गण्डकी:  तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् ।  विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले ...

जानकी (बाँके):  नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ ।  रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो ।  “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।”   सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिनुभयो ।    “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताउनुभयो l    गत आर्थिक वर्ष २०८०÷८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।  

बागमती:   बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ ।   रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।   मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।   इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।   यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

धनुषा:    धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् ।  सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो ।  सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो ।  यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।  

चेपाङ:    चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।            विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।  यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले  बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो ।            चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।            उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।            चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।            न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।      राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।  यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।             चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

काठमाडौं:    आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ । सदाझै यो वर्षको तीजमा पनि उहाँ फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त हुनुभयो । आज उहाँ दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त हुनुभयो । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उहाँको अनुभव छ । तीजमा व्रत बस्नु उहाँको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । “तीजको बेग्लै धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।” अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त हुनुभयो । तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ । कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाउनुभएको छ, त्यति उहाँको वास्तविक जीवनमा मेल खाँदैन ।  तीजको दिन उहाँ चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त हुनुभयो । उहाँलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उहाँको उत्सव हो । त्यसैले उहाँको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन । गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुग्नुभयो । तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुग्नुभएको उहाँले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याउनुभयो ।  स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उहाँको अनुभव छ । तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसक्नुभएकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउनुभयो । “भोकै बसेर पर्व मनाउने होइन”, उहाँ भन्नुहुन्छ, “नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ ।  मैले यसरी मनाउँदै आएकी छु ।” गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको उहाँले बताउनुभयो । दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिनुभएका उहाँले एक महिनामा राम्रो आम्दानी गरेको सुनाउनुभयो ।  तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिनुहुन्छ । उहाँ फलफूल खाएर व्रत बस्नुहुन्छ भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।”

काठमाडौं:    धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।       व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।         सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाउनुभयो ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।       संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाउनुभएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।        “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।       श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।  “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा  बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”,उहाँले भन्नुभयो ।      नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।     समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व  छ ।      व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।  ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।        पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा            यो व्रत सक्ने नीराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।      महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।  पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । महिनाँै अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा स्थापित गर्न खोजेको छ ।      यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा यसका लागि तोकिएको छ ।       बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।

झापा:    वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।       कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् ।       दुवै सामुदायिक वनलाई डिभिवन वन कार्यालयले मेसिन अनुदानमा उपलब्ध गराएको जनाएको छ । रु पाँच लाख मूल्य बराबरको मेसिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।       उहाँले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाइ छ ।       सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उहाँको भनाइ छ ।      यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मेसिन भने पहिलो पटक ल्याइएको हो । दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन सुरु गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।

दमौली:    व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ ।   फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन ।   पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।   “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले घरबाटै वर्गीकरण गरेर सङ्कलन भइरहेको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा केही हदसम्म फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।”   फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ ।   भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । नगरप्रमुख न्यौपानेले भन्नुभयो, “उहाँले धनगढी, वालिङलगायतका क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापनलगायतका काम उदाहरणीय रूपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सोअनुभवका आधारमा यहाँ पनि व्यवस्थापनको काम अगाडि बढेको छ । नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरू छुट्टाएर त्यसलाई मेसिनले कम्प्रेस गरेर केही आम्दानीसमेत गरिरहेका छौँ ।”   सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहनुभएको छ ।   नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ ।   फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।   बत्तीस वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएकाले अब दीर्घकालीन योजनासहित समस्या समाधानको पहल भइरहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।   “विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । अहिले जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । त्यसपछि थप समस्या समाधानका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो । न   गरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ ।   बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन हुँदै आएको छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको जनाइएको छ ।