भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा सरस्वती टीका माध्यमिक विद्यालय द्वितीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले ती समूहलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुुभयो । त्यस्तै एकल नृत्य प्रतियोगितामा स्वस्तीका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुुभयो । विजयीलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । सो अवसरमा नेपाली मौलिक कला सहित्य सङ्गीत र अभिनयका क्षेत्रमा कृयाशिल गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यका क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, पुजा भण्डारीलाई अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा र कलाकार सुरेश मल्ल ठकुुरी (टुुकी) लाई गायन तथा सङ्गीतका क्षेत्रमा योगदान पुुर्याएको भन्दै सम्मानपत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका ढेँगालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइकोमा चिकित्सकले बिहीबार राति मृत घोषणा गरेको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रौतहट: जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमान्ले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्काे घरलाई समेत क्षति पु¥याएको छ । घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ ।
त्रिशूली: लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ । निजको ग्रिनसिटी अस्पताल काठमाडाँैमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उहाँले बताउनुभयो ।
साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ आज पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले सो उपन्यासको लोकार्पण गर्नुुभएको हो । कार्यक्रममा सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुुभयो । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्”, उहाँले भन्नुुभयो, “विश्वका कैयौँ बेफुर्सिदिला व्यक्तिहरुले पढेर नै सफल जीवन बाँचेका हुन् ।” साहित्यकार सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पहिलो उपन्यासमै उपन्यासकारले धेरै विषयवस्तु उठान गरेको र प्रस्तुत गरिएको कथावस्तुु हाम्रै समाजको रहेको बताउनुुभयो । जनयुद्धकालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको उल्लेख गर्दै उहाँले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राख्नुुभयो । कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आउनुभएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको जानकारी दिनुुभयो । कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्र हेरेको उल्लेख गर्दै उहाँले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाउनुुभयो । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको सापकोटाको भनाइ थियो । गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । दीपशिखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार रुपिन्द्र प्रभावी, कृतिका सम्पादक दशरथ सापकोटालगायतले आ–आफ्नो धारणा राखनुभएको थियो ।
नेकपा (एमाले) पोखरा ७ वडा कमिटीले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताउदै यी चाडपर्व कुनै धर्म जाति विषेश नभई सबै नेपालीको साझा पर्व रहेको बताए । जनताको विकास र सुशासनको चाहना पूरा गर्न देशको दुई ठूला दल एक ठाउँमा उभिएको धारणा राखे । पछिल्लो समय पुराना पार्टीलाई भिडमार्फत विस्तापित गर्न सकिन्छ कि भनेर दुस्प्रयास भएको भन्दै राजतिक दल पुरानो नहुने जनताको विश्वासले अनुमोदित हुने बताए । कार्यक्रममा एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी, महानगर अध्यक्ष जीवन आचार्य, नेपाली कांग्रेस पोखरा ७ का सभापति नविन राज बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, समाजसेवी डण्डराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा ७ भित्रका विभिन्न राजनीतिक पार्टीका नेता , सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी लगायतको उपस्थित थियो । नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक कार्कीले गरेका थिए ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् । मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिनुभयो । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । “बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ”, पुजारी सुवेदीले भन्नुभयो । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताउनुभयो । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् ।
काठमाडौं महानगरपालिकाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्दै प्लाष्टिकका फूल विक्री गर्न रोक लगाएको छ । स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा फूल विक्री वितरण गर्न व्यवस्था मिलाएको हो । प्लाष्टिकजन्य फूल तथा सजावटका समाग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवद्र्धन गरिएको महानगरले जनाएको छ । मेयर बालेनले भनेका छन्, ‘हामी व्यापारीहरूलाई प्लाष्टिकका फूल तथा अन्य सजावटका समाग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’
सङ्खुवासभा: सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ । एउटा मादलको मूल्य रु तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरकफरक पर्दछ । मादल व्यवसाय गर्दै आउनुभएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निरासा आएको बताउनुभयो । केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको हो । डिजिटल गीतसङ्गीतको कारण मादल नै सङ्कटमा पर्न थालेको छ । जसले गर्दा यो व्यवसायमा लागेकालाई भने झनै समस्या पर्दै गएको भोजपुर दिङ्लाकै अर्का मादल व्यवसायी बलबहादुर बयलकोटीले बताउनुभयो । पहिलेपहिले जोर मादल बजाएर आँगनमा देउसी खेलिन्थ्यो तर अहिले क्यासेट बजाएर सिकुवामा देउसी खेल्ने चलनले मादल लोप हुँदै गएको बयलकोटीले बताउनुभयो । विद्युतीय बाजा सस्तोमा पाइने भएकाले मादल बिक्रीमा कमी हुँदा मादल बजाउनेकै सङ्ख्या पनि कम हुँदै गएको छ । पछिल्लो समय मादल बिक्री हुन छोडेपछि इलेक्ट्रोनिक्स साउण्ड सिस्टमको माग बढी रहेको व्यापारी बताउँछन् । ठूला–ठूला मेला महोत्सवका लागि मात्र प्रयोग हुने विद्युतीय बाजा हिजोआज तिहारमा भैलो खेल्नका लागि पनि प्रयोग हुन थालेका कारण मादल बनाउने पेसा अँगालेका व्यक्तिको व्यवसाय नै सङ्कटमा पर्दै गएको छ ।