पर्सा:   पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएक...

काठमाडौं:    हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु  ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।  गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।        विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पु¥याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ ।      आज पुस १५ गतेदेखि गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गरिएको उहाँले बताउनुभयो । गरुड वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोरकिशोरीदेखि बालबच्चा र वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ ।       नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातिले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ ।  यी जातिहरुमा मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ ।       तमु जातिहरूको परम्परा धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिका रूपमा यस पर्वलाई लिइने गरिएको छ । बाह्रवटा जीवहरूका नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ ।       ल्होसार आदिमकालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा लिइने गरिएको छ ।  पहिले तमु जातिको ल्होसार पर्व नस्लको  हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युगदेखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने हुनाले छ÷छ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमु जातिको गुरुले निर्धारण गरेको बताइन्छ ।  पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने प्रचलनसमेत छ ।       प्राकृतिक एवम् तम संस्कारअनुसार पुस १५ लाई नै आधार मानी तमु जातिहरूले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको सो समुदायका अगुवाहरूको भनाइ छ । तमु भाषामा वर्ग भनेको वर्ष हो ।  तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग हो र सार भनेको नयाँ भन्ने परम्पराअनुसार नै प्रत्येक पुस १५ लाई नयाँ ल्होसार भनेर मनाउँदै आएको बताइएको छ । तमु जातिको एक वर्षमा एउटा ल्हो को पूरा हुने भन्ने परम्परा रहेको पाइन्छ । प्रत्येक १२÷१२ वर्षमा  आउने आ–आफ्नो ल्हो र त्यो ल्हो फेर्न एक वर्ग लाग्छ । त्यसलाई नै तमु भाषामा ल्होकोर भन्ने गरिन्छ ।       गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा इलाममा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत कार्यक्रमहरू हुने भएको छ । इलाम नगरपालिका–६ मा निर्माणाधीन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिनुभयो । इलाम गुरुङ समाजले ल्होसारका अवसरमा पुस १४ र १५ गते खानाका परिकार प्रदर्शन गर्ने भएको छ ।      भेडाको मासु, ढिँडो, नारेपा ९लोकल रक्सी० लगायतका परिकार आफ्ना समुदाय र पाहुनाहरूलाई चखाउने प्रचलन रहेको बताइएको छ । नयाँ उत्पादन गरेको अन्नबाट निर्माण गरिएका परिकारसँगै सो समुदायबाट उत्पादन गरिएका वस्तुहरू समेत चखाउने गरिएको छ ।  यसैगरी, पुस १४ गते इलाम चियाबारीमा ल्होसार खुल्ला कवितावाचन प्रतियोगिता भएको छ । साथै इलाम–१५ मा नै घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ ।      पुस १५ गते गुम्बामा लामा गुरुहरुद्वारा पूजापाठ र बालबालिकाका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मूल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिनुभयो ।  गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्वकालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकार राखिने समितिका सचिव उमेश गुरुङले बताउनुभयो । सो समुदायले पुस १५ गते ल्होसार पर्व मनाउँदै आएको बताइएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष भयो ।   मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल खोलेर २०५४ देखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् ।   समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ ।   विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।   विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, 'काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।'   मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो ।   तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएकी छन् । छाली र चिउरा प्रति बटुका एक सयमा बिक्री गर्ने गरिएको छ ।   विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् ।   एउटा छोरीले  स्नातकोत्तर उत्तीर्ण गरेकी छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् ।   तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आएकी हुन् ।

ढोरपाटन:  नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ ।    अ​हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।    अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिए  ।   उनका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उनको भनाई छ ।    जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल सुनाउँछन् ।   बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उनले बताए ।   प्रमुख पौडले भने, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।”   जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन ।   विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताए ।   विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्योग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोखे ।   “सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भने, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”

कञ्चनपुर:     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् ।   टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाजोशी प्रहरी नायब उपरीक्षक उमेश ले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।   'प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, “न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।”   उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो ।    त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पु¥याइएको छ ।   न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ । 

पोखरा:    नेपाल मगर संघ गण्डकी प्रदेश समितिको आयोजनामा यही पुस १९ गते पोखरामा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुने भएको छ ।  नेपाल मगर संघ गण्डकी प्रदेश समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मगर संघ कास्कीको समन्वयमा गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सव हुन लागेको जानकारी दिएको हो ।   नेपाल मगर संघ गण्डकीकी अध्यक्ष तारामाया थापामगरले संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको लागि महोत्सव आयोजना गरिएको बताइन् ।    ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको छ, नेपालको कुल जनसंख्यामा मगर समुदाय तेस्रो स्थानमा रहेको छ’, अध्यक्ष थापामगरले भनिन्, ‘मगर समुदायको संस्कार सस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण लागि हामीले पुस १९ गते मगर सांस्कृतिक महोत्सव आयोजना गरेका हौं ।’   पुस १९ गते पोखरा सभागृह हलमा हुने गण्डकी प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने अध्यक्ष थापामगरले बताइन् ।    ‘हामीले पोखरामा आयोजना गर्न लागेको प्रदेशस्तरीय मगर सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशको १० जिल्लामा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै छौं, उनले भनिन्, ‘हामीले पहिलो पटक आयोजना गरेको मगर सांस्कृतिक नृत्यले संस्कार संस्कृति पुस्ता हस्तान्तरण र खोज अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगर समुदायका प्रचलित कौराहा÷कानराहा, झ्याउने÷झाबुरा, कृष्णचरित्र, यानीमाया, पुख्यौली सोरठी, सालैजो, थाली नाच, ज्यू मामै, मारुनी, भुम्या लगायतका सांस्कृतक लोकनृत्यहरु प्रस्तुत हुनेछन् ।    महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका ३ सय ६५ बढी कलाकार र १० हजार बढी दर्शकको उपस्थिति रहने नेपाल मगर संघ गण्डकीले जनाएको छ ।    

भोजपुर:    जिल्लाको बोखिममा जिप दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उहाँले जानकारी दिनुभयो ।  गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । उहाँले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका जानकारी दिनुभयो । 

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज  ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने २ भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।  बिपी २– ए ७५६८ नम्बरको  ट्रिपर सडकबाट करिब ३ सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।  गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ ।  नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ । 

