काठमाडौँ: राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ-तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काममा ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ। आयोजनाका लागि करिब १७ हजार छ सय ५१ रोपनी जग्गा आवश्यक पर्नेछ। त्यसमध्ये पाँच हजार चार सय ८७ रोपनी व्यक्तिको जग्गा हो। हालसम्म चार हजार आठ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने तीन सय ९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ। खोकना–बुङ्मती खण्डमा दुई सय छ रोपनी जग्गाको मुआब्जा वितरण भएको छैन। आयोजना निर्माणबाट वातावरणीय क्षति हुन नदिन पर्याप्त सजगता अपनाइएको सेनाले जनाएको छ। आयोजना क्षेत्रमा हालसम्म ३१ हजार सात सय ४३ रुख काटिएका छन्। ती रुखको सट्टामा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोपिएका छन्। निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५.३८ प्रतिशत भौतिक र ३६.६६ प्रतिशत वित्तीय प्रगति भएको छ। निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ। द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो। ती प्याकेजमध्ये द्रूतमार्गको ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए। प्याकेज नं ११ अन्तर्गत खोकना इलाकाको ० किमिदेखि ६.५ किमिमा द्रूतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ। आयोजनाको ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छन्। तीन सुरुङ निर्माणाधीन परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार छ मध्ये तीन वटा सुरुङ निर्माण भइरहेका छन् भने अन्य तीन सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य जारी छ। निर्माणाधीन तीनवटा सुरुङमार्गको लम्बाइ ६.६६९ किमिमध्ये ५.५२८ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएका छन्। ३.३२२ किमिको निजगढ-काठमाडौँतर्फको महादेवटार सुरुङ हालसम्म २.०२९ किमि तथा ३.३८६ किमिको काठमाडौँ–निजगढतर्फ २.२८८ किमि सुरुङ खनिसकिएको छ। सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी राति पनि काम भइरहेको सेनाले जनाएको छ। निजगढ–कामाठाडौँतर्फको १.६५३ किमि धेद्रे सुरुङ गत जेठ ११ गते ‘ब्रेकथ्रु’ भइसकेको छ भने १.७२८ किमिको काठमाडौँ–निजगढ सुरुङ यही महिनामा ‘ब्रेकथ्रु’ गर्ने तयारी छ। लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको १.६१२ किमि र काठमाडौँ–निजगढतर्फको १.६३३ किमि सुरुङ यसअघि नै खनिसकिएको छ। आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ वटा पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा छन्। बाँकी चारवटा पुल खोकना क्षेत्रमा रहेका छन्। सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ। निर्माणाधीन अधिकांश पुलको जमिनमुनिको काम सम्पन्न भई जमिनमाथिका काम भइरहेको छ। द्रूतमार्गमा ८१ मिटर अग्ला पुल निर्माण हुनेछन्। हालसम्म पाँच स्थानका पुल निर्माण भइसकेका छन्। सुरुङ र पुल मात्र २३ किलोमिटर प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ। द्रूत मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ। द्रूतमार्गमा १०.३०९ किमि लम्बाइको छ वटा सुरुङ बन्नेछन्। आयोजनाअन्तर्गत देवीचौरमा एक किमि, सिसौटारमा ०.३९ किमि, चन्द्रामभीरमा २.२५ किमि, महादेवडाँडामा ३.३५५ किमि, धेद्रेमा १.६९१ र लेनडाँडामा १.६२३ किमि लामो सुरुङ निर्माण हुनेछ।
दमौली: करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताउनुभयो ।
धनकुटा: भेडेटारमा स्काई टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पाकसर् एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो । टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास गर्नुभयो । भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार लागेको उहाँको भनाइ थियो । धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यस आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउने बताउनुभयो । यस परियोजनाले गाउँपालिका र भेडेटारको मात्र नभई कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले व्यक्त गर्नुभयो । धरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिनुभयो । आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौँ: काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो । साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने बित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।
जाजरकोट: जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । आज बिहान ढुङ्गामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् । दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका छजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छभने सङ्गीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
चितवन: नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् । भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर: कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो । उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/०८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए । उक्त कारबाहीबाट रु १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो । सो अवधिमा २ लाख ६९ हजार आठ सय २३ सवारी चालक कारबाहीमा परेका थिए । ३ हजार ८ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । ६ हजार ६ सय ४८ जना घाइते भएका थिए ।
