फुङ्लिङ: लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ । “तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।
बागलुङ (गलकोट): गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउनुहुन्छ । पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार जोगाउन मुस्किल भएको श्रेष्ठको भनाइ छ । यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ । भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ । कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिनुभयो । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए । यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ । बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताउनुभयो । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् । आर्थिक रूपमा र कलाकार जोहो गर्न पनि कठिन हुन थालेपछि जोगाउनै मुस्किल परेको मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । हुनमान नाचमा यस पटक रु १५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रूपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउन कठिन भएको उहाँको भनाइ छ । रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ । हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ । बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।
कञ्चनपुर: कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरा महेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया (गीतकार) मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै सुरु भएको छ । सुदूरपश्चिमका गाउँ बस्ती यति बेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलदेखि पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देव गाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ । “देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन्, कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त बताउनुहुन्छ । “यसमा समाजका राम्रा नराम्र पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।” देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नहुने उहाँले बताउनुभयो । “सुदूरपश्चिममा पहिलेपहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाँडपर्वमा पनि खेल्दै आएको पाइन्छ”, उहाँले भन्नुभयो, “गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।” डेउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रित रुपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुःख, मायाप्रेम, हास्याव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गर्ने गिरी बताउनुहुन्छ । “माया पीरतीका कुरा देवीदेवताका कुराकानी गीतमार्फत सवालजवाफ गर्नेगर्छौं,” गिरीले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित डेउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीत मात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु डेउडा खेल हो । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी ठाउँमा देउडा खेल सुरु भएको छ । केही ठाउँमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनाँैसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ । गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेल पनि खेलिन्छन् । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्मक रूपमा गाइन्छ ।” ठाडो खेलका गायक विश्राम भट्टले भन्नुभयो, “ठाडो खेलमा मादलको तालसँगै पैतला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मक रुपमा गाइने गरिन्छ ।” देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ ।
काठमाडौं: आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले संयुक्तरुपमा वर्णमाला सार्वजनिक गर्नुभएको हो । वर्णमाला सार्वजनिक हुनु लिम्बु समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले बताउनुभयो । “किरात सिरीजङ्गा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,” अध्यक्ष इधिङ्गोले भन्नुभयो, “हामीले भाषा र लिपि संरक्षणमा नयाँ इतिहास रचेका छौँ ।” सिरीजङ्गा लिपि लिम्बु समुदायमा पहिलेदेखि अभ्यासमा रहेपनि किरात समुदायका अन्य जातिहरुले यही लिपि प्रयोग गर्न थालेपछि यसलाई ‘किरात सिरीजङ्गा लिपि’ नामाकरण गरी वर्णमालाको रुपमा पहिलो पटक प्रकाशन गरिएको याक्थुङ युवा मञ्चले जनाएको छ ।
काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल रानीपौवा महिला समूहले दाँतको क्यान्सरबाट ग्रसित बिरामी गोकुल रिमाललाई आर्थिक सहयोग गरेको छ । पोखरा महागनगरपालिका ११ स्थित रानीपौवा महिला समूहको अगुवाइमा संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ रिमालकै निवासमा पुगेर समुहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी (कोइराला) सहित समुहका सदस्यहरुले हस्तान्तरण गरिन् । मानवीयता र सामाजिक उत्तरदायित्व बहन गर्दै रिमालको उपचारमा थप सहयोग पुग्ने विश्वाससहित आर्थिक सहयोग गरेको सचिव लिलादेवी पौडेलले बताइन् । पौडेलका अनुसार महिला समूहमा आबद्ध ७१ जना सदस्य र अन्य व्यक्तिहरुबाट उक्त रकम संकलन भएको थियो । समूहले न्यूनतम २० रुपैया देखि ५ हजार १ सय ५ रुपैयासम्म प्रति व्यक्तिबाट सहयोग स्वरुप उक्त रकम संकलन गरेको थियो । बर्दीया स्थायी घर भएका रिमालले विगत डेढ दशकदेखि पोखरामा ट्याक्सी चलाउदै आएका थिए । रिमाल परिवारका अनुसार उनलाई विगत २ महिना अघि मात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको थियो । रिमालको एउटा शल्यकृया भएपनि थप उपचारकालागि करिब ५ लाख रुपैया आवश्यक भएको उनको परिवारले जनाएको छ । ४४ वर्षीया रिमालको श्रीमती र २ छोरी छन् । उनको थप उपचारका लागि परिवारले थप सहयोगको आग्रह गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल उक्त समुहले यसअघि आँखा शिविर, फेवाताल सरसफाई, ट्राफिक सचेतना, टोल सरसफाई, डेंगू सचेतना अभियान, गाइजात्रा तथा बाह्रभैरव नृत्यमा सहयोग लगायतका कार्यक्रम गरिसकेकोे संस्थाकी अध्यक्ष वेवी श्रेष्ठ (गोंगजु) ले जानकारी दिइन् । ३ वर्ष अघि स्थापना भएको यस संस्था सामाजिक र महिला सशक्तिकरणको क्षेत्रमा निकै क्रियाशिल रहदैं आएको छ ।
सुदूरपश्चिम: दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् । जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ । डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ । कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो । डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात विताएका छन् । डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ । घोडाघोडी नगरपालिका—९ मा शिवगङ्गा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शङ्करपुरलगायत क्षेत्र डुबानमा परेका छन् । पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् । “पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरुले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीयवासी ठाकुर चौधरीले भन्नुभयो, “पानीको निकास गरेर मात्र विकास गर्नुप¥यो ।” गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरुको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो । उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले सङ्घ र प्रदेश सरकारले नदी तटबन्धनजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो । अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ । दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ । डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व—पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडक सुरक्षित ‘सेल्टर’ (बासस्थान) बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन् ।
कैलाली: कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् । भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए। हसुलिया गौरीगंगा सुखडमा डुबान भएको छ। कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन्। कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ। स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।
काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयबागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्ल कालेखि शुरु भएको हो । एक वर्षयता दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको नरनारीको उल्लेख्य उपस्थिति थियो । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । त्यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ । यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।