काठमाडौं:     विसं १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो ।  उहाँले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, नपुरान्जालाई पाँच मौजा पांमा, मांगमा, तेवें, वोश्रनिमा र तापंनागोलाई स्याहामोहर जारी गर्नुभएको थियो ।  स्याहामोहरमा मानिसले प्राप्त गरेको जग्गा उपभोग गर्दै राज्यको सेवा गर्नु भनिएको थियो । उक्त स्याहामोहर वनेम फागोसँग पाइयो । स्याहामोहरमा उल्लेखित व्यक्तिहरु वनेम फागो नै भएका र निजहरू सेनकालीन दरबारमा मन्त्री, काजी वा जागिरे रहेको पुष्टि हुन्छ ।      सेन राजाले लिम्बू, खम्बू, याक्खा, आठपहरिया र याम्फूलाई राय, राये, राई भनी स्याहामोहर प्रदान गर्नुभएको थियो । हरिहरसेनको राज्यकाल विसं १७१३ देखि १७३८ सम्म मानिन्छ ।  उहाँले भारतको गोण्डावारसम्म राज्यविस्तार गरी आफूलाई हिन्दूपति राजा घोषणा गर्नुभएको थियो । तीन सय ४८ वर्ष पुरानो यो स्याहामोहर भगिराज इङ्नामद्वारा सङ्कलित तथा प्रकाशित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तकको पहिलो दस्तावेजका रूपमा राखिएको छ ।  इतिहास अन्वेषक रमेश ढुङ्गेलमार्फत यो दस्तावेज लिइएको सङ्कलक भगिराज इङ्नामले उल्लेख गर्नुभएको छ ।       इतिहासकार इङ्नाम नेपाली इतिहास लेखनका लागि कुनै नयाँ नाम होइन । उहाँको पहिलो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ले विसं २०७८ मा मदन पुरस्कार प्राप्त गरिसकेको छ । सोही पुस्तकको अर्को अंश वा भागका रूपमा हालै ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ प्रकाशित भएको हो ।  माथी उल्लेखित स्याहामोहरको प्रसङ्ग केवल यो पुस्तकमा सङ्ग्रहित तथा सङ्कलित एक दस्तावेज उदाहरणका रूपमा मात्र प्रस्तुत गरिएको हो । यस पुस्तकमा विसं १७३३ देखि २०२५ सम्मका महत्त्वपूर्ण तीन सय ८५ वटा दस्तावेज सरल र बुझिने गरी अनुवादसहित प्रस्तुत गरिएका छन् ।        तत्कालीन् शासकले जारी गरेका भोजपत्र, स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, कस्यपत्रम् र लिखित अभिलेख यस पुस्तकमा सङ्ग्रहित छन् ।  त्यतिमात्र नभइ शिलालेख, धनकुटा मार्गाथानको घण्टीको लेख र तिब्बती लिपिको पाँचवटा दस्तावेज यहाँ प्रस्तुत गरिएको छ । लेखकले यो पुस्तक अघिल्लो पुस्तकमा छुटेका दस्तावेजको पूरक एवं निरन्तरता हो भन्नुभएको छ ।       अघिल्लो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ जति रोचक र महत्त्वपूर्ण पुस्तकका रूपमा प्रकाशित भएको थियो, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पनि उत्तिकै महत्त्वपूर्ण मानिएको लेखक इङ्नामले बताउनुभयो ।      अघिल्लो र यी दुवै पुस्तकमा समावेश अभिलेख अध्ययन गर्दा इतिहासमा रुची हुने पाठकले एक अभिलेख पढ्न नभ्याउँदै अर्को पल्टाउन मन लाग्ने किसिमका रहेका उहाँको भनाइ छ ।  विषयसूची हेरेर पुस्तक अध्ययन गर्ने हो भने पनि आठ सय ५० भन्दाबढी पृष्ठको यस पुस्तकका कम्तिमा ५० देखि एक सयवटा अभिलेखमा पाठकको ध्यान तानिन्छ । विषयसूचीमा आकर्षक किसिमका शीर्षक राखिएका छन् । ‘छोराले खाएको ऋण बाबुले तिर्नु नपर्ने’, ‘राईबाट फुटी नयाँ राई भएको’, ‘कन्ने केटीलाई करणी गरे दण्ड नलाग्ने’, ‘करणी मुद्दामा सात सुब्बाको फैसला’ लगायत हुन् ।      पुस्तकमा समावेश दस्ताबेजमा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहबाट अभिमानसिंहलाई प्रदान गरिएको लालमोहरमा विजयपुर सेन राज्यका देवान बुद्धिकर्णलाई ‘राई’ भनिएको तर विसं १८२४ र १८२९ मा बुद्धिकणले जारी गर्नुभएको स्याहामोहरमा बुद्धिकर्ण ‘राय’ भन्ने उल्लेख गरिएको रोचक विषय समावेश छन् ।  पृथ्वीनारायण शाहले विसं १८३१ मा पुनी रायलिम्बूलाई प्रदान गर्नुभएको, लालमोहरमा सिरिंग्या लिम्बूसहित दरबारमा मिल्न आए सिरपाउ–पुरस्कार दिने भनी प्रलोभन देखाएको प्रसङ्गले त्यस समयमा सिरिंग्या लिम्बू गोरखाली सेनाविरुद्ध रहेछन् भनेर अनुमान गर्न सकिन्छ ।      यी र यस्ता सयौँ रोचक तथ्यले भरिएको छ, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक । सङ्कलक तथा लेखकको मेहनत कति छ भनेर सामान्य पाठकले अनुमान नै गर्न सक्दैन ।  