रामपुर: पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुणखोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वर्षांैदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ । जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले यहाँ बनेको पुलले विशेष गरी निस्दी ४ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा करिव आधा घण्टाको दूरीमा पुग्न सकिने हुँदा व्यापारिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण मेरुदण्डका रुपमा पुल रहेको छ । पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले दुई स्पान रहेको पुल मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १६ करोड ४९ लाख ५७ हजार चार सयको लागतमा निर्माण गरिएको बताए । गण्डकी प्रदेश तनहुँको भिमाददेखि लुम्बिनी प्रदेश पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडकअन्तर्गत पुनः गण्डकी प्रदेशकै नवलपुर क्षेत्र जोड्ने सडक योजना छ । सो योजनाअन्तर्गत नवलपुर खण्डमा भने सडक स्तरोन्नतिको काम भएको छ भने पाल्पा खण्डमा बाँकी छ । भिमाद रामपुर मित्याल अरुणखोला जोड्ने गरी २०७६ सालमा ट्रयाक खुलेको हो । यस सडक स्तरोन्नतिको काम सम्पन्न भई चालु भएपछि भने छोटो यात्रा तथा गाउँ र सहर जोडिने हुँदा यसलाई महत्वपूर्ण सडकमार्गको रुपमा हेरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएक हुन् । हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् । तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्केका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।
पोखरा: कास्कीको मादी गाउँपालिका ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ । माघ ४ देखि ६ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुत्त मुल आयोजक समितिको संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए । ‘महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छ’ संयोजक गुरुङले भने, ‘महोत्सव अवलोकन गर्न आउने अतिथि पाहुनाहरुलाई हामी स्वागत गर्न आतुर छौ ।’ महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्ने संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए । सो अवसरमा थुम्सीकोट देखि गहते मिजुरे पाखुरीकोट नाघीधार पोसी सम्मको सडक स्तरोन्नतीका लागि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङलाई माग पत्र पेश गर्ने कार्यक्रम समेत रहेको संयोजक तथा स्थानिय जनप्रतिनिधि समेत रहेका ओमप्रकाश गुरुङले जानकारी दिए । नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिने छ । ३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नागीधार गाउँको विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव हुन लागेको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन, समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौतारा उद्घाटन गरिने कार्यक्रमसमेत तय गरिएको छ । महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटर नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने आर्थिक उपसमिति संयोजक प्रकाश गुरुङले जानकारी दिए । त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङले जानकारी दिए । भद्रकाली काँहुखोला बाट भैसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमिको दुरीमा नागीधार गाउँ सवारीसाधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए । त्यस्तै पोखरा–२६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा–३१ बेगनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ । पोखराबाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् भने बाँकी १५ किमि कच्ची रहेका छन् । हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेत सञ्चालनमा रहेका छन् ।
काठमाडौं: आशिका तामाङ पक्राउ परेकी छन्। प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हाे । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई स्वयम्भू क्षेत्रबाट बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो। अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो। हाल उनलाई प्रहरी वृत्त गौशाला ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खोटाङ: नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मङ्गलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए । पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासङ्घ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय भएको उनले जानकारी दिए । रासस
