गण्डकी:  तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् ।  विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले ...

दमौली:  दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।   व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो ।   अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको उहाँले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “दसैँ लागेपछि यहाँ पर्यटक आउने क्रम बढेको छ । दसैँका बेला विद्यालय तथा कार्यालयहरु बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्षअन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरेका छौँ ।”   स्थानीय अनिल अधिकारीले बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटक लोभिने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुन: आउने गरेका छन् ।”   मानुङकोट घुम्न पुग्नुभएका व्यास–४ का मनोज राउतले यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउन जरुरी छ ।”   मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् ।   विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ ।   रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।   मानुङकोटबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुन: फर्किएर व्यवसाय गर्न थालेका छन् ।   यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए ।   बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो ।   अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको होटल व्यवसायी दाहालले बताउनुभयो । उहाँका अनुसार कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

दाङ:    तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ   २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन  पठनपाठनको सुअवसर पनि पाएका छन् ।  कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्नुहुन्छ । सन्तानविहीन उहाँ उनीहरूलाई  आफ्नै छोराछोरी मानेर माया गर्नुहुन्छ । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उहाँको दिनचर्याले उनीहरूप्रतिको उहाँको ममता छचल्किन्छ ।  आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उहाँले बताउनुभयो । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उहाँले भन्नुभयो, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।” तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताउनुभयो । सुरुमा आफँैले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् ।  “मेरा छोराछोरी छैनन्”, उहाँले भन्नुभयो, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।” उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक  राखेको उहाँले बताउनुभयो । गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आउनुभएकी उहाँले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आउनुभएको छ । उहाँकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् । स्यानीका सङ्घर्ष थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी ।  पढाइ जीवनका उहाँका सङ्घर्ष पनि कम छैनन् । उहाँको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उहाँ पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो ।  उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँले पौडी खेलेर वारपार गर्नुहुन्थ्यो । त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिनुभयो । “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे”, उहाँले भन्नुभयो । थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गर्नुभएको छ । पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आउनुभएको छ ।

म्याग्दी:    ‘आकाशैको मुलीमा तारा भुइँमा खस्यो सरस्वती गुरुज्यू शिरैमा चढाउला...’  रघुगङ्गा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस् सरस्वती माता भन्ने भावलाई गीतबाट प्रस्तुत गर्नुभयो । उहाँको साथमा रहेका महिला कलाकारले उहाँलाई साथ दिनुभएको थियो ।  कछाड र भाङ्ग्रामा सजिएका दुई जना (मादले)ले थजालीको भाकामा कम्मरमा भिरेको मादल बजाउँदै नाच्न थाले । महिलाको पहिरनमा सजिएका थप दुई जना (मारुनी) कलाकार पनि मादलेसँगै लय मिलाएर नृत्यलाई निरन्तरता दिए । ‘सोह्र सय गोपीनीले यमुना नुुहाउँदैछन् कृष्णजी अयोध्याबाट आउँदैछन्...’ जस्तै विभिन्न धार्मिकग्रन्थका विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिने पुख्र्यौली गीत र नाच म्याग्दीका मगर समुदायको मौलिक सांस्कृतिक पहिचान भएको थजालीले बताउनुभयो ।  “पुख्र्यौली गीत र नृत्यले देवीदेवताको सम्मान गर्छ, यसमा प्रेमका विषय हुँदैनन्”, झिँका अगुवा मारुनी कलाकार रेशमबहादुुर थजालीले भन्नुभयो, “जस्तै हन्दू धर्मग्रन्थको रामायणमा राम र सीताको बिहे भएकोदेखि वनबास गएको र रावणसँगको युद्धका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै ‘पुख्र्यौली’को प्रमुख विषेशता हो ।” अनौठो मौलिक नाच  सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवरलगायत शुभकार्यमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेबीच मादलको ताल मिल्नुपर्छ । पुख्र्यौली सात रात सात दिनसम्म पनि गाएर÷नाचेर नसकिने मान्यता छ ।  पुख्र्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही–कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भाङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर ९मादले मारुनी० नाच देखाउँछन् ।  विशेषगरी यो नाच सुुरु गर्नुपूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासी काम्ने गर्छन् । पूर्ण रूपमा अचेत नभए पनि स्वतःस्फुर्त रूपमा मादलको तालले उनीहरूका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्र्यौली नाच्ने कालकारको भनाइ छ ।  नाच सुरु हुनुपूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न सुरु गर्नेहरूमा मादलको २२ ताल पुगेपछि मात्रै आफैँ कम्पन हराउने झिँका अगुवा मारुनी कलाकार थजालीले बताउनुभयो । उहाँका अनुसार नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही–केही पत्याउनै गाह्रो पर्नेगरी एक्कासी काम्न सुरु गर्ने यो नृत्यमा हराउने गर्दछन् । संरक्षणका लागि पुस्तान्तरण  अन्य सार्वजनिक कार्यक्रममा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई म्याग्दीका धेरै बस्तीका मगर समुदायले पुस्तान्तरण गरेर जोगाएका छन् । पुख्र्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरूबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै आएको छ ।  रघुगङ्गा गाउँपालिका–५ झिँका ३५ वर्षीय टकबहादुर गर्बुजाले मनोरञ्जन र रमाइलोसँगै पुराना संस्कृति जोगाउन मारुनी नाच सिकेको बताउनुभयो ।  “केही वर्ष अघिसम्म बूढापाकामात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुख्र्यौली संस्कृतिको ज्ञान, सीप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिँदैनौँ ।” युवावर्ग वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवापुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालिम, सहजीकरणलगायत माध्यमबाट संस्कृति संरक्षणमा पहल गरिएको रघुुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो ।  “पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्”, उहाँले भन्नुभयो, “युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउने प्रयास गरेका छौँ ।”