तनहुँ: यहाँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माणका लागि क्रङ्क्रिटको काम नदी किनारमा बसेर गर्दा डाँडाबाट ढुङ्गा खस्ने हुँदा निर्माण प्रभावित भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भएको छ, “वर्षा रोकिएपछि निर्माणले गति लिने छ ।” आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता भइ काम भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते खरिद सम्झौता भइ विसं २०७५ फागुन १० देखि कार्यान्वयनमा आइसकेको छ । आयोजना निर्माणका लागि एसियाली विकास बैङ् (एडिबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर गरी ५० करोड ५० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।
गण्डकी: ९ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो । चौतारी र मन्दिरछेउ ढुङ्गा बिछ्याइएको चौडा गल्लीनेर हामी टक्क अडियौँ । जसलाई स्थानीय नेवार समुदायले ‘अखडा’का रूपमा लिने गर्छन् । हामी त्यहाँ पुग्दा स्थानीयवासीको चहलपहल सुरु भइसकेको थियो । पाकापुरानादेखि बालबालिकासम्म नारायणचोकमा भेला भएका थिए । केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो । युवाहरू नौ वर्षको अन्तरालमा आगामी भदौ ११ देखि सुरु गर्न लागिएको ऐतिहासिक हनुमान नाचको प्रशिक्षण लिँदै थिए । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट युवाहरूले उक्त कला सिकिरहेका थिए । बागलुङको नेवार समुदायमा प्रचलित हनुमान नाचको पूर्वाभ्यास सँगसँगै नयाँ पुस्तामा उक्त नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले हनुमान नाच संरक्षण परिषद्ले सो प्रशिक्षण चलाएको हो । यही साउन १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण यो महिनाभर चल्नेछ । पहिलोपटक प्रशिक्षण लिइरहनुभएका अनिल प्रधानलाई हामीले नारायणचोक भेट्यौँ । ऐतिहासिक नाचको सदस्य कलाकार हुन पाउँदा आफू उत्साहित उहाँले हामीसँग सुनाउनुभयो । “म लगायत केही युवा साथी पहिलोपटक हनुमान नाच नाच्दैछौँ, अग्रजहरूबाट आफ्नो सांस्कृतिक नाच सिक्न पाउँदा हामी खुसी छौँ”, उहाँले भन्नुभयो । नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदीप राजभण्डारीले आफू तेस्रोपटक हुनमान नाच नाच्न लागेको बताउनुभयो । “हाम्रा परम्परागत नाच, गीत नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने खतरा छ, यिनको जगेर्नाका लागि पनि बेलाबेलामा अभ्यास तथा प्रशिक्षण भइरहनुपर्छ”, उहाँले भन्नुभयो, “यसपालिको हनुमान नाचमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहनेछ, नाचको अभ्यासका क्रममा पनि किशोर र युवाहरूको आकर्षण बढी देखिएको छ ।” प्रशिक्षण सहभागीमध्ये झण्डै ४० जना नाचका लागि छनोट हुनेछन् । तीमध्ये अधिकांश युवा रहनेछन् । वाद्यवादनतर्फ पनि आठदेखि दस जनासम्म छनोट हुने जनाइएको छ । विसं २०७२ पछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “भदौ ११ गते मङ्गलबारदेखि सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन हुनेछ”, उहाँले भन्नुभयो । भदौको पहिलो या दोस्रो मङ्गलबार पारेर नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ । “नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दश तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ । विसं १७६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उहाँको भनाइ छ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन् । बागलुङ बजारका विभिन्न टोल, बस्ती र माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाइने हनुमान नाचका प्रधान कजी ९व्यवस्थापक० ईश्वर मलेपतीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायत ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । भक्तपुरबाट सुरु भए तापनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको उहाँको भनाइ छ । “धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो पनि छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा पनि खर्च बढी हुन्छ”, उहाँले भन्नुभयो । नाच सञ्चालनका लागि प्रधान कजी ९व्यवस्थापक०, उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ । हनुमान नाच बागलुङकै सांस्कृतिक धरोहरका रूपमा रहेको उहाँले बताउनुभयो । देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा कलाकार नाच्ने गरेको वाद्यवादक निरज शाक्यले बताउनुभयो । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । “बाजाको ताल छोपेर नाचिरहेका बेला कतै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिरका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।” हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो । “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाचद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज पनि राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार ९ज्यामाको० नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् । नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । पछिल्लो समय युवापुस्ता पनि हनुमान नाचप्रति आकर्षित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो । नेपाल भाषा मंका खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पुस्तान्तरण नहुँदा नेवार समुदायमा प्रचलित कतिपय नाच लोप हुने अवस्थामा रहेको बताउनुभयो । बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउने चुनौती थपिएको उहाँको भनाइ छ । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायत सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसाह्रो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।” अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा राख्नुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरू एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।”