यत्तिको दस्तावेज सङ्कलन गर्नका लागि कति समय र मेहनत गर्नुप¥यो होला भनेर लेखकले सरसर्ती पुस्तकमा उल्लेख गर्नुभएको छ, तर पाठकले पुस्तक अध्ययन गरेपछि लेखकले उल्लेख गर्नुभएको भन्दा बढी मेहनत यस पुस्तकमा भएको बताउन सकिन्छ । पुस्तकमा उल्लेखित दस्ताबेजहरूले तत्कालीन समग्रमा पल्लोकिराँत अर्थात् लिम्बुवानको इतिहासलाई जस्ताकोतस्तै प्रस्तुत गरेको छ ।       तत्कालीन ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतका धेरै इतिहास मिथक अर्थात् मौखिक रूपमा मात्र सुनिँदै आएकामा यस पुस्तकका लेखक तथा सङ्कलक इङ्नामले त्यसलाई तथ्यसहित दस्ताबेजीकरण गर्नुभएको छ ।  जुन कार्य इतिहासमा एक सर्वकालिक महत्त्वपूर्ण काम होभन्दा अत्युक्ति हुँदैन । पुस्तकले विभिन्न बहसका लागि पनि सहज पारिदिएको छ । राई, लिम्बु, सुब्बाजस्ता थर वास्तवमा थर हुन् कि पदवी ? राई, राइ हो कि राय ? यस्ता अनेकन् तथ्य यहाँ सङ्ग्रहित दस्तावेजमा उल्लेख छन् । जसलाई एउटा आधार मानेर थप तथ्य पत्ता लगाएर सदियौँदेखिका विवादलाई समाधान गर्न सहज बनाइदिएको छ ।       दस्ताबेजले तत्कालीन् इतिहासमात्र देखाउँदैन, त्यतिखेरको पल्लोकिराँतको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई उजिल्याउने काम गरेको छ । चेतनास्तर, ससाना थुम्का र गढीहरूमा रहेर शासन गर्ने प्रणाली, सङ्घीय राजधानीमा रहने शासकसँगको सम्बन्धलगायत विषयका बारेमा जानकारी दिन्छ ।       विसं १८३१ पछि राई र लिम्बुलाई तत्कालीन् शासकले फुटाएर ‘फुटी सुब्बा’ वा ‘फुटी राई’ बनाएको प्रसङ्ग लेखकले आफ्नो लेखकीयमा उल्लेख गर्नुभएको छ । जसका कारण धेरै लिम्बु फुटी सुब्बा हुँदा जग्गाविहीन बनेको उहाँले निष्कर्षको रुपमा लेख्नुभएको छ । कतिपय किपटभूमि खोस्ने काम त्यतिबेलै भएको उहाँको ठहर छ ।       मुन्धुम एकेडेमीले प्रकाशन गरेको यस पुस्तकको सह–प्रकाशनमा ताप्लेजुङ र मोरङका एक÷एक गाउँपालिका तथा तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिकाले सहयोग गरेका छन् । स्थानीय सरकारले इतिहास लेखनमा सहप्रकाशकको रूपमा सहयोग गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छ ।       डा त्रिरत्न मानन्धर र जगदीश रेग्मीको हस्तलिखित भूमिका पुस्तकको सुरुमा राखिएको छ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका प्रमुख तथा इतिहासका अध्येता अर्जुनबाबु माबुहाङले लेखक भगिराज इङ्नाम र लिम्बुवानको इतिहास लेखनबारे स्पष्ट पार्नुभएको छ । दस्ताबेजका स्रोत व्यक्तिहरुको नाम र दस्ताबेज अनुवादकको नाम राखेर लेखकलाई सबैलाई सम्मान गर्नुभएको छ ।       निजामति सेवाबाट निवृत्त लेखक पूर्वप्रशासकसमेत हुनुहुन्छ । यस पुस्तकको मूल्य रु दुई हजार कतिपयका लागि महङ्गो लागेपनि यहाँ समावेश भएका दस्ताबेजको अध्ययनपश्चात् उक्त मूल्य थोरै महसुस हुन सक्छ ।  तसर्थ क्षेत्रीय रूपमा कमै मात्र लेखिएको राजधानी काठमाडौँ पूर्व र त्यसमा पनि ओल्लोकिराँत अर्थात् लिम्बुवानबारे इतिहास बुझ्नका लागि सबैभन्दा पठनीय सङ्ग्रहको रूपमा यो पुस्तक किन्नु उपयुक्त हुन्छ । त्यसका लागि सम्भव भएमा लेखकका अघिल्लो पुस्तक पनि किन्न सकेमा पाठकका लागि सुनमा सुगन्ध हुने प्रकाशकको भनाइ छ ।

इलाम:    इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ ।       यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज  केहेरसिंह योङहाङले सुनाउनुभयो । उहाँका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन ।      माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ ।       करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ ।       गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज  केहेरसिंह योङहाङले बताउनुभयो । उहाँका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उहाँको जिकिर छ ।       किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता ९ईश्वर० ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ ।       किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ ।       माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो ।       धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए ।       गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताउनुभयो ।