पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ । त्यसका लागि पोखराबाट बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत मध्यान्ह १२ बजे उडेका हुन् । बिहानै रुपन्देही पुर्याउने भनिएपनि प्रतिकुल मौसमका कारण १२ बजे जहाज उडेको हो । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो । उनलाई त्यहाँबाट प्रहरीले रुपन्देही लैजाने छ । सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लागेका लामिछानेलाई बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ ।
गण्डकी: पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार व्यवस्थित खेती प्रणाली सुरु भएसँगै उक्त पर्वको थिति चलेको हो । परम्परागत मूल्य, मान्यता र विधिका आधारमा भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको सचिव घर्तीमगरले बताउनुभयो । “यो पर्व एक किसिमले प्रकति पूजा पनि हो”, उहाँले भन्नुभयो, “यसले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ ।” गाउँका बुढापाकाले सुनाएअनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने गरिन्छ । मकैबाली भित्र्याएपछि बारीमा रहेका घाँस, डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई स्थानीय जनबोलीमा भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा पनि हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । केही वर्षअघिसम्म गाउँका सबैभन्दा ज्येष्ठ सदस्यको घरलाई शङ्खुघर मान्दै आए पनि अहिले छुट्टै समाजघर निर्माण गरेर उक्त कार्य सञ्चालन गरिँदै आइएको सचिव घर्तीमगरले बताउनुभयो । “कुनैताका गाउँको मुुखियाको घरलाई शङ्खुघर मान्ने गरिन्थ्यो । पर्वको दोस्रो दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ”, उहाँले भन्नुभयो । मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव घर्तीमगरले २४ गते अघि जहिले मृत्यु भएको भए पनि २५ गते मृत्यु संस्कार पूरा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दान दक्षिणा दिइ मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् ।” मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल, सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार मृतकको परिवारबाट पनि सोहीअनुसार मावली र माइतीघरमा पठाउने गरिन्छ । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा दिने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको छ । पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुने सचिव घर्तीमगरले जानकारी दिनुभयो । कात्तिक नसकिएसम्म पुत्र बढाइँ निरन्तर गरिन्छ । उक्त कार्यमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन रहेको छ । जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई मगरका पुर्खाहरुले भुस पोल्ने पर्वका रूपमा मनाउँदै आएका स्थानीय बताउँछन् । ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष भद्र घर्तीमगरले यो अर्गलवासीको सबैभन्दा ठूलो पर्व रहेको बताउनुभयो । श्रम संस्कृतिको सम्मानसँगै एकआपसमा भाइचारा र सद्भावको पर्वका रूपमा यसलाई लिने गरिएको उहाँले उल्लेख गर्नुभयो । “पर्वको मुख्य दिनमा शङ्खु (मुल) घरलाई फेरो मार्दै गाउँलेहरुले गीत–गाथा हाल्ने गर्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजिकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्छन् । गुरुबा र गाउँका अगुवाले ढुङ्गाछेउँ लिङ्गो ठड्याउँछन्, धुपबत्ती गर्छन् र जाँड चढाउँछन् । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिकस्वरुप मुल घर र बारीलाई शङ्खु भनेर चिनिन्छ । यो विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । जसलाई परम्परागत रुपमा ‘छापे खन्ने’ भनिन्छ । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन्, खेती लगाएको सन्देश दिन्छन्”, वडाध्यक्ष घर्तीमगरले भन्नुभयो । कात्तिक २४ गते अर्गलको शङ्खुबारीमा भुस पोलेपछि ताराखोलाको हिलमा सोही दिन राति र तारागाउँमा अर्को दिन बिहान भुस पोल्न चलन रहेको वडाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । पहिलेपहिले अर्गललमा भुस पोलेको धुँवा देखेपछि गाउँभरिका किसानले खेती सुरु गर्ने चलन रहेको बुढापाका बताउँछन् । पछिल्लो समय भुस पोल्ने पर्वको प्रवर्द्धन गरिरहेको अर्गल खेलकुद विकास मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले यस पर्वले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभयो । केही वर्षयता पर्वको अवसरमा मञ्चले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । मगर समुदायको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट आएका मगरहरु अर्गलमा र डोल्पाको भोटबाट आएका मगरका पुर्खा तारागाउँमा बसोबास गरेका पाइन्छन् । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आइ खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ । अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगर बस्छन् । उनीहरुले सदियौँ पुराना संस्कार र संस्कृतिलाई जोगाएका छन् । ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला, पर्व प्रचलित छन् ।
बागलुङ: बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जीप चालक जैमिनी नगरपालिका ८ का अन्दाजी ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकै २० वर्षीया रश्मी श्रीस, सोही ठाउँकै ५० वर्षीया नन्दकली पुन, सोही स्थानकै १७ वर्षीय निरज श्रीस र सोही गाउँकै ७५ वर्षीय कुल प्रसाद श्रीस रहेका छन् । यस्तै घाइते सोही वडाकै ४५ वर्षीय गंगाबहादुर श्रीस घाइते भएका छन् । उनलाई उपचारका लागि बागलुङ बजार पठाएको बताइएको छ । जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनामा परेको थियो । बागलुङ प्रहरीका अनुसार उक्त जीप सडकदेखि करिब सय मिटरभन्दा तल खसेको बागलुङ प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