पोखरा: घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौं ब्रेज मेश्रो अवार्ड प्रदान गरे । परियारलाई सातौं ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए । घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले पकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए । ‘ घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई प्रदान गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘सातौं ब्रेज मेश्रो अवार्ड हामीले यसपटक घान्द्रुकको पकृति संरक्षणमा योगदान पु¥याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौं, भौतिक विकाससँगै पकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनिय छ ।’ उपाध्यक्ष गुरुङले घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्ड घान्द्रुकको भौतिक विकासदेखि प¥यावरण संरक्षणमा योगदान दिने व्यक्तिहरुलाई प्रदान गर्दै आएको बताए । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्डबाट राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए । ‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आउनुभएका घान्द्रुकका नागरिकहरुले गाउँको विकास तथा विभिन्न क्षेत्रमा उहाँहरुले दिदैं आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोवल अझै उच्च हुन्छ, वडाध्यक्ष गुरुङले भने । कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुल बहादुर गुरुङले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङको अध्यक्षता र लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ । नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ती पर्वको उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राख्नुभयो । सरकारका प्रवक्ता मन्त्री गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन छ वर्षभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो । “यसरी कानुनी प्रक्रियामै अल्झिदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा पुग्नाका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो”,उहाँले भन्नुभयो,“त्यसै कारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।” मन्त्री गुरुङले अध्यादेशले सूचना प्रविधि (आइटी) सम्बन्धी व्यवसाय गर्नेहरुलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने जिकिर गर्नुभयो । यस्तै, उद्यमीले सहुलियत पाउने, काममा आएका झन्झट, सार्वजनिक प्रशासनिक सेवाको ढिलासुस्ती हटाउन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न अध्यादेश ल्याउनु परेको उहाँले प्रष्ट पार्नुभयो । “अब उपरान्त तपाई कुनै सरकारी कार्यालयमा पुग्नुभयो र तपाईको काम सात दिनभित्र पूरा गरेन भने स्पष्टीकरण दिनुपर्ने वा कारबाही गरिनेलगायत प्रबन्ध गरेका छौँ,” उहाँले भन्नुभयो, “गाउँपालिका वा नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष निलम्बन भए भने कसले प्रशासन चलाउनेरु यस्तो बेलामा गाउँ कार्यपालिका सदस्यहरू आफूमध्येबाट जुन व्यक्तिलाई छनोट गर्छ त्यसैले पालिका चलाउन पाउने व्यवस्था राखेका छौँ ।” यसले जनताको सेवामा आउने अवरोध हटाउने मन्त्री गुरुङको विश्वास छ । संविधानले दिएका सबै अधिकार सदुपयोग गर्न मगर समुदाय आग्रह कार्यक्रममा मन्त्री गुरुङले आदिवासी जनजातिले संविधानप्रदत्त अधिकारको भरपुर सदुपयोग गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले आदिवासी जनजातिले गरेका शान्तिपूर्ण आन्दोलनको प्रतिफलस्वरूप संविधानले थुप्रै अधिकार सुनिश्चित गरेकाले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले अहिलेको अवस्था हेर्दा संविधानले दिएका ती अधिकार प्रयोगमा आदिवासी जनजाति समुदाय चुकिरहेको धारणा राख्नुभयो । मगर समुदाय आदिवासी जनजातिभित्र सबै भन्दा ठूलो समुदाय भएको उल्लेख गर्दै उहाँले यस समुदायले राज्य एकीकरणदेखि हालसम्म राज्यप्रति दिएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । मगर समुदाय बाहुल्य गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई आफ्नो क्षेत्रमा यस समुदायको भाषा संरक्षणका लागि पहल गर्न मन्त्री गुरुङले आग्रह गर्नुभयो । “गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु, त्यहाँ मगर भाषाका लिपिलगायत महत्वपूर्ण पक्षको संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारी कामकाजको भाषाको रूपमा स्थापित र मान्यता दिनुपर्छ ।” मन्त्री गुरुङले नेपाल बहुजातीय बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको सांस्कृतिक पर्वको सम्मान गरेर सरकारले सार्वजनिक बिदालगायत प्रवर्द्धनात्मक काम गरिरहेको बताउनुभयो । “सरकारले नेपालमा बोलिने सबै मातृभाषाको सम्मान गरेको छ । धर्मनिरपेक्ष राज्यले सबै धर्मको सम्मान गर्छ । अब आदिवासी जनजातिले आफ्नो अधिकार प्रयोगमा ध्यान दिन आवश्यक छ”, उहाँको आग्रह थियो ।
