म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती
म्याग्दी | असोज १४, २०८१

रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाैँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।
प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।
“लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।” '
परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ ।
परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।
झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ ।
जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।
जौँ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ ।
उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...