पोखरा: ढुङ्गा, गिटी, बालुवा तथा नदी तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक आज (बुधबार) सम्पन्न भएको छ । बैठकबाट कास्कीमा तीन महिना (असार, साउन र भदौ) नदीजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटी, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार सो निर्णय गरिएको हो । सो संचालन मापदण्ड अनुसार असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए । उनले विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे । दर्ता नगरी अवैधरूपले मापदण्ड विपरित संचालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गरे । उनले सबै पालिकाहरूमार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणिकरण गरेका सामाग्री यो अवधिमा पिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने सुनाए । नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै प्रकारको प्रभाव र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेको आग्रह छ । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल,कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा, गिटी, बालुवा, नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसार पसार र विक्रीवितरण र उपभोगमा देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।
रेम बिक काठमाडौं: दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । कुनैबेला छोईछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाँई एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए । उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरुले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिए । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताईन् । दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको ठहर गर्दै परिस्थिती आएको खण्डमा सबै दलितहरुले पार्टी राजनीति त्यागेर दलित आन्दोलनमा होमिनुपर्ने उनको जोड थियो । साथै कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विश्वकर्माले कर्मचारीतन्त्र हावी हुँदा दलितमैत्री कानुन निर्माणमा पनि समस्या आएको बताईन् । कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरु पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताए । उनले आफ्नो लागि आफैंले लडाईं नलड्दा सम्म दलित समुदायले मुक्ति पाउन नकस्ने ठहर गर्दै हालसम्म भएका राजनीतिक आन्दोलन र युद्धहरुले दलितलाई मुक्ति दिने नाममा उपयोग मात्रै गरेको बताए । उनले दलित समुदायलाई एक ठाऊँमा आएर आफ्नो न्यायको लागि आवाज उठाउन आह्वान समेत गरेका थिए । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिईन् ।
तनहुँ: मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ । पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ । आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।” पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए । विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो । कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताए । त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमि सडक कालोपत्र गरिएको छ । सम्झौता अनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उनका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।
सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। उनीहरू निदाएका बेला पहिरो खसेको हो। मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ। पुरिएर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ।
अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए । अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका–७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो । दुर्घटनामा छत्रदेव–७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका-२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् । घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।
स्याङ्जा: स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् । जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भने, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।” भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए । “विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उनले भने, “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो । प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्त्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन् ।
चितवन: भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ । महानगरले एक कार्यक्रमकाबीच प्रत्येक जोडीलाई नगद रु १ लाखसहित सम्मान गरेको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरे । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक मायाँ कुमालको जोडी रहेका छन् । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन् । भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको जानकारी दिइन्। जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताइन्। जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो । महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरेको छ ।
बझाङ: बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) को क्रममा डुबेका सशस्त्र प्रहरीको मृत्यु भएकाे छ । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त कृत्रिम अभ्यासका क्रममा डुबेका सशस्त्रका जवान नरेन्द्र धामीकाे मृत्यु भएकाे हाे । बेहोस अवस्थामा फेला परेका उनलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियाे ।
लमजुङ: लमजुङ मर्स्याङ्दी गाउँपालिका–६, न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए । गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।