गलकोट:    हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन् ।  देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौैँदेखि जमराबिना नै दसैँ मनाउने गरेको पाइएको छ । माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताउनुभयो । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो ।  करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताउनुभयो । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ,” कृष्ण माझीले भन्नुभयो “जमरा नराखेपनि दसैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए ।” स्थानीय देउकुमारी माझीले भन्नुभयो, “जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।” जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उहाँको भनाइ छ । दसैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन् ।  दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ ।  पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् । 

म्याग्दी:    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन । तीर्थयात्रामा जाँदा खाने र बस्ने सामानसँगै लैजानुपर्दथ्यो । दिनभरि पैदलयात्रा गर्ने तीर्थयात्री साँझ–बिहान धर्मशालामा खाना पकाएर खाने र बस्ने गर्दथे ।  तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले आफ्नी रानीको इच्छाअनुसार विसं १८६३ मा मुक्तिनाथ मन्दिर नजिकै धर्मशाला बनाउन लगाउनुभएको थियो । रानीको नामबाट धर्मशाला निर्माण भएकाले सो ठाउँ रानीपौवाको नामले परिचय बनाएको छ । राजा गिर्वाणयुद्धले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका वसन्त बोगटीलाई मुक्तिनाथमा धर्मशाला निर्माणको जिम्मेवारी दिनुभएको थियो । बोगटीले पर्वतको कुश्मा नजिकैको छमर्केको जङ्गलबाट सालको काठ म्याग्दीको हिस्तान घराम्दीका भरिया लगाएर मुक्तिनाथ लैजानुभएको इतिहास छ । रानीपौवा निर्माण गर्ने जिम्मेवारी पूरा गरेबापत गिर्वाणयुद्धले वसन्त बोगटीलाई म्याग्दीको राखु पिप्लेमा तीन सय एक रोपनी जग्गा बक्सिस दिनुभएको थियो । सो जग्गामा तुलफूल लगाएर मुक्तिनाथ जाने आउने तीर्थयात्रीलाई खुवाउने र उत्पादित खाद्यान्न हरेक वर्षको जेष्ठी पूर्णिमाका गायत्री मन्दिरमा साधुसन्तलाई भोजन गराउने चलन अझै पनि छ ।  दुई सय १८ वर्षअघि ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण भएको दुईतले सो धर्मशालामा दैनिक पाँच सय जना बास बस्न सक्ने क्षमता रहेको हेरचाहकर्ता गोविन्द आचार्यले बताउनुभयो । “होटलमा बस्न सक्ने क्षमता र इच्छा नभएका तीर्थयात्रीहरू अझै पनि धर्मशालामा बास बस्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “मर्मत अभावका कारण धर्मशालाको भवनमा पानी चुहिन थालेपछि समस्या भएको छ ।” बडादसैँ र चैतेदसैँको सोह्र श्राद्धको समयमा तीर्थयात्रीको धर्मशालामा भीड हुन्छ । अन्य समयमा साधुहरूले धर्मशालामा आश्रय लिन्छन् । पानी धेरै पर्न थालेकाले माटोको छाना चुहिन थालेको र विसं २०७२ को भूकम्पले पर्खाल चर्किएकाले धर्मशालाको भवन जीर्ण बनेको आचार्यले बताउनुभयो । रानीपौवाको धर्मशालामा गत भदौसम्म प्रहरी चौकी पनि थियो । नयाँ भवन निर्माण भएपछि प्रहरी चौकीको कार्यालय धर्मशालाबाट सारिएको छ । स्वामी कमलनयनाचार्यले संरक्षण गर्नुभएको धर्मशालामा निःशुल्क भोजन र आवास सुविधा छ । मुक्तिनाथ र दामोदरकुण्डका तीर्थयात्रीका लागि दाताबाट दाल, चामल, तरकारी सहयोग जुटाएर मुस्ताङको रानीपौवाको साथै यारा, कागबेनी, जोमसोम, म्याग्दीको गलेश्वर, बागलुङको कुडुले, पञ्चकोट, पोखराको रामघाट, नवलपुरको त्रिवेणी र काठमाडौँमा धर्मशाला सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले रानीपौवाको धर्मशाला मर्मतका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ९० लाख बजेट प्राप्त भएको बताउनुभयो ।  