पुर्‍याउने उनको भनाई छ ।   “कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरहवासँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रूपमा विकास हुँदै गएको छ,” उनले भने “अब गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरूले राख्नुपर्छ ।”   नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुंगा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याई दिएको छ ।

पोखरा:  कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव एक दिन थप भएको छ ।   महोत्सव माघ  ६ गते सम्पन्न गर्ने भनिएता पनि कार्यक्रमहरुको चापले गर्दा एक दिन थप गरिएको संयुत्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए ।   महोत्सवमा खुल्ला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगितातर्फ आदिमकला  मञ्च पोखरा प्रथम, लम्तरी युवा क्लब भाचोक द्धितीय, चिप्ली युवा क्लब मादी–६ तृतीय भएका छन् । विजयी समूहले क्रमश २० हजार, १५ हजार र १० हजार ट्रफी प्राप्त गरेका छन् ।   त्यसैगरी वक्तृत्वकला प्रतियोगिता तर्फ प्रभात आधारभूत विद्यालय मादी–८ का खुशी भुजेल प्रथम, सेवा मिलन आधारभूत विद्यालय मादी–१०का अनित क्षेत्री द्धितीय, नारयण आधारभूत विद्यालय मादी–८ का अनिस परियार तृतीय भए ।   यस्तै छेलो हान्ने प्रतियोगिता तर्फ रुपा–१ का अरुण विक प्रथम, मादी–११ का रोशन गुरुङ द्धितीय भए । उनीहरुले क्रमश १२ हजार र ६ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरे ।   यसैगरी पुरुष रसि तान्ने प्रतियोगिता तर्फ रवैडाँडा सिपाही टोल मादी–८ प्रथम, नागीधार टोलका युवाहरुको समूह द्धितीय भए । विजयी समूहले क्रमश १५ हजार, १० हजार नगद र प्रमाण पत्र प्राप्त गरे ।   महिला समूह तर्फ मादी–१० थुम्सी कोट महिला समूह प्रथम, मादी–८ पाखुरीकोट महिला समूह द्धितीय भए । विजयी समूहले १० हजार, ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरे ।   महोत्सवमा भएको खुल्ला सेभेन ए साइड पुरुष फूटबलतर्फ नागीधार एफसी ए र नागीधार एफसी वि सेमिफाइनलमा पुगेका छन् ।   सोमबार काहो एफसी वुढिबजार र पाखुरीकोट एफसी ए बिच पहिलो क्वाटर फाइन खेल र पाखुरीकोट एफसी वि  सोथर एफसी बिच दोस्रो क्वाटर फाइन खेल हुने छ । सोमबार नै सेमिफानल र फाइनल खेल हुने खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।   कार्यक्रममा मादी गाँउ पालिकाका अध्यक्ष देवीजंग गुरुङ,  उपाध्यक्ष कल्पना गुरुङ साथै एन आर एन ए युकेका प्रमुख संरक्षक मेजर डमर घले, समाजसेवी नर बहादुर गुरुङ , संयोजक ओम प्रकाश गुरुङ , नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।   कार्यक्रमका प्रमुख अतिथि मादी गाँउ पालिकाका अध्यक्ष देविजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, मादी–१० का वडा अध्यक्ष कृष्णबहादुर गुरुङ, मादी–८का जनप्रतिनिधि लालबहादुर गुरुङ र नेपाली काँग्रेस मादी–८ का सभापति राजेन्द्र अधिकारीले बोलेका थिए ।   महोत्सवमा चर्चित गायिका उसा गुरुङ, प्रीय गुरुङ, जिफानका महासचिव लब्सन गुरुङले सांगितिक प्रस्तुति दिएका थिए ।   नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।   नागीधार गाउँको सर्वा·िण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो ।   महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने छ ।

स्याङ्जा:  चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने दोस्रो पटक चयन भएका छन् ।   चौथौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानै सर्वसम्मत चुनिदै अध्यक्ष्मा दोहोरिएका हुन् ।   न्यौपाने नेतृत्वको सो समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ, महिला उपाध्यक्षमा पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँड र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ चुनिए ।    यस्तै सदस्यहरुमा उमराज गुरुङ (राज), भिमनारायण कोइराला, श्याम बिक, भानबहादुर कुमाल, सूर्य गोतामे, गोपबहादुर बिक, अर्जुन रेग्मी, चुरामणी अर्याल र श्याम गुरुङ चयन भए ।    यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले सबै क्षेत्रका व्यवसायीहरु उपभोक्तामुखी हुनुपर्ने धारणा राखे ।    उनले व्यवसाय नाफामुखीमात्र नभएर उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिएका थिए ।   कार्यक्रममा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडाध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), उपाध्यक्ष पुष्पा अर्याल  लगायतले बोलेका थिए ।  