काभ्रेपलाञ्चोक: कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन । गौतमबुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित यहाँको ऐतिहासिकस्थल नमोबुद्ध । ‘नमोबुद्धाय नम:’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् । जिल्लाको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक ३० गतेदेखि तीन दिनसम्म मनाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ । बर्सेनि लाग्ने मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती बालिन्छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बालिन्छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहेको छ”, लामाले भन्नुभयो । विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको किंवदन्ती छ । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माउने बघिनीलाई लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो, राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो”, लामागुरु लामा भन्नुहुन्छ, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिनुहुन्छ ।” संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामा बताउनुहुन्छ । उहाँका अनुसार मेलामा यस वर्ष पनि छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने गर्दछ । नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपंकर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीरअर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ । उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै नमोबुद्ध पुग्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ । केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणी दूरीमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेका छन् । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर पनि रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।
भोजपुरः भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुयाउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यले ५ दिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा ६० जनाले सहभागिता जनाएका छन् । मुख्य रुपमा तीन वटा सिलीको प्रशिक्षण गरिएको हो । आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन प्रशिक्षण दिएको उहाँले बताउनुभयो । “किरात संस्कृतिको संरक्षण तथा विकास गर्ने लक्ष्यले साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “पुर्खाले गरी ल्याएको चलनलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन यसले भूमिका खेल्नेछ ।” परीक्षण कार्यक्रममार्फत आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा मुख्य रुपमा जानकारी दिइएको प्रशिक्षक शरणबहादुर राईले बताउनुभयो । यस्ता प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको टेवा पुग्ने उहाँको भनाइ छ । “पछिल्लो अवस्थामा युवायुवतीले आफ्नो चालचलन रहनसहनलाई भुल्दै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “जसका कारण पुराना चलन लोप हुने खतरा बढ्दै गएको छ । नयाँ पुस्तालाई अद्यावधिक गराउन साखेवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर आवश्यक ज्ञान सीप प्रदान गरेका छौँ ।” सहभागीलाई श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न किरात सिलीको महत्व तथा नाच्ने तरिका बारेमा प्रशिक्षण दिइएको किरात राई वान्तावा खिम भोजपुरका अध्यक्ष लालबहादुर वान्तवा राईले बताउनुभयो । किरात रीतिरिवाजसम्बन्धी ज्ञान भएका पुराना पुस्ता सकिँदै गइरहेकाले भावी पुस्तालाई आफ्नो संस्कारप्रति सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । वडाको पहलमा गरिएको प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार, संस्कृतिको संरक्षण टेवा पुग्ने सहभागीले बताएका छन् । विभिन्न अवसरमा साखेवा सिली नाचिने भए पनि कतिपयले यसको महत्वको तथा नाच्ने तरिका नजानी नाच्ने गरेकाले प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । वडाले रु १ लाख ४० हजार बजेट विनियोजन गरेर किरात राई वान्तावा भाषा तथा संस्कार र साखेवा सिली प्ररिक्षण कार्यक्रम सञ्चालन गरेको हो । भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा वडाले सञ्चालन गरेको कार्यक्रम प्रशंसायोग्य रहेको स्थानीयवासीको भनाइ छ ।
चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको भरतपुर अस्पताल र ३ जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
लमजुङः ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस बुधबार मनाइएको छ । दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ । सुन्दरबजार नगरपालिका– ३ चिहानपाटास्थित खजे पार्कमा आयोजित ४९औँ खजे दुरास्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले खजे दुराको योगदानका कारण दुराडाँडा मात्रै नभइ सिङ्गो लमजुङलाई गर्व गर्ने मौका मिलेको बताउनुभयो । दुराको योगदानको कदर र सम्मानमा राज्य स्वयम्ले चासोका साथ खोजी गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो । खजे पार्कलाई पुरातत्त्वसँग जोडेर यसको ऐतिहासिक, सामाजिक, र आर्थिक महत्व बढाउन प्रतिबद्ध रहने मन्त्री गुरुङको भनाइ थियो । सो अवसरमा पार्कलाई व्यवस्थित बनाउन र दुराको पूर्ण कदको सालिक निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । दुरा र उहाँको समूहले घले राजाबाट आजित भइ विक्रम संवत् १५५० मा पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याइ जशभुं (यशोब्रह्म)शाहलाई राजगद्दी गराएको इतिहासमा उल्लेख छ । त्यहीँबाट शाहवंशले राज संस्था सुरू गरेको बताइन्छ ।
ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको जानकारी दिनुभयो । “रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म रु ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ”, उहाँले भन्नुभयो । देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा रेखा रोका, डा रञ्जना रोका र डा स्वस्ती रोकाले रु एक लाख ९२ हजारका दरले रु पाँच लाख ७६ हजार सहयोग गर्नुभएको छ । उहाँहरू मङ्गला गाउँपालिका अध्यक्षसमेत रहुनभएका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक सङ्कलन उपसमिति संयोजक यसोदा रोकाका छोरी हुनुहुन्छ । देउसीभैलोका क्रममा रोका दिदी बहिनीबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोका परिवारबाट क्याम्पसका लागि हालसम्म रु १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । घरायसी समस्याले सहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै आर्थिक स्रोत जुटाउन अभियान चलाएका छौँ ।” मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ । अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ । रु १२ लाख सहयोग गर्नेलाई संरक्षक, रु सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, रु एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, रु ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र रु ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने क्याम्पसले जनाएको छ । म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावाससहितको संरचनासमेत बनेको छ । हाल यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसैं, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले म¬ङ्गलबार टिकटक प्लेटर्फम विधिवत्रुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सुचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ । “अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,” उपसचिव बाँस्तोलाले भन्नुभयो, “सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।”