म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने २ भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । बिपी २– ए ७५६८ नम्बरको ट्रिपर सडकबाट करिब ३ सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादब र सहचालक भारतको मध्यप्रदेशका ४० वर्षका सत्रुधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरु आज विहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट शबलाई बाहिर निकालिएको छ । नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।
काठमाडौं: विसं १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो । उहाँले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, नपुरान्जालाई पाँच मौजा पांमा, मांगमा, तेवें, वोश्रनिमा र तापंनागोलाई स्याहामोहर जारी गर्नुभएको थियो । स्याहामोहरमा मानिसले प्राप्त गरेको जग्गा उपभोग गर्दै राज्यको सेवा गर्नु भनिएको थियो । उक्त स्याहामोहर वनेम फागोसँग पाइयो । स्याहामोहरमा उल्लेखित व्यक्तिहरु वनेम फागो नै भएका र निजहरू सेनकालीन दरबारमा मन्त्री, काजी वा जागिरे रहेको पुष्टि हुन्छ । सेन राजाले लिम्बू, खम्बू, याक्खा, आठपहरिया र याम्फूलाई राय, राये, राई भनी स्याहामोहर प्रदान गर्नुभएको थियो । हरिहरसेनको राज्यकाल विसं १७१३ देखि १७३८ सम्म मानिन्छ । उहाँले भारतको गोण्डावारसम्म राज्यविस्तार गरी आफूलाई हिन्दूपति राजा घोषणा गर्नुभएको थियो । तीन सय ४८ वर्ष पुरानो यो स्याहामोहर भगिराज इङ्नामद्वारा सङ्कलित तथा प्रकाशित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तकको पहिलो दस्तावेजका रूपमा राखिएको छ । इतिहास अन्वेषक रमेश ढुङ्गेलमार्फत यो दस्तावेज लिइएको सङ्कलक भगिराज इङ्नामले उल्लेख गर्नुभएको छ । इतिहासकार इङ्नाम नेपाली इतिहास लेखनका लागि कुनै नयाँ नाम होइन । उहाँको पहिलो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ले विसं २०७८ मा मदन पुरस्कार प्राप्त गरिसकेको छ । सोही पुस्तकको अर्को अंश वा भागका रूपमा हालै ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ प्रकाशित भएको हो । माथी उल्लेखित स्याहामोहरको प्रसङ्ग केवल यो पुस्तकमा सङ्ग्रहित तथा सङ्कलित एक दस्तावेज उदाहरणका रूपमा मात्र प्रस्तुत गरिएको हो । यस पुस्तकमा विसं १७३३ देखि २०२५ सम्मका महत्त्वपूर्ण तीन सय ८५ वटा दस्तावेज सरल र बुझिने गरी अनुवादसहित प्रस्तुत गरिएका छन् । तत्कालीन् शासकले जारी गरेका भोजपत्र, स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, कस्यपत्रम् र लिखित अभिलेख यस पुस्तकमा सङ्ग्रहित छन् । त्यतिमात्र नभइ शिलालेख, धनकुटा मार्गाथानको घण्टीको लेख र तिब्बती लिपिको पाँचवटा दस्तावेज यहाँ प्रस्तुत गरिएको छ । लेखकले यो पुस्तक अघिल्लो पुस्तकमा छुटेका दस्तावेजको पूरक एवं निरन्तरता हो भन्नुभएको छ । अघिल्लो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ जति रोचक र महत्त्वपूर्ण पुस्तकका रूपमा प्रकाशित भएको थियो, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पनि उत्तिकै महत्त्वपूर्ण मानिएको लेखक इङ्नामले बताउनुभयो । अघिल्लो र यी दुवै पुस्तकमा समावेश अभिलेख अध्ययन गर्दा इतिहासमा रुची हुने पाठकले एक अभिलेख पढ्न नभ्याउँदै अर्को पल्टाउन मन लाग्ने किसिमका रहेका उहाँको भनाइ छ । विषयसूची हेरेर पुस्तक अध्ययन गर्ने हो भने पनि आठ सय ५० भन्दाबढी पृष्ठको यस पुस्तकका कम्तिमा ५० देखि एक सयवटा अभिलेखमा पाठकको ध्यान तानिन्छ । विषयसूचीमा आकर्षक किसिमका शीर्षक राखिएका छन् । ‘छोराले खाएको ऋण बाबुले तिर्नु नपर्ने’, ‘राईबाट फुटी नयाँ राई भएको’, ‘कन्ने केटीलाई करणी गरे दण्ड नलाग्ने’, ‘करणी मुद्दामा सात सुब्बाको फैसला’ लगायत हुन् । पुस्तकमा समावेश दस्ताबेजमा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहबाट अभिमानसिंहलाई प्रदान गरिएको लालमोहरमा विजयपुर सेन राज्यका देवान बुद्धिकर्णलाई ‘राई’ भनिएको तर विसं १८२४ र १८२९ मा बुद्धिकणले जारी गर्नुभएको स्याहामोहरमा बुद्धिकर्ण ‘राय’ भन्ने उल्लेख गरिएको रोचक विषय समावेश छन् । पृथ्वीनारायण शाहले विसं १८३१ मा पुनी रायलिम्बूलाई प्रदान गर्नुभएको, लालमोहरमा सिरिंग्या लिम्बूसहित दरबारमा मिल्न आए सिरपाउ–पुरस्कार दिने भनी प्रलोभन देखाएको प्रसङ्गले त्यस समयमा सिरिंग्या लिम्बू गोरखाली सेनाविरुद्ध रहेछन् भनेर अनुमान गर्न सकिन्छ । यी र यस्ता सयौँ रोचक तथ्यले भरिएको छ, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक । सङ्कलक तथा लेखकको