धनकुटा:    बुढाहाङ सेवामा वढाङमी नाचको रन्को अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,  हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), न...

काठमाडौं:    आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ । सदाझै यो वर्षको तीजमा पनि उहाँ फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त हुनुभयो । आज उहाँ दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त हुनुभयो । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उहाँको अनुभव छ । तीजमा व्रत बस्नु उहाँको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । “तीजको बेग्लै धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।” अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त हुनुभयो । तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ । कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाउनुभएको छ, त्यति उहाँको वास्तविक जीवनमा मेल खाँदैन ।  तीजको दिन उहाँ चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त हुनुभयो । उहाँलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उहाँको उत्सव हो । त्यसैले उहाँको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन । गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुग्नुभयो । तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुग्नुभएको उहाँले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याउनुभयो ।  स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उहाँको अनुभव छ । तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसक्नुभएकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउनुभयो । “भोकै बसेर पर्व मनाउने होइन”, उहाँ भन्नुहुन्छ, “नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ ।  मैले यसरी मनाउँदै आएकी छु ।” गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको उहाँले बताउनुभयो । दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिनुभएका उहाँले एक महिनामा राम्रो आम्दानी गरेको सुनाउनुभयो ।  तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिनुहुन्छ । उहाँ फलफूल खाएर व्रत बस्नुहुन्छ भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।”

काठमाडौं:    धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।       व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।         सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाउनुभयो ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।       संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।        “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।       श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।  “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा  बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”,उहाँले भन्नुभयो ।      नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।     समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व  छ ।      व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।  ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।        पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा            यो व्रत सक्ने नीराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।      महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।  पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । महिनाँै अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा स्थापित गर्न खोजेको छ ।      यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा यसका लागि तोकिएको छ ।       बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।

झापा:    वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।       कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् ।       दुवै सामुदायिक वनलाई डिभिवन वन कार्यालयले मेसिन अनुदानमा उपलब्ध गराएको जनाएको छ । रु पाँच लाख मूल्य बराबरको मेसिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।       उहाँले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाइ छ ।       सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उहाँको भनाइ छ ।      यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मेसिन भने पहिलो पटक ल्याइएको हो । दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन सुरु गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।

दमौली:    व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ ।   फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन ।   पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।   “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले घरबाटै वर्गीकरण गरेर सङ्कलन भइरहेको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा केही हदसम्म फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।”   फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ ।   भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । नगरप्रमुख न्यौपानेले भन्नुभयो, “उहाँले धनगढी, वालिङलगायतका क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापनलगायतका काम उदाहरणीय रूपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सोअनुभवका आधारमा यहाँ पनि व्यवस्थापनको काम अगाडि बढेको छ । नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरू छुट्टाएर त्यसलाई मेसिनले कम्प्रेस गरेर केही आम्दानीसमेत गरिरहेका छौँ ।”   सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहनुभएको छ ।   नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ ।   फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।   बत्तीस वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएकाले अब दीर्घकालीन योजनासहित समस्या समाधानको पहल भइरहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।   “विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । अहिले जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । त्यसपछि थप समस्या समाधानका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो । न   गरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ ।   बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन हुँदै आएको छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको जनाइएको छ ।

