काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। आइतबार राति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन। पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए। घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन्।
ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० तेर्सेमा आइतबार बिहान करिब ४:५० बजेतिर उक्त घटना भएको हो । फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा बिजुलीको पोलबाट लत्रिएको तार छुँदा आगलागी भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा जीप चालक फुङ्लिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराई, ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन् । तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको बताइएको छ। यस दुर्घटनामा ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन् भने, उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् ।
कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको हाे। त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी रावतले जानकारी दिए। उनका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो। आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको थियाे ।
पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् । पाल्पा प्रहरीका अनुसार आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाँप जाने क्रममा भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हाे । ब्रेक फेल भएर दुर्घटना भई जिप सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको बताइएकाे छ । तानसेनबाट खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएकामध्ये एक यात्रुको टाउकोमा गम्भीर चोट लागेको छ । अन्यकाे अवस्था सामान्य रहेकाे छ । घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ । जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरेको साविक वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो । उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । भने, तृतीय स्थान हाँसिल गरेको गहते ‘टिम बि’ ले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट ओरस्टेका लब्सन सुनार सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यसैगरी सोही टिमकै कृष्ण थापा उत्कृष्ट ब्लकर, कालीकोटका सञ्जय गुरुङ उत्कृष्ट स्पाइकर, सोही टिमकै विवश थापा उत्कृष्ट डिफेन्डर र गहतेका सुजित थापामगर उत्कृष्ट लिफ्टरका रुपमा पुरस्कृत भए । कुल ३५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा अनुशासित टिमका रुपमा सालडाँडा जामुने नगद रु १२ हजारसहित पुरस्कृत बन्यो । खुला नृत्यतर्फ कोल्माकी अनुस्का च्याम्पियन खुल्ला नृत्य प्रतियोगितातर्फ कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भइन् । अन्य ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् । यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे । खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो । यस्तै म्युजिकल चियर प्रतियोगितातर्फ निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम बन्यो । कुल ६ समूहको सहभागिता रहेको सो प्रदर्शनीमा प्रथम बनेको जागृती टोल विकास संस्था नगद रु १० हजारसहित पुरस्कृत बन्यो । जागृती टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो । यस्तै उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेकोक थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्याे । उक्त प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षण गर्न सघाउ पुर्याएको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले बताए । मेलाका विभिन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडी तथा समुहलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मी, पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेल, शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराई, पुतलीबजार नगरपालिकाका विधान समितिका संयोजक तथा वडा १४ का सदस्य मुवारक मिया, पुतलीबजार नगरपालिका ३ की वडासदस्य सविता पौडेल, पुरस्कारदाताहरु स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी तुलसी रेग्मीले प्रमुख अतिथि जनसम्पर्क युवा क्लबको खेल मैदानको स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । उनले काल्खु हुँदै तनहुँको सिमानासम्मको सडकलाई कालोपत्र गर्नका लागि बजेटको व्यवस्था गर्नेसमेत आश्वासन दिएका थिए । मेलाका क्रममा चर्चित लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, निश्चल थापामगर, पारु गुरुङ, ममता तामाङ, रेशम थापामगर, अर्चना चापागाईं लगायतले बेजोड प्रस्तुती दिएका थिए । मेलाका संयोजक प्रेमबहादुर रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन खिम रानामगरले गरेका थिए ।
तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक पुरूष र स्कुटरमा पछाडि बस्ने युवतीको मृत्यु भएको हो । स्कुटर पछाडी बस्ने लमजुङ बेशीसहरकी अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। स्कुटर चालक सुरेश श्रेष्ठ गम्भीर घाईते छन् । माइक्रोमा सवार मनाङ नासोङ गाउँपालिका वडा नं. ८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएकाे छ। घले काठमाडौंमा भइरहेकाे शिक्षक आन्दाेलनमा सहभागी भएर घर फर्कँदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । प्रहरीका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ ।
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्। परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उहाँले बताए। ‘गोठमा गाईभैंसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्,’ पुनले भने। भैंसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन्। लेकाली क्षेत्रमा पालन गरिने भैंसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैंसी र खसीबोकाको माग धेरै छ। यहाँका किसानले कोदो, मकै, जौँ, गहुँलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ। पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ। 'मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ। आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिएका उहाँले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताए। ‘म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु,’ उनले भने। पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको संख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उनले अनुभूति सुनाए। पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन्। मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ। दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए। परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन्। हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन्। वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन्। खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताए। घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ। ‘पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु,’ रोकाले भने। पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ। स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन्। हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ। जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ। हिउँदेबाली जाँै, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरूदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ। यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्याउने गर्छन्। यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताए। ‘युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौं, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो,’ वडाध्यक्ष रोकाले भने। चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग संकलन गरिरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ। यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ।
काठमाडौं: शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । यद्यपि राप्रपाले बिहान ११ बजेदेखि नै बिजुली बजार क्षेत्रमा भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याउने तयारी गरेका छन् । शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् । शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
पोखरा: नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ । तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको लागतमा उक्त कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका समाजका अध्यक्ष तुलबहादुर पुर्जा पुनले पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको सहयोग र जनसहभागिता सहित कभर्ड हल निर्माण गरिएको बताए । युवालाई खेलकुद मार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको उनले उल्लेख गरे । उद्घाटन समारोहमा आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष भीमप्रसाद पुनले पुन मगर समाजका सदस्यले ६ लाख ४९ हजार ३ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेको बताए । पटक–पटक गरी समाजका सदस्यबाट १० लाख २३ हजार ७ सय ८९ रुपैयाँ नगद सहयोग संकलन गरेको उनले सुनाए । उनका अनुसार कभर्ड हल निर्माणका लागि महानगरपालिकाको ३२ नम्बर वडा कार्यालयबाट आर्थिक वर्ष ०७७÷७८ मा १ लाख रुपैयाँ प्राप्त भएको थियो । आर्थिक वर्ष ०७८÷०७९ मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १५ लाख र आर्थिक वर्ष ०७९÷८० मा पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ प्रदान गरेको थियो । कभर्ड हल उद्घाटन गर्दै महानगर उपप्रमुख गुरुङले खेल पूर्वाधार निर्माणले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताइन् । ‘शारीरिक र मानसिक रुपमा स्वस्थ रहँदै दक्ष खेलाडी उत्पादन गर्न कभर्ड हलले भूमिका खेल्नेछ,’ उनले भनिन् । उद्घाटन समारोहमा कभर्ड हल बनाउन सहयोग गर्ने संघसंस्था, चन्दादातालाई सम्मान गरिएको थियो ।