धनकुटा:    बुढाहाङ सेवामा वढाङमी नाचको रन्को अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,  हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), न...

बागलुङ (गलकोट):    गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ । यसका लागि नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ ।      नगरपालिकाले कानुन बनाएर गत वर्षदेखि असला माछा संरक्षण सुरु गरेको थियो । जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० बनाइ दुवै खोलामा माछा मार्न रोक लगाएको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । “गत वर्ष पनि अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछाको पर्याप्त पाउन थालेको पाइएको थियो । यस वर्ष पनि तीन महिनाका लागि माछा मार्न रोक लगाइएको हो”, उहाँले भन्नुभयो । रोक लगाएको अवधिमा माछा मारेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।       नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले असला माछालाई यहाँको  ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको बताउनुभयो । उहाँले माछा मार्न पनि निश्चित व्यक्तिलाई मात्रै अनुमति दिने तयारी भइरहेको जानकारी दिनुभयो । अनुमतिप्राप्त व्यक्तिले मात्र माछा मार्दा रोजगारी सृजना हुने र नगरपालिकालाई राजस्व प्राप्त हुने उहाँले बताउनुभयो ।  यहाँ आउन अधिकांक पर्यटकले असला माछा खोज्ने गरेको होटल व्यवसायी कौशिला घर्तीले बताउनुभयो । यहाँ आउनेहरू अधिकांशका पहिलो रोजाइको परिकार नै असला माछाको हुने गरेको उहाँको अनुभव छ । “यहाँका असला माछा कोसेलीका रुपमा विदेशसम्म लैजाने गरिएको छ”, घर्तीले भन्नुभयो “माछा प्रतिकेजी रु एक हजार छ सयसम्म बिक्री हुन्छ ।” 

रामपुर (पाल्पा):    गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् ।   घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताउनुभयो ।   चालु आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीसवटा अण्डा पनि दिइने स्वास्थ्यचौकीले जनाएको छ ।   यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

काठमाडौं:     स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।   स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको  सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।    महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।    काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।   गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ । 

काठमाडौं:      प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।       नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पु¥याइ जलाएर पर्व मनाइएको हो ।           किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गथ्र्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो । उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् ।       भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथकशैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षर रूपी गठामङ्गल बनाइ बाहिर कपडाले मोडेर विभिन्न रङ्ग लगाइ टोलटोलमा घुमाएर जगातीमा बिसर्जन गरिन्छ । यो पृथक शैली भक्तपुरका भेलुखेल र दत्तात्रयमा मात्रै रहेको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिनुभयो ।       इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौं शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ ।  “आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने गरिन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ”, संस्कृतविद् डा श्रेष्ठले भन्नुभयो ।       गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवको प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ ।  भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाइ दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ ।       यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याउछन् । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्द प्रयोग गर्ने छुट रहेको संस्कृतकर्मी वैद्यको भनाइ छ ।       घण्टाकर्णको दाहसंस्कार गरी फर्किदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने र घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।       आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू हुन्छ ।    शक्तिपीठमा घुइँचो         यसैगरी भक्तपुरका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।      नेवार समुदायले आज बिहानै स्नान गरी शुद्ध भएर घरघरमा लिपपोत गर्ने, विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वको रूपमा पनि गठमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि मनाउने प्रचलन छ । आज फलामको औँठी लगाउने प्रचलन पनि छ ।

भद्रपुर (झापा):   स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।   हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।   जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।   पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

पर्वत:    गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ ।       यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो ।       बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको एकमात्र माविमा रहेका गरिब, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पोसाक वितरण गरिएको हो ।       आइतबार बनौँ माविमा एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको थियो । कार्यक्रममा जलजला गाउँपालिका–९ का वडाअध्यक्ष गौबहादुुर पुनले पोसाक वितरण गरेर क्लबले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । उहाँले विद्यालयको विकास र विद्यार्थीको सहजताका लागि यातायातको सुविधा मिलाइएकामा प्रशंसा गर्नुभयो ।       टाढाबाट पढ्न आउने विद्यार्थीलाई नियमित विद्यालय आउजाउ गर्न यातायातको सुविधा क्लबले मिलाएको छ । उक्त सुविधाका लागि चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको छ । गाउँमै सञ्चालित जिप तथा बसलाई वार्षिक रु तीन लाख दिएर नियमित विद्यालय लैजाने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।       यो सुविधासँगै टाढाका विद्यार्थीहरु आजैदेखि पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले डेढदेखि दुई घण्टा टाढासम्मका विद्यार्थीहरु पैदल हिँडेर पढ्न आउने गरेका छन् । कतिपय विद्यालय नजिकै डेरा लिएर बस्नुपर्ने बाध्यतासमेत रहेको क्लबका अध्यक्ष पुनको भनाइ छ ।       समयमै विद्यार्थी विद्यालय आउन पाउँदा उनीहरुको पठनपाठनमा सुधार हुने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुनले बताउनुभयो । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुँदा विद्यार्थी र अभिभावक हर्षित छन् ।       बनौँ युवा क्लबले बुद्धजयन्तीका अवसर पारेर गत जेठ १० देखि १९ गतेसम्म मेला सञ्चालन गरेको थियो । उक्त मेलाबाट खर्च कटाएर रु ११ लाख २५ हजार मुनाफा भएको थियो ।  मुनाफामध्ये रु ५० हजार स्थानीय बनौँ आमा समूहलाई वाद्यवादन सामग्री तथा पोसाक खरिदका लागि सहयोग गरिएको क्लबका सचिव लुक पुनले जानकारी दिनुभयो ।       मगर समुदायमा आयोजना हुने बुद्धजयन्ती मेलालाई मनोरञ्जन मात्रै नभई सामाजिक सेवामा जोड्न विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष पुनको भनाइ छ । मेलामा खेलकुदसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए । 

पोखरा:  नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ ।    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको हो ।   मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको पुरस्कार यही साउन १५ गते पोखराको ह्वाइटहाइस पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी  प्रदान गरिने संघका सचिव प्रविण थापा मगरले जानकारी दिए ।   उनका अनुसार राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित सो पुरस्कारको राशी नगद रु १० हजार रहेको छ ।   उक्त पुरस्कार मगर  जातिको भाषा, कला, धर्म, रितीरिवाज तथा संस्कार– संस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।    २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की) र खेम सारु मगर (कास्की) पुरस्कृत भइरहेका छन् । यस वर्ष पुरस्कृत हुन लागेकी झेंडीमगर विगत १५ वर्षदेखि पत्रकारिकतामा सक्रिय छिन् ।   उनी यसअघि बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी अहिले रेडियो मध्यविन्दु र नपलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् ।     १५ गते हुने उक्त कार्यक्रमकाबीच संघको तेस्रो अधिवेशनसमेत हुने अध्यक्ष विनु थापाले जानकारी दिइन् ।   उनका अनुसार प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका पूर्वा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सभा सदस्य रोशन गाहामगर रहेका छन् ।

गोरखा:   उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।   प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।   पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए ।   बेपत्ता हुनेहरुमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् ।   शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।