ढोरपाटन: गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना पनि छ । यसैबीच विभागले बुधबार अपराह्न विशेष मौसम बुलेटिन निकालेर आज साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन् । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।
जानकी (बाँके): नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।” सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिनुभयो । “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताउनुभयो l गत आर्थिक वर्ष २०८०÷८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।
बागमती: बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
धनुषा: धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो । सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो । यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।
चेपाङ: चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो । चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ । उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ । न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो । चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
काठमाडौं: आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ । सदाझै यो वर्षको तीजमा पनि उहाँ फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त हुनुभयो । आज उहाँ दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त हुनुभयो । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फुर्ति बढ्ने उहाँको अनुभव छ । तीजमा व्रत बस्नु उहाँको लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । “तीजको बेग्लै धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “म स्वस्थ्य रहन पनि तीजको व्रत बस्छु ।” अभिनेत्री प्रियङ्का कार्की तीजमा म्युजिक भिडियो बनाउनमा व्यस्त हुनुभयो । तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ । कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्व दर्शकमाझ बुझाउनुभएको छ, त्यति उहाँको वास्तविक जीवनमा मेल खाँदैन । तीजको दिन उहाँ चितवनमा ‘हिमालय रोडीज’ को सुटिङमै व्यस्त हुनुभयो । उहाँलाई तीजपर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उहाँको उत्सव हो । त्यसैले उहाँको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन । गायिका सुनिता दुलाल प्रत्येक वर्षझैँ तीज मनाउन अष्ट्रेलिया पुग्नुभयो । तीजमा नचाउन एक साताअघि अष्ट्रेलिया पुग्नुभएको उहाँले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याउनुभयो । स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उहाँको अनुभव छ । तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसक्नुभएकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउनुभयो । “भोकै बसेर पर्व मनाउने होइन”, उहाँ भन्नुहुन्छ, “नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ । मैले यसरी मनाउँदै आएकी छु ।” गायिका रितु कँडेलले तीज नारीहरुले सुखदुख साट्ने पर्वको रूपमा लिने गरेको उहाँले बताउनुभयो । दिनमा तीनदेखि चार ठाँउ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिनुभएका उहाँले एक महिनामा राम्रो आम्दानी गरेको सुनाउनुभयो । तीज गीत गाउनुका साथै गायिका कँडेल नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिनुहुन्छ । उहाँ फलफूल खाएर व्रत बस्नुहुन्छ भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।”