मेहनत कति छ भनेर सामान्य पाठकले अनुमान नै गर्न सक्दैन । यत्तिको दस्तावेज सङ्कलन गर्नका लागि कति समय र मेहनत गर्नुप¥यो होला भनेर लेखकले सरसर्ती पुस्तकमा उल्लेख गर्नुभएको छ, तर पाठकले पुस्तक अध्ययन गरेपछि लेखकले उल्लेख गर्नुभएको भन्दा बढी मेहनत यस पुस्तकमा भएको बताउन सकिन्छ । पुस्तकमा उल्लेखित दस्ताबेजहरूले तत्कालीन समग्रमा पल्लोकिराँत अर्थात् लिम्बुवानको इतिहासलाई जस्ताकोतस्तै प्रस्तुत गरेको छ । तत्कालीन ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतका धेरै इतिहास मिथक अर्थात् मौखिक रूपमा मात्र सुनिँदै आएकामा यस पुस्तकका लेखक तथा सङ्कलक इङ्नामले त्यसलाई तथ्यसहित दस्ताबेजीकरण गर्नुभएको छ । जुन कार्य इतिहासमा एक सर्वकालिक महत्त्वपूर्ण काम होभन्दा अत्युक्ति हुँदैन । पुस्तकले विभिन्न बहसका लागि पनि सहज पारिदिएको छ । राई, लिम्बु, सुब्बाजस्ता थर वास्तवमा थर हुन् कि पदवी ? राई, राइ हो कि राय ? यस्ता अनेकन् तथ्य यहाँ सङ्ग्रहित दस्तावेजमा उल्लेख छन् । जसलाई एउटा आधार मानेर थप तथ्य पत्ता लगाएर सदियौँदेखिका विवादलाई समाधान गर्न सहज बनाइदिएको छ । दस्ताबेजले तत्कालीन् इतिहासमात्र देखाउँदैन, त्यतिखेरको पल्लोकिराँतको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई उजिल्याउने काम गरेको छ । चेतनास्तर, ससाना थुम्का र गढीहरूमा रहेर शासन गर्ने प्रणाली, सङ्घीय राजधानीमा रहने शासकसँगको सम्बन्धलगायत विषयका बारेमा जानकारी दिन्छ । विसं १८३१ पछि राई र लिम्बुलाई तत्कालीन् शासकले फुटाएर ‘फुटी सुब्बा’ वा ‘फुटी राई’ बनाएको प्रसङ्ग लेखकले आफ्नो लेखकीयमा उल्लेख गर्नुभएको छ । जसका कारण धेरै लिम्बु फुटी सुब्बा हुँदा जग्गाविहीन बनेको उहाँले निष्कर्षको रुपमा लेख्नुभएको छ । कतिपय किपटभूमि खोस्ने काम त्यतिबेलै भएको उहाँको ठहर छ । मुन्धुम एकेडेमीले प्रकाशन गरेको यस पुस्तकको सह–प्रकाशनमा ताप्लेजुङ र मोरङका एक÷एक गाउँपालिका तथा तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिकाले सहयोग गरेका छन् । स्थानीय सरकारले इतिहास लेखनमा सहप्रकाशकको रूपमा सहयोग गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छ । डा त्रिरत्न मानन्धर र जगदीश रेग्मीको हस्तलिखित भूमिका पुस्तकको सुरुमा राखिएको छ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका प्रमुख तथा इतिहासका अध्येता अर्जुनबाबु माबुहाङले लेखक भगिराज इङ्नाम र लिम्बुवानको इतिहास लेखनबारे स्पष्ट पार्नुभएको छ । दस्ताबेजका स्रोत व्यक्तिहरुको नाम र दस्ताबेज अनुवादकको नाम राखेर लेखकलाई सबैलाई सम्मान गर्नुभएको छ । निजामति सेवाबाट निवृत्त लेखक पूर्वप्रशासकसमेत हुनुहुन्छ । यस पुस्तकको मूल्य रु दुई हजार कतिपयका लागि महङ्गो लागेपनि यहाँ समावेश भएका दस्ताबेजको अध्ययनपश्चात् उक्त मूल्य थोरै महसुस हुन सक्छ । तसर्थ क्षेत्रीय रूपमा कमै मात्र लेखिएको राजधानी काठमाडौँ पूर्व र त्यसमा पनि ओल्लोकिराँत अर्थात् लिम्बुवानबारे इतिहास बुझ्नका लागि सबैभन्दा पठनीय सङ्ग्रहको रूपमा यो पुस्तक किन्नु उपयुक्त हुन्छ । त्यसका लागि सम्भव भएमा लेखकका अघिल्लो पुस्तक पनि किन्न सकेमा पाठकका लागि सुनमा सुगन्ध हुने प्रकाशकको भनाइ छ ।
इलाम: इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाउनुभयो । उहाँका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ । करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ । गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज केहेरसिंह योङहाङले बताउनुभयो । उहाँका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उहाँको जिकिर छ । किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता ९ईश्वर० ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीन वटा बाँसका लिङ्गोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अङ्कित ध्वजा समेत राखिएको छ । माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो । धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए । गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम) ले बताउनुभयो ।
काठमाडौं: गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका छन् । तमू ल्होसार मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षका रूपमा मनाइने ल्होसार/ल्होछार विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिएको हो । ‘तमू थातथलोको संरक्षण र सम्वर्द्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषाका रूपमा तमू भाषा घोषणाका लागि तमूवान आन्दोलन’ भन्ने मूल नाराका साथ आजदेखि १५ गतेसम्म ल्होसार/ल्होछार मनाउन लागिएको समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिनुभयो । तमु ल्होसार/ल्होछार पर्व विशेष गरी पुस १५ गते गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने परम्परा रहेको उहाँले बताउनुभयो । गुरुङ समुदायले यसवर्ष गरुड वर्गको बिदाई तथा सर्प वर्गको स्वागत गरी ल्होसार मनाउन लागेका हुन् । एक हप्तासम्म शुभकामना आदानप्रदान, चियापान, पुस्तक विमोचन तथा स्रष्टा सम्मान, खेलकुद कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, रक्तदान, झाँकी कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सरकारका विशिष्ट अतिथिको आतिथ्यतामा औपचारिक समारोह आयोजना गरिने महासचिव गुरुङले जानकारी दिनुभयो ।
दाङ: मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ । ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाले जानकारी दिनुभयो । कार्यालयको काममा खटिरहेका लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर हिजो सोमबार घाइते हुनुभएको थियो । लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लु प्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि घाइते भएका चौधरीको आज लमही अस्पतालमा मृत्यु भएको प्रहरीले स्पष्ट गरेको छ । सो घटनामा संलग्न ट्रक चालक रुपन्देही जिल्ला सियारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११, दुधौरा खोला पुलनजिक कारभित्र शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रोकी राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा–१ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीयले गाडीभित्र शव रहेको खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो । वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपट्टिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दाङ: दाङमा आज भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
बागलुङ: नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूको हितमा महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार सपथग्रहण तथा पदस्थापन लगत्तै बसेको उक्त बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव नारायण रिजालले जानकारी दिनुभयो । अवधारणा र कार्ययोजनासहित उक्त कोषको औपचारिक घोषणा छिट्टै गरिने उहाँले बताउनुभयो । आगामी तीन वर्षभित्रमा उक्त कोषमा रू. १० लाख पुर्याउने लक्ष्य लिइएको छ । कोषको संचालन र व्यवस्थापनलाई चुस्त बनाउन छुट्टै कार्यविधि बनाइने सचिव रिजालले बताउनुभयो ।कोषको ब्याज रकमबाट बर्सेनि विभिन्न विधामा उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराइनेछ । महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले श्रमजीवी पत्रकारका हकहितलाई केन्द्रमा राखेर कार्ययोजनासहित अगाडि बढ्ने बताउनुभयो । ‘हामी सिक्छौँ, सिकाउँछौँ’ कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्र पत्रकारका लागि विविध तालिम तथा क्षमता विकासका कार्यक्रम सञचालन गरिने उहाँले बताउनुभयो । पत्रकार दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल र अन्तरक्रिया गरी आवश्यक निचोडमा पुग्ने अध्यक्ष थापाले बताउनुभयो । पत्रकारको पेसागत सुरक्षाका अतिरिक्त स्थानीय र स्वरोजगारमूलक संचारमाध्यमको सबलीकरणमा महासंघले सार्थक भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
काठमाडौं: गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो । समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिनुभयो । साथै सङ्गीत साधना प्रतिष्ठान ९इटहरी० र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने उहाँले बताउनुभयो । राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेञ्जर सम्राट थापालाई प्रदान गरिने भएको उहाँले बताउनुभयो । साथै नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ डा रमेश पोखरेललाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले उल्लेख गर्नुभयो । राष्ट्रिय लोक सङ्गीततर्फ लोक गायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिने समाजले जनाएको छ । नातिकाजीको ९९ औँ जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले बताउनुभयो । नातिकाजी गीत, सङ्गीतको महासागर भएको उल्लेख गर्दै उहाँको योगदानलाई जीवन्त समाजले प्रयास गरिरहेको बताउनुभयो ।