सो बजेटबाट धर्मशालाको ऐतिहासिक र मौलिकता ननासिने गरी मर्मतको काम गर्ने तयारी भएको उहाँले बताउनुभयो । माटोको छानोमाथि जस्तापाता राख्ने र पानी चुहिनबाट बचाउने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ ।   गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाैँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।   प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।   “लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।” '   परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ ।   परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो ।   किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।   झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ ।   जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।   जौँ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ ।   उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ ।   विभागकानुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।   महाशाखाका मौसमविद् शान्ति कँडेलले मौसममा सुधार हुँदै गए पनि मङ्गलबारसम्म मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।   “मङ्गलबारसम्म हल्का वर्षा भए पनि विपद्् निम्ताउने किसिमको ठुलो वर्षाको सम्भावना तत्कालका लागि छैन”, उहाँले भन्नुभयो ।   महाशाखाले आगामी तीन दिनसम्मको मात्रै मौसमी अवस्था पूर्वानुमान गर्दै आएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।   बुलेटिनमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।   दे​शको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिमा भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   यसैगरी कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   “मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ” बुलेटिनमा भनिएको छ, “राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।”   कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु माहाशाखाले अनुरोध छ ।   कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको अनुरोध छ ।

काठमाडौँ:   यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो ।   यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी  चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे ।   सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।    काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए ।   रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । त्यही बेला शनिवार बिहान ४:०० बजे  नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो ।   ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।   स्थानीय नानु लामाले भन्नुभयो, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”   लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उहाँले भन्नुभयो ।   नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउनुहुन्छ ।    यात्रुहरु परिवारजनलाई खोज्दै    घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् ।    यात्रुका आफन्तहरु उनीहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् ।   उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ । केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ ।   निकाल्ल्ने काम जारी थियो । उद्धार कार्य जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।   जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।   बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।   बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाइले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।   कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।   जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।   पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुुभयो ।