आज छोनाम (न्वागी)मनाउँदै चेपाङ समुदाय
चितवन | भदौ २२, २०८१
चेपाङ: चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो ।
यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो ।
चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।
उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।
चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।
न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।
चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...
पोखरा: नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