म्याग्दी: यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर सङ्घका सचिव खम थापामगरले बताउनुभयो । “माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उहाँले भन्नुभयो, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।” यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताउनुभयो । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलियाबाट माघे सङ्क्रान्ति मनाउन परिवारसहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आउनुभएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताउनुभयो । माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् । जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे । बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नुपर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, ८० वर्षीय श्रेष्ठले भन्नुभयो, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।” समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उहाँले बताउनुभयो । हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबारदेखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सुरु भएको हो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिनुभयो ।
पर्वत: विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि अलपत्र भएको हो । तत्कालीन पोखरा विश्वविद्यालय र कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेशकहरूको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरूङ्गामा भूमेप्रसाद डल्लु सामुदायिक अल्लो प्रशोधन उद्योग खोलिएको थियो । विसं २०७४ फागुनदेखि सञ्चालनमा आएको उद्योग २०७८ सालदेखि बन्द गरिएको हो । परम्परागत रूपमा अल्लोको लोकतालाई पकाउने, कुट्ने र धागो निकाल्दा समय र लागतसमेत अत्याधिक पर्न थालेपछि लघुउद्यमीका लागि नयाँ प्रविधि भित्र्याइएको भए पनि बढ्दो बसाइँसराइका कारण जनशक्ति कम हुँदै जानु र उत्पादन गरेको अल्लोले राम्रो बजार नपाएपछि बन्द गर्नुपरेको स्थानीय टेकबहादुर पुनले बताए । तत्कालीन समयमा झण्डै रू २० लाखको लागतमा उद्योग सञ्चालनमा आएको थियो । सञ्चालनमा आएका केही वर्ष यहाँबाट राम्रैसँग उत्पादन गर्न सफल भए पनि विस्तारै वनमा जाने, अल्लो सङ्कलन गर्ने, उद्योगमा ल्याएर प्रशोधन गर्ने जनशक्तिको अभाव भएपछि बन्द गर्नुपरेको अल्लो उद्यमी रनमाया पुनले बताए । उक्त उद्योगबाट छोटो समयमा धेरै र गुणस्तरीय भुवा उत्पादन लिन सकिने भए पनि कच्चापदार्थ सङ्कलन गर्ने जनशक्ति नहुँदा बन्द गर्नुपरेको उद्यमी पुनले बताए। यहाँबाट उत्पादित अल्लोको कपडासमेत बिक्री गर्न समस्या भएपछि गतवर्ष मोदी गाउँपालिकाले दुई सय मिटर कपडा खरिद गरिदिएको स्थानीय गमबहादुर पुनले बताए । नयाँ प्रविधिमा अल्लोको लोक्ता पकाउने, कुट्ने र पखाल्ने आधुनिक प्रविधि रहेको थियो । परम्परागत रूपमा प्रशोधन गर्दा थोरै उत्पादनका लागि धेरै लागत र शारीरिक श्रम लाग्ने तथा समयसमेत बढेकाले नाफा कमाउन कठिन भएको भन्दै खोलीको उद्योगसमेत बन्द भएपछि अहिले गाउँमा दुई तीनजना महिलाले परम्परागत रूपमै अल्लो प्रशोधन गरेर निर्वाहमुखी रूपमा पेसालाई जोगाउँदै आएका छन् । अहिले पुरानै तरिकाबाट अल्लोको भुवा निकाल्न लोक्ता खरानी पानीमा पकाउने, खोलामा लगेर कुट्ने र पखाल्ने गर्नुपर्दा धेरै श्रम र समय लाग्दै उद्यमी पुनले बताए । जिल्ला लघु उद्यमी सङ्घकी पूर्व अध्यक्ष सेती महतले गाउँबाट बसराइँ सर्ने दर बढेसँगै सञ्चालित आधुनिक मेसिन सहितको उद्योग पनि बन्द भएको बताए । महतले लघुउद्यमीलाई नयाँ प्रविधि, सीप र पुँजीको सहयोग गरेर गाउँघरमै रोजगारी बढाउन आवश्यक भएको बताए । रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा यो गाउँबाट बसाइँसराइ दर तीव्र रूपमा बढेको छ । बाउन्न घरधुरी रहेको यो घुरूङ्गा गाउँमा अहिले मुस्किलले २५ घरमा मात्र बसोबास रहेको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले स्थानीय महिला सक्रिय भएर उद्यम सञ्चालन गर्न चाहेमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताए । व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्न सकेमा अल्लोको कपडा त्रिक्रीबाट वार्षिक लाखौँ रूपैँया आम्दानी गर्न सकिने भएकाले गाउँपालिका उत्पादित कपडाको बजारीकरण र उद्योग सञ्चालनका लागि आर्थिक सहयोग गर्न तयार रहेको बताए। पर्वतका उत्तरी क्षेत्रका शालिजा, लेखफाँट, क्याङ, देउराली, भुकताङ्ले र बनौमा अल्लो प्रशस्त पाइने भएकाले यस क्षेत्रका महिला अल्लो उद्यम गर्दै आएका छन् ।