पोखरा:    मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा  नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले बुवाको बारेमा कविता , मञ्जिता पाख्रिनले आमाको बारेमा कविता प्रस्तुत गरेका थिए ।  प्रिन्सेस घिसिङ तामाङले कौरा नृत्य, पुर्णिमा थिंङ्ग तामाङले लिम्वु जातिको प्रयोग गर्ने सिलामसात्मा बुनेर देखाएका थिए । यसैगरि अर्का प्रतियोगी सुनिता तामाङले आफुले  उनीको धागोबाट तयार पारेका बिभिन्न हस्तकलाका सामाग्री प्रर्दशनी गर्नुका साथै प्रत्यक्ष बुनेर देखाउका थिए ।  शिशा लामाले आफै गिटा बजाउदै गीत गायकी थिइन् भने सुप्रिया गोले तामाङले नृत्य प्रस्तुत गरेका थिए । यसैगरि अर्का प्रतियोगी पुर्णिमा लामाले कविता वाचन, सुमिना तामाङ नृत्य, जमुना लामाले सेल्फ मेकअप र सोनिका तामाङले नृत्य प्रस्तुत गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन शिबुले तामाङ समुदायका चेलीहरुलाई भाषा, धर्म, संस्कार र संस्कृतिका बारे जानकारी गराउँदै ब्यक्तित्व विकासका लागि यो कार्यक्रमलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने  बताए ।  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापाले महिला सशक्तीकरण तथा युवा पुस्तामा संस्कार संस्कृति हस्तान्तरणका लागि मिस तामाङ पोखरा लोकप्रिय रहेको बताए । गीतकार तीर्थ तामाङले कुनै पनि समुदायको पहिचान उसको भाषा र संस्कृति हुने भएकाले यसको जगेर्नामा युवा पुस्ताको चासो रहन पर्नेमा जोड दिए । बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका तालिम तथा मिडिया संयोजक सन्जय मल्ल, राम लामा, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, कार्यक्रम संयोजक रोश्मा तामाङ, कोरियोग्राफर जिता तामाङले बोेलेका थिए ।  प्रतिभा प्रस्फुटन कार्यक्रममा निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष कन्चन थापा, एसके डान्स स्कुलका सन्चालक एवम सुपरमम् २०७१ एपविजेता माया लामा रहेका थिए ।   सोनाम ल्होसारको अवसरमा माघ १२ गते पोखरा सभागृहमा हुन लागेको प्रतियोगिहरुलाई बिभिन्न बिषयमा तालिम प्रदान गरिएको छ ।  तालिममा  पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, बैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए । यसैगरि अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसका बारेमा आभ्या क्लब, तामाङ समुदायको रितिरिवाजका बारे नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले नृत्य कला सिकाएका थिए ।  यसगरि विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ व्युटी एकेडेमीका सौन्दर्यविद चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक एवम फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी र नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले लिडरसिपका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । माघ १२ शनिबार हुने ग्राण्ड फिनालेमा विशाल काल्तान लगायतका कलाकारको प्रस्तुती रहनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।

गुल्मी:    यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।      नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताउनुभयो । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो ।  निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो ।       यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृद्धि गरी सातामा चारपटकसम्म उडान गर्दै आएको थियो । समय समयमा निगमका जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुईपटक र एकपटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो ।       निगमसँग थोरै मात्र ट्विनअअटर जहाज रहेका बताउँदै जहाजहरूको इन्जिन साइकल सकिएपछि सेवा अवरुद्ध बनेका विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो ।  दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएका र ग्राउन्डेड भएका जहाजको मर्मत गर्ने काम भइरहेकाले जिल्लामा सेवा नियमित हुन अझ केही समय लाग्ने उहाँले बताउनुभयो ।      पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट निगमले साताका एकपटक बिहीबार मात्र उडान गर्दै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो ।       निगमले काठमाडौंबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौंका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ ।       यहाँबाट काठमाडौंका लागि २१ महिनाको अवधिमा एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन् । हालसम्म दुवैतर्फबाट गरी दुई हजार दुई सय ५३ यात्रुले हवाई सेवा लिएका स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो ।       पछिल्लो समयमा हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्यधिक चाप हुँदाहुँदै पनि निगममा जहाज अभाव हुँदा नियमित सेवा सञ्चालन गर्न नसकिएको थापाले बताउनुभयो ।  

