गण्डकी: तपाईलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भन्नुभयो, “म त्यही गीतको खोजीमा छु ।” घुमाउरो जवाफ फर्काउँदै उहाँले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उहाँको बुझाइ छ । गीत लेखनमा दुई दशक बिताउनुभएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाउनुभयो । उहाँका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् । “मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्”, उहाँले भन्नुभयो, “माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।” पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताउनुभयो । बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहनुभएका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताउनुभयो । “गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु”, उहाँले भन्नुभयो, “प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।” पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झै उहाँ प्रेमगीतका भक्त हुनुहुन्छ, भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताउनुभयो । “सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन”, उहाँले भन्नुभयो । सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसक्नुभएको छ । केही गीतमा उहाँको स्वर र सङ्गीतसमेत छ । स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झर्नुभएका उहाँले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उहाँका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए । विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा...’ उहाँको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ । “गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो”, उहाँले विगत कोट्याउनुभयो, “सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।” उहाँले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाउनुभयो । सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उहाँ काठमाडौँ पुग्नुभयो । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाउनुभयो । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उहाँको भनाइ छ । नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा...’ जस्तो चर्चित गीत लेख्नुभयो । बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उहाँलाई थप उचाइमा पु¥यायो । सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्नुहुन्थ्यो । एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उहाँले बताउनुभयो । “टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा...’ फु¥यो”, गीतको रचनाबारे उहाँले भन्नुभयो, “हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उहाँले धुन तयार गरेर मलाई पठाउनुभयो ।” सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पार्नुभएको सुवेदीले बताउनुभयो । त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गर्नुभएको थियो । “कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो”, उहाँले भन्नुभयो । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिनुभएको छ । भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झनुभयो । त्यसअघि सुवेदीले लेख्नुभएको ‘जोगीको भेषैमा...’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको...’, ‘शीतल दिने पिपल स्वामी छ...’, ‘अझै कन्य हो...’, ‘बर्बर आँशु झर्दा खेरीमा...’ जस्ता गीतले उहाँलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाउनुभएको छ । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उहाँका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उहाँ गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिनुहुन्छ । “थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ”, सुवेदीले भन्नुभयो । गीत लेखेरै आफू बाँचेको उहाँले बताउनुभयो । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उहाँको भनाइ छ । सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डो¥याएको सुवेदीले बताउनुभयो । “न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ”, उहाँले भन्नुभयो, “सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।” आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । “गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो”, सुवेदीले भन्नुभयो, “रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।” पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उहाँले आफ्नो प्रेरणाको स्रोत मान्नुहुन्छ । सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उहाँले कहिल्यै नबिर्सने बताउनुभयो । गायक क्षेत्री अमेरिकामा हुनुहुन्छ भने सङ्गीतकार थापासँग उहाँको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको...’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन् । उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिनुभयो । नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन।।।’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उहाँले सुनाउनुभयो । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डो¥याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याउनुभएको छ । उहाँको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ । सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसक्नुभएको छ । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिनुभएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताउनुभयो । “बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ”, रासससँगको कुराकानीलाई बिट मार्दै उहाँले कवि तीर्थ श्रेष्ठको कविता सम्झिनुभयो– हामीले लेखेर आएका छौँ हिउँमा आ–आफ्ना नामहरु एकछिनमा हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु हामी रहँदारहँदै नरहने हाम्रा नामहरु हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरु !
म्याग्दी: सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो । पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गङ्गाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो । बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुङ्गा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गर्नुभयो । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उहाँको भनाइ छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताउनुभयो । सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उहाँको भनाइ छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साबिकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न÷नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि विसं २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न÷नगराउन मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको हो । यस्तो छ कालीगण्डकीको महत्व कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रुपमा रहेको विषयलाई कसैले बिर्सन नहुने सरोकार भएकाहरुको भनाइ छ । राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । “विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ”, उहाँले भन्नुभयो । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, उहाँले भन्नुभयो । कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ । ‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेख्नुभएको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुलीले उल्लेख गर्नुभयो । शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् । नदीको संरक्षण गरी जलसङ्कट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभभयो ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् । महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली हुनेछ । वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन हुनेछ । साथै, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुनेछन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छिन् । कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् । ‘पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ । प्रथमले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई ५÷५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था छ । एउटा टिममा बढीमा ७ जनासम्म कलाकार हुनुपर्नेछ । ७ मिनेटमा गाएर सक्नुपर्नेछ । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए । उनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवानले विविध कार्यक्रम गर्दै आएकोमा यो महोत्सवले पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिए । संस्थाका सल्लाहकार बोबरजंग गुरुङले अचेल पदयात्रा मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा यसखालका मेला महोत्सवले सघाउ पुग्ने बताए । संस्थाका निवर्तमान अध्यक्ष रेणु थापाले महोत्सव सफल पार्न हरेक निकायबाट सहयोगको अपेक्षा गरिन् ।
दमौली: ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ जाँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
फुङ्लिङ: लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ । “तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।
बागलुङ (गलकोट): गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउनुहुन्छ । पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार जोगाउन मुस्किल भएको श्रेष्ठको भनाइ छ । यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ । भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ । कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिनुभयो । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए । यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ । बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताउनुभयो । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् । आर्थिक रूपमा र कलाकार जोहो गर्न पनि कठिन हुन थालेपछि जोगाउनै मुस्किल परेको मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । हुनमान नाचमा यस पटक रु १५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रूपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउन कठिन भएको उहाँको भनाइ छ । रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ । हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ । बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।
कञ्चनपुर: कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरा महेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया (गीतकार) मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै सुरु भएको छ । सुदूरपश्चिमका गाउँ बस्ती यति बेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलदेखि पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देव गाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ । “देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन्, कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त बताउनुहुन्छ । “यसमा समाजका राम्रा नराम्र पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।” देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नहुने उहाँले बताउनुभयो । “सुदूरपश्चिममा पहिलेपहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाँडपर्वमा पनि खेल्दै आएको पाइन्छ”, उहाँले भन्नुभयो, “गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।” डेउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रित रुपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुःख, मायाप्रेम, हास्याव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गर्ने गिरी बताउनुहुन्छ । “माया पीरतीका कुरा देवीदेवताका कुराकानी गीतमार्फत सवालजवाफ गर्नेगर्छौं,” गिरीले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित डेउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीत मात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु डेउडा खेल हो । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी ठाउँमा देउडा खेल सुरु भएको छ । केही ठाउँमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनाँैसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ । गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेल पनि खेलिन्छन् । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्मक रूपमा गाइन्छ ।” ठाडो खेलका गायक विश्राम भट्टले भन्नुभयो, “ठाडो खेलमा मादलको तालसँगै पैतला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मक रुपमा गाइने गरिन्छ ।” देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ ।
काठमाडौं: आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले संयुक्तरुपमा वर्णमाला सार्वजनिक गर्नुभएको हो । वर्णमाला सार्वजनिक हुनु लिम्बु समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले बताउनुभयो । “किरात सिरीजङ्गा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,” अध्यक्ष इधिङ्गोले भन्नुभयो, “हामीले भाषा र लिपि संरक्षणमा नयाँ इतिहास रचेका छौँ ।” सिरीजङ्गा लिपि लिम्बु समुदायमा पहिलेदेखि अभ्यासमा रहेपनि किरात समुदायका अन्य जातिहरुले यही लिपि प्रयोग गर्न थालेपछि यसलाई ‘किरात सिरीजङ्गा लिपि’ नामाकरण गरी वर्णमालाको रुपमा पहिलो पटक प्रकाशन गरिएको याक्थुङ युवा मञ्चले जनाएको छ ।