गण्डकी:    तपाईलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भन्नुभयो, “म त्यही गीतको खोजीमा छु ।” घुमाउरो जवाफ फर्काउँदै उहाँले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उहाँको बुझाइ छ ।       गीत लेखनमा दुई दशक बिताउनुभएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाउनुभयो । उहाँका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् ।       “मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्”, उहाँले भन्नुभयो, “माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।” पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताउनुभयो ।      बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहनुभएका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताउनुभयो । “गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु”, उहाँले भन्नुभयो, “प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।”       पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झै उहाँ प्रेमगीतका भक्त हुनुहुन्छ, भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताउनुभयो । “सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन”, उहाँले भन्नुभयो ।      सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसक्नुभएको छ । केही गीतमा उहाँको स्वर र सङ्गीतसमेत छ । स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झर्नुभएका उहाँले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उहाँका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए ।       विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा...’ उहाँको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ ।  “गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो”, उहाँले विगत कोट्याउनुभयो, “सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।” उहाँले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाउनुभयो ।       सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उहाँ काठमाडौँ पुग्नुभयो । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाउनुभयो । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उहाँको भनाइ छ ।      नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा...’ जस्तो चर्चित गीत लेख्नुभयो । बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उहाँलाई थप उचाइमा पु¥यायो ।       सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्नुहुन्थ्यो । एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उहाँले बताउनुभयो । “टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा...’ फु¥यो”, गीतको रचनाबारे उहाँले भन्नुभयो, “हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उहाँले धुन तयार गरेर मलाई पठाउनुभयो ।”       सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पार्नुभएको सुवेदीले बताउनुभयो । त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गर्नुभएको थियो ।  “कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो”, उहाँले भन्नुभयो । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिनुभएको छ । भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झनुभयो ।       त्यसअघि सुवेदीले लेख्नुभएको ‘जोगीको भेषैमा...’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको...’, ‘शीतल दिने पिपल स्वामी छ...’, ‘अझै कन्य हो...’, ‘बर्बर आँशु झर्दा खेरीमा...’ जस्ता गीतले उहाँलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाउनुभएको छ । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उहाँका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उहाँ गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिनुहुन्छ ।       “थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ”, सुवेदीले भन्नुभयो । गीत लेखेरै आफू बाँचेको उहाँले बताउनुभयो । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उहाँको भनाइ छ ।       सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डो¥याएको सुवेदीले बताउनुभयो । “न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ”, उहाँले भन्नुभयो, “सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।”      आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । “गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो”, सुवेदीले भन्नुभयो, “रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।” पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।      चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उहाँले आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्छ ।  सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उहाँले कहिल्यै नबिर्सने बताउनुभयो ।  गायक क्षेत्री अमेरिकामा हुनुहुन्छ भने सङ्गीतकार थापासँग उहाँको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको...’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन् ।       उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिनुभयो । नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन।।।’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उहाँले सुनाउनुभयो । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डो¥याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याउनुभएको छ । उहाँको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ ।       सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसक्नुभएको छ । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिनुभएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताउनुभयो ।  “बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ”, रासससँगको कुराकानीलाई बिट मार्दै उहाँले कवि तीर्थ श्रेष्ठको कविता सम्झिनुभयो–       हामीले लेखेर आएका छौँ     हिउँमा आ–आफ्ना नामहरु     एकछिनमा हिउँ थपियो भने     रहने छैनन् हाम्रा नामहरु     हामी रहँदारहँदै      नरहने हाम्रा नामहरु      हामी नरहँदा      कसरी रहलान् हाम्रा नामहरु ! 

म्याग्दी:    सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ ।      धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो ।      पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गङ्गाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् ।  मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो ।      बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।      हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुङ्गा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गर्नुभयो । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उहाँको भनाइ छ ।       बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताउनुभयो ।  सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उहाँको भनाइ छ ।      नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साबिकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो ।  उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न÷नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि विसं २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो ।       तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न÷नगराउन मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको हो ।      यस्तो छ कालीगण्डकीको महत्व      कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रुपमा रहेको विषयलाई कसैले बिर्सन नहुने सरोकार भएकाहरुको भनाइ छ ।      राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।  “विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ”, उहाँले भन्नुभयो ।      कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, उहाँले भन्नुभयो ।      कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ ।      ‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र      बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र      तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम      काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’      राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेख्नुभएको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुलीले उल्लेख गर्नुभयो ।  शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् । नदीको संरक्षण गरी जलसङ्कट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभभयो ।

पोखरा:      पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ ।   ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।   आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् ।   उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् ।   महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली हुनेछ । वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन हुनेछ । साथै, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ ।   दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुनेछन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ ।   संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छिन् ।   कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् ।   ‘पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ ।   प्रथमले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई ५÷५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था छ । एउटा टिममा बढीमा ७ जनासम्म कलाकार हुनुपर्नेछ । ७ मिनेटमा गाएर सक्नुपर्नेछ ।   अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए ।   उनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवानले विविध कार्यक्रम गर्दै आएकोमा यो महोत्सवले पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिए ।   संस्थाका सल्लाहकार बोबरजंग गुरुङले अचेल पदयात्रा मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा यसखालका मेला महोत्सवले सघाउ पुग्ने बताए ।   संस्थाका निवर्तमान अध्यक्ष रेणु थापाले महोत्सव सफल पार्न हरेक निकायबाट सहयोगको अपेक्षा गरिन् ।    

दमौली:    ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् ।   भिरकोटबाट दमौलीतर्फ जाँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।   दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।