ढोरपाटन:    निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् ।  पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ ।  भल्कोटमा मात्र नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रूपमा लिने गरिन्छ । पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ । युवापुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षणमा जोड दिएका हुन् । मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था पनि लागेका छन् ।  नाच संरक्षणका लागि तिलाचन युवा क्लबले अग्रसरता लिएको छ । क्लबले पुराना पुस्ताबाट युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ । हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवा बढिरहेका छन् ।  सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरू भएको यकीन नभए पनि बाइसे चौबीसे राज्य हुँदादेखि नाच्दै आइएको बूढापाकाको भनाइ छ । बाउबाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय ७७ वर्षीय भाजवीर घर्तीमगरले बताउनुभयो । “पुतली नाच मैले जान्ने हुँदादेखि नै नाच्ने गरिन्थ्यो, अहिले म सात दशक बढी भएँ, नाच्दै आइएको छ, हामी सानोसानो हुँदा बाउबाजे नाच्थे, मैले त्यही देखेर सिकेको”, घर्ती मगरले भन्नुभयो, “अहिलेका युवाहरूले पनि सिक्दैछन्, गर्दैछन्, यो संस्कृति कहिलेदेखि सुरू भएको भन्ने थाहा छैन, तर हाम्रा बाजेहरूले सयौँ वर्ष पुरानो हो भन्ने गर्थे ।” किन नाचिन्छ पुतली नाच ? तत्कालीन बाइसे चौबीसे राज्य सञ्चालनका समयमा राजारानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नान नाच्न थालेको स्थानीय नैनासिंह बुढामगरले बताउनुभयो । बुढामगरका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।  राजा, रानी र धाइमा गरी तीनवटा मूर्तिजस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्धहरू पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् ।  माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।  माघ २ गते साँझ पुतली बनाउन सुरू गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदासम्म स्थानीय युवाहरू डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतलीजस्तै बनेका मान्छे नाच्छन् । उनीहरूले शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरू दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।  भालुको पित्त देगाउने अचम्मको प्रचलन पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देगाउने गरिन्छ । दिनभरि पुतलीजस्तै बनेर नाच्ने मानिसको बीचमा कापै खेल्ने १०–१२ जना युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन् । पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् ।   उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरूले भालु भन्छन् । कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्निे गर्छन् भने बेलाबेलामा उत्तानो पारेर देखाइ दिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् । देख्दा अस्वाभाविकजस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको प्रचलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर।।। लगायत सुन्न पनि अत्न्यतै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लिल शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ६६ वर्षीय मनबहादुर घर्तीमगरले बताउनुभयो ।  “यस्तो खालको संस्कृति देख्दा बाहिरबाट आउने मान्छेलाई नराम्रो लाग्छ होला तर यो ठाउँमा धेरै वर्ष पहिलेदेखि नै भालुको पित्त देखाउने गरिन्छ, अन्य समयमा यस्तो हुँदैन, जुन दिन पुतली नाचिन्छ, त्यही भालुको पित्त देखाउने गरिन्छ”, घर्ती मगरले भन्नुभयो, “पहिले त अझै बढी चल्थ्यो, तर अहिले विस्तारै कम हुँदै गएको छ, भालु बनाएर यौनाङ्ग देखाउने मानिसको पहिचान खुलाउनु हुँदैन ।” सेनाको तालिम ‘पट्टा नाच’ पुतली नाचसँगै माघ ३ गते नै पट्टा नाच नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरू आफँै गर्दछन् । पहिले पुराना ढाल तरबारको प्रयोग हुने गरेकामा पछिल्लो समय काठलाई पट्टा बनाएर नाच्ने गरेको उहाँको भनाइ छ ।   संरक्षणमा गाउँपालिकाको चासो स्थानीय सरकार आएपछि बढी पुतली नाच चर्चामा आउन थालेको छ । प्रचारप्रसारका कारण पश्चिम बागलुङ यो नाच निकै लोकप्रिय बन्दै गएको छ । पाँच वर्ष अगाडिको तुलनामा नाच हेर्न आउने दर्शक पनि बढेका छन् । नाच हेर्नका लागि बागलुङका निसीखोलासहित तमानखोला, ढोरपाटन तथा गुल्मी, प्युठान, रोल्पा र रूकुमबाट हजारौँ दर्शक आउने गरेका छन् ।   मगर समुदायको पहिचानसँग जोडिएको पुतली नाच मौलिक संस्कृति भएको हुँदा पालिकाले बर्सेनि बजेट व्यवस्थापन गरेर व्यवस्थित गर्दै गएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले पाका पुस्ताबाट युवा पुस्तामा कला र संस्कृति हस्तान्तरण गर्नका लागि प्रशिक्षणलगायत काम गर्ने गरेको उहाँको भनाइ छ । “यस खालको नाच सायद नेपालमै छैन होला, हामी कला, संस्कृतिका हिसाबले धनी छौँ, नयाँले नसिकेपछि लोप भएर जान्छ कि भन्ने चिन्ता त हुन्छ नै यद्यपि समय–समयमा युवापुस्तालाई सिक्न प्रेरित गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिका यहाँका सङ्घसंस्थालाई पनि कला, संस्कृति संरक्षण गर्न सक्रिय बनाइरहेको छ, बजेट विनयोजन गर्ने र अन्य पक्षलाई पनि ध्यान दिएका छौँ ।”

बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ ।   सेवा सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूख बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।   दशक अगाडिसम्म रमाइला गाउँ बस्ती अचेल रित्तिएर उराठ लाग्दा छन् ।   झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ ।   घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठे खोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ ।   बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका-५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ ।   पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे । “गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्य बाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उनले भने, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्‍यो ।”   काठे खोला गाउँपालिका-५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे ।   हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।   गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । उनले भने, “हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्‍यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।”