२०८१ का अकल्पनीय विपद्: जलवायुजन्य सङ्कट गहिरिँदै
रेकर्ड तोड्ने वर्षा, धनजनको क्षति
काठमाडाैं | चैत २७, २०८१

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज)का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ ।
गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनअनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखिएको यात्रुबाहक बसमा ३६ जना र वीरगन्जबाट काठमाडौँ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एनल डिलक्स लेखिएको यात्रुबाहक बसमा २६ जना गरी यात्रुसङ्ख्या ६२ जना रहेका थिए ।
जसमध्ये गणपति डिलक्सका तीन जना यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ५९ जना यात्रु बेपत्ता भएका थिए । पहिरोले बगाउँदा बसहरू त्रिशूली नदीमा खसेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार भीषण वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले दुवै बसलाई धकेल्दै नदीमा खसालिदिएको थियो । प्रतिवेदनअनुसार २४ शव फेला पारिए पनि ३५ जना बेपत्ता भएका थिए । अर्को घटना, गत साउन ३२ गते दिउँसो साढे १ बजेतिरको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो ।
हेर्दाहेर्दै क्षणभरको बाढीले थामे बजार बगरमा परिणत भयो ।
कहिल्यै कल्पना नगरेको यो घटना सपनाझैँ लागिरहेको छ अहिले पनि खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई । “यो विपद्ले यहाँका बासिन्दालाई अझै तर्साइरहेको छ । फेरि पनि कुन दिन हिमपहिरोले ज्यान जोखिममा पर्ने हो चिन्तित छन् यहाँका बासिन्दा”, उहाँ भन्नुहुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा गहिरो अध्ययन जरुरी छ ।
“प्रारम्भिक अध्ययनमा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा सानाठूला गरी छवटा हिमताल–हिमपोखरी रहेको देखिन्छ । उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको (९.७ बाट ११.० डिग्री सेल्सियस) देखिन्छ र साउन ३१ (अगस्ट १५) गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको देखिन्छ”, विभागको भनाइ छ ।
तेस्रो घटना, असोज १०, ११ र १२ गतेका भारी वर्षाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा धनजनको व्यापक क्षति गरेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए भने १८ जना अझै बेपत्ता छन् ।
एक सय ७८ जना घाइते भएका थिए । झन्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ । उपत्यकाका नदी आसापासका करिडोरहरू अझै धुलाम्मे छन्, कुरुप छन् अझै ।
सहरी विकास मन्त्रालयका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण सहरी विकास मन्त्रालयअन्तर्गत क्षतिग्रस्त पूर्वाधारका संरचना बनाउन करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत लाग्ने गरिएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड र २८ ओटा झोलुङ्गे पुलमा आंशिक रुपमा क्षति र ३२ वटा झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुगेको छ ।
मन्त्रालयमा अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीहरूमा थुपारेको माटो तथा गेग्रान निकाल्ने कार्यका लागि रु १२ करोड ८१ लाख खर्च हुनेछ ।
नदी किनारामा निर्माण गरिएका क्षतिग्रस्त तटबन्ध, पर्खाल र बाटोलगायतका अन्य संरचना पुनः बनाउनका लागि रु ७० करोड खर्च हुने अनुमान गरिएको मन्त्रालयको भनाइ छ ।
रेकर्ड तोड्ने वर्षा
यस वर्ष नै सुदूरपश्चिमको दक्षिण–पश्चिमी भू–भागमा पर्ने दोधारा, हनुमाननगर र सुन्दरपुरमा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा भयो । जल तथा मौसम विज्ञान विभागको विसं २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्कअनुसार यी स्थानमा सर्वाधिक वर्षा मापन भएको थियो ।
असार २४ बिहान वर्षा मापन गर्दा २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा केन्द्रमा ६२४.० मिमी, हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मिमी र सुन्दरपुर केन्द्रमा ५५५.८ मिमी वर्षा भएको मापन गरेका थिए ।
उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुवैबाट आउने जलवास्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको विभागको प्रारम्भिक विश्लेषणबाट देखिन्छ ।
धनजनको क्षति
गत वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिराको कारण ३५९ ले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र २८७ जना घाइते भएका छन् ।
सो अवधिमा तीन हजार ६९२ वटा घर आंशिक र दुई हजार १३ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।
पहिराका कारण ४० वटा पुलमा क्षति पुगेको छ । यसैगरी बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् ।
भारी वर्षाका कारण आठ जनाले ज्यान गुमएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मत्यु र ४२ जना घाइते भएका छन् ।
हिउँपहिराका कारण एक जना बेपत्ता भएका छन् ।
जलवायुविद् डा पपुलर जेन्टल भुसालले पनि बाढीपहिराका कारण भएको अकल्पनीय क्षति, हिउँदमा कम वर्षा, हिउँ कम पर्नु, हिमताल विस्फोट हुनुजस्ता यस वर्षका प्राकृतिक प्रकोपले सबैलाई चिन्तित बनाएको बताउनुभयो ।
“पूर्वसूचना दिँदादिँदै पनि यस वर्ष धनजनको क्षति बढी भयो, यो चिन्ताजनक छ”, उहाँले भन्नुभयो ।
अध्ययन भन्छ: जलवायुजन्य सङ्कटले पिरोलिरहेको छ
जर्मन वाचले गरेको जलवायु जोखिम सूचकाङ्कका अनुसार विश्वमा जलवायुजन्य सङ्कटले पिरोलिरहेको छ ।
सन् १९९३–२०२२ अवधिमा डोमिनिका, चीन र होन्डुरस प्रतिकूल मौसमी घटनाका प्रभावबाट सबैभन्दा बढी प्रभावित भएका देशहरू थिए ।
सन् १९९३ देखि २०२२ सम्म, विश्वभरि सात लाख ६७ हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ४२० अर्ब डलर बराबरको क्षति भएको छ । “बाढी, आँधी, गर्मीको लहर, र सुक्खा यी घटना बढी भए ।
१९९३ देखि २०२२ सम्म, आँधी (३५%), गर्मीको लहर (३०%), र बाढी (२७%) ले सबैभन्दा बढी मृत्युको कारण बने,” अध्ययनमा उल्लेख छ, “आँधीले सबैभन्दा ठूलो आर्थिक क्षति पुर्याएको छ (५६%) भने बाढीले (३२%) क्षति भएको छ ।”
अहिलेसम्मकै तातो वर्ष
विसं २०८१ मा नै विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भयो ।
जुन तथ्याङ्कले जलवायुजन्य सङ्कटको डरलाग्दो तथ्य उजागर गरेको थियो । सन् २०२४ को गत जनवरीदेखि सप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघि भन्दा १.५४ (+०.१३) डिग्री सेल्सियसले बढी भएको देखाएको छ ।
सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको अध्ययनले देखाएको छ ।
विश्वको तापक्रम वृद्धिले नेपालका हिमालमा हिउँ पग्लने र हिमालको अस्तित्व नै नास हुने खतरा बढ्ने बताउनुहुन्छ विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती ।
“सन् २०२४ तातो वर्षको रुपमा रेकर्ड भएको छ । जसले हिमाल कसरी जोगाउने भन्ने चुनौती छ”, उहाँले भन्नुभयो ।
विश्वव्यापी पैरवी गर्न कोप
गत वर्ष नोभेम्बर ११–२४ सम्म अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्पन्न भयो ।
जलवायुजन्य सङ्कटको समाधानका लागि विश्वभरका विज्ञदेखि, राजनीतिक दलका नेतृत्व तथा अन्य सरोकारवालाबीच छलफल र समस्या समाधानका लागि पैरवी गर्ने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरिएको थियो ।
नेपालका तर्फबाट बाकुमा सम्पन्न कोपमा भाग लिन जानुभएका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायुजन्य सङ्कटबाट हिमाललाई बचाउन आह्वान गर्नुभएको थियो ।
जलवायुजन्य सङ्कट समाधान गर्न वित्त अनुदानको आकार बढाउनुपर्नेमा कोपमा लामै छलफल भएको थियो । तर नतिजा भने सन्तोषजनक आएन । यस सम्मेलनमा नेपालले गरेको प्रयास भने प्रशंसनीय थियो ।
काठमाडौं: वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश...
मुस्ताङ: कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रब...
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ...