‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल
दाङ | असोज २०, २०८१
दाङ: तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् ।
कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्नुहुन्छ । सन्तानविहीन उहाँ उनीहरूलाई आफ्नै छोराछोरी मानेर माया गर्नुहुन्छ । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उहाँको दिनचर्याले उनीहरूप्रतिको उहाँको ममता छचल्किन्छ ।
आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उहाँले बताउनुभयो । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उहाँले भन्नुभयो, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।”
तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताउनुभयो । सुरुमा आफँैले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् ।
“मेरा छोराछोरी छैनन्”, उहाँले भन्नुभयो, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।” उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक राखेको उहाँले बताउनुभयो ।
गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आउनुभएकी उहाँले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आउनुभएको छ । उहाँकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् ।
स्यानीका सङ्घर्ष
थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी । पढाइ जीवनका उहाँका सङ्घर्ष पनि कम छैनन् । उहाँको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उहाँ पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो ।
उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँले पौडी खेलेर वारपार गर्नुहुन्थ्यो ।
त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिनुभयो । “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे”, उहाँले भन्नुभयो ।
थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गर्नुभएको छ । पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